नाडेप लघुवित्तको गत वर्षको मुनाफाबाट लाभांश नदिने
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ । वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गर्दै सो सम्बन्धी वित्तीय विवरण नेपाल राष्ट्र बैंकमा पठाउने तयारी गरेको लघुवित्तले जनाएको छ ।
एनआईसी एशिया बैंकको लिलाम बिक्री पोर्टल सार्वजनिक, सम्पत्तिसम्बन्धी सम्पूर्ण विवरण अनलाइनमै हेर्न सकिने
काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले लिलाम बिक्रीमा राखिएको सम्पत्तिसम्बन्धी विस्तृत जानकारी दिने उद्देश्यले अनलाइन लिलाम बिक्री पोर्टल सार्वजनिक गरेको छ । बैंकले सञ्चालनमा ल्याएको यो पोर्टलमार्फत बैंकिङ सम्पत्ति, गैरबैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेका सम्पत्तिहरूको लिलाम सम्बन्धी सम्पूर्ण विवरण प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले प्रकाशित सूचनामा रहेको क्युआर कोड स्क्यान गरी पोर्टलमा जान सक्नेछन् । सो पोर्टलमा लिलाममा राखिएका सम्पत्तिहरूको कित्ता नम्बर, क्षेत्रफल, फोटो, नक्सा र लोकेशनसहितको जानकारी उपलब्ध गराइएको छ । साथै, गुगल म्यापमार्फत सम्पत्तिको सठिक स्थान पनि सजिलै पहिचान गर्न सकिन्छ । यदि कुनै सम्पत्ति खरिद गर्न थप जानकारी आवश्यक भएमा सोही पोर्टलमा रहेको म्यासेज बक्समा आफ्नो नाम, मोबाइल, ठेगाना र इमेल राखेर सिधा सन्देश पठाउन सकिने व्यवस्था गरिएको बैंकले जनाएको छ । बैंकका अनुसार, उक्त पोर्टलमा नियमित रूपमा लिलाम बिक्रीसम्बन्धी सूचना अद्यावधिक गरिनेछ । यसले ग्राहकलाई सजिलै विश्वसनीय र पारदर्शी रूपमा सम्पत्ति खरिदबारे जानकारी लिन सहयोग पुग्ने विश्वास बैंकले व्यक्त गरेको छ ।
फोनपे र टपअप गरौं, आइफोन १६ जितौं : कुमारी बैंक
काठमाडौं । कुमारी बैंक लिमिटेडले नयाँ वर्ष २०८२ को अवसरमा 'टपअप र फोनपे डाइरेक्ट गरौं, बम्पर उपहार जितौं !' नामक उपहार योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भई ग्राहकहरूले आकर्षक बम्पर उपहारसहित साप्ताहिक मोबाइल रिचार्ज जित्ने मौका पाउनेछन् । बैंकका अनुसार, योजनाअन्तर्गत सहभागी हुन ग्राहकले कम्तीमा १०० रुपैयाँको मोबाइल टपअप र ५०० रुपैयाँको फोनपे डाइरेक्ट कारोबार अफर अवधिभित्र पूरा गर्नुपर्नेछ । त्यसपछि ग्राहकहरू बम्पर उपहार आइफोन १६ जित्न स्वतः योग्य हुनेछन् । यो योजना वैशाख १ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । अफर अवधिभर प्रत्येक हप्ता १०० जना ग्राहकले १०० रुपैयाँ बराबरको मोबाइल रिचार्ज उपहारस्वरूप प्राप्त गर्नेछन् । योजना समाप्तिपछि एक जना विजेताले बम्पर उपहारका रूपमा आइफोन १६ जित्ने अवसर पाउनेछ । कुमारी बैंकले ग्राहकलाई डिजिटल बैंकिङ सेवा तर्फ आकर्षित गर्ने उद्देश्यले ल्याइएको यो योजनाले मोबाइल टपअप र फोनपे डाइरेक्ट प्रयोगलाई थप प्रवद्र्धन गर्ने विश्वास लिएको छ । बैंकका अनुसार, कुमारी स्मार्ट मोबाइल बैंकिङ एपमार्फत सुरक्षित, सहज र भरपर्दो डिजिटल कारोबारलाई प्रोत्साहन दिने यो योजना बैंकको डिजिटल पहुँच विस्तार गर्ने रणनीतिक प्रयास हो ।