आईजीआई प्रुडेन्सियलले आर्जन गर्‍यो ४ अर्ब ३८ करोड बीमाशुल्क

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको खुद नाफामा झन्डै शतप्रतिशत गिरावट आउँदा अन्य सूचक भने बढेको देखिएको छ ।   कम्पनीको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कम्पनीले ४० लाख ३८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।  अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले ३६ करोड ४९ लाख ७४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो । अघिल्लो वर्षको तुलनामा यस समीक्षा अवधिमा कम्पनीको नाफा ९८ दशमलव ८९ प्रतिशतले घटेको हो । समीक्षा अवधिमा कम्पनीले ४ अर्ब ३८ करोड ७४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३ अर्ब ९४ करोड ४५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।  अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको कुल बीमाशुल्क आर्जन ११ दशमलव २२ प्रतिशतले बढेको हो । समीक्षा वर्षमा कम्पनीले १ अर्ब ४५ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १ अर्ब ३६ करोड २१ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा खुद बीमाशुल्क आर्जन ६ दशमलव ६७ प्रतिशतले बढेको हो ।  समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २ अर्ब ९३ करोड ४३ लाख रुपैयाँ खर्चिएको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले पुनर्बीमा मार्फत २ अर्ब ५८ करोड २४ लाख रुपैयाँ खर्चिएको थियो । कम्पनीको विशेष जगेडामा १ अर्ब ८६ करोड ८१ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ७७ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ करोड ८४ लाख रुपैयाँ र अन्य इक्विटीमा ४२ करोड ४८ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्ष विशेष जगेडामा १ अर्ब ८४ करोड ८३ लाख रुपैयाँ, महाविपत्ति कोषमा ९ करोड ५८ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १५ करोड ४४ लाख रुपैयाँ र अन्य इक्विटीमा ५७ करोड ७६ लाख रुपैयाँ रहेको थियो । ३ अर्ब २ करोड रुपैयाँ सेयर पुँजी रहेको कम्पनीको ईपीएस ०.१३ रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७९ रुपैयाँ ५३ पैसा रहेको छ ।

सानिमा जिआइसीको खुद बीमाशुल्क ८३ करोड नाघ्यो

काठमाडौं । सानिमा जिआइसी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीको नाफामा उल्लेख्य गिरावट आएको छ भने बीमाशुल्क आर्जनमा वृद्धि भएको छ । कम्पनीले समीक्षा अवधिमा १३ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा ३३ करोड ६७ लाख रुपैयाँ थियो । यससँगै अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा करिब ६१ प्रतिशतले घटेको छ । २ अर्ब २५ करोड रुपैयाँ शेयर पुँजी रहेको कम्पनीको समीक्षा अवधिमा विशेष जगेडामा ८१ करोड ४५ लाख रुपैयाँ रहेको छ । त्यस्तै, महाविपत्ति कोषमा ५ करोड २४ लाख, रिटेन्ड अर्निङमा ९ करोड ८७ लाख र अन्य इक्विटीमा १० करोड २७ लाख रुपैयाँ रहेको छ । अघिल्लो आर्थिक वर्षमा कम्पनीको विशेष जगेडा ७४ करोड ९५ लाख, महाविपत्ति कोष ४ करोड ५९ लाख, रिटेन्ड अर्निङ १७ करोड २७ लाख र अन्य इक्विटी १४ करोड २७ लाख रुपैयाँ रहेको थियो । यता, कम्पनीको कुल बीमाशुल्क आर्जनमा भने वृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीले २ अर्ब ७२ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो बीमाशुल्क २ अर्ब ५३ करोड १५ लाख रुपैयाँ थियो । यस आधारमा कुल बीमाशुल्क आर्जन ७.८२ प्रतिशतले बढेको हो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि बढेको छ । समीक्षा अवधिमा कम्पनीले ८३ करोड ३० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो रकम ७६ करोड ४२ लाख रुपैयाँ थियो । यस आधारमा खुद बीमाशुल्क आर्जन ९ प्रतिशतले बढेको हो । कम्पनीले समीक्षा अवधिमा पुनर्बीमाका लागि १ अर्ब ८९ करोड ६५ लाख रुपैयाँ खर्च गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा पुनर्बीमामार्फत १ अर्ब ७६ करोड ७२ लाख रुपैयाँ खर्च गरेको थियो । यता, कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी (ईपीएस) ५ रुपैयाँ ७६ पैसा रहेको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १४७ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

एग्री केयर नेपालले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ

काठमाडौं । कृषि क्षेत्रमा लामो समयदेखि सक्रिय एग्री केयर नेपाल लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक शेयर निष्काशन (आईपीओ) गर्ने तयारी थालेको छ । यसका लागि कम्पनीले नेपाल लाइफ क्यापिटल लिमिटेडलाई संस्थागत परामर्शदाताका रूपमा नियुक्त गरेको छ । कम्पनीले पूँजी संरचना सुदृढीकरण, वित्तीय तथा व्यावसायिक अवस्थाको अध्ययन र भविष्यमा आईपीओ निष्काशनको तयारीलाई व्यवस्थित बनाउन नेपाल लाइफ क्यापिटलसँग ‘कर्पोरेट एडभाइजरी सर्भिसेस’ सम्बन्धी सम्झौता गरेको हो । शुक्रबार साउन २९ गते भरतपुर–४, चितवनस्थित एग्री केयर नेपालको कार्यालयमा आयोजित कार्यक्रममा सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतापत्रमा एग्री केयर नेपालका अध्यक्ष रबिन अधिकारी र नेपाल लाइफ क्यापिटलका प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् । कम्पनीले संस्थागत विकास तथा पूँजी बजारमा प्रवेशको तयारीलाई थप व्यवस्थित गर्दै आगामी दिनमा सर्वसाधारणलाई समेत आफ्नो विकास यात्रामा सहभागी गराउने लक्ष्य लिएको जनाएको छ । सन् २००४ मा स्थापना भएको एग्री केयर नेपालले प्लान्ट न्युट्रिसन, ट्रेस एलिमेन्ट्स तथा गुणस्तरीय कृषि सामग्रीबाट व्यवसाय सुरु गरेको थियो । सन् २००९ मा बायो–टेक्नोलोजी युनिट सञ्चालनमा ल्याएसँगै कम्पनीले जैविक विषादी तथा लाभदायी सूक्ष्मजीवमा आधारित उत्पादनतर्फ पनि विस्तार गरेको जनाएको छ । कम्पनीले हाल क्रप प्रोटेक्सन, प्लान्ट न्युट्रिसन, फर्टिलाइजर्स, सोल कन्डिसनर्स तथा बायो–इनपुट्समार्फत किसानलाई सेवा दिँदै आएको छ । विज्ञानमा आधारित कृषि समाधानमार्फत किसानको उत्पादकत्व तथा बालीको गुणस्तर बढाउने, माटोको दीर्घकालीन स्वास्थ्य कायम गर्ने र दिगो कृषि अभ्यासलाई प्राथमिकता दिँदै आएको कम्पनीले जनाएको छ । किसानलाई आवश्यक जानकारी तथा सहयोग उपलब्ध गराउन विभिन्न तालिम तथा ‘किसान कल सेन्टर’ जस्ता पहलसमेत सञ्चालन गर्दै आएको छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटलले एग्री केयर नेपाललाई संस्थागत परामर्श सेवाअन्तर्गत आईपीओ कन्सल्टेसन तथा क्यापिटल रिस्ट्रक्चरिङसम्बन्धी सेवा प्रदान गर्नेछ । सम्झौताअनुसार क्यापिटलले कम्पनीको वित्तीय तथा कानुनी अवस्थाको अध्ययन तथा मूल्यांकन, पूँजी संरचना र सम्भावित आईपीओको आकार निर्धारण, आवश्यक संरचनागत सुधार तथा नियामकीय प्रक्रियामा समन्वयलगायतका सेवा उपलब्ध गराउनेछ ।