हिमालयन बैंकले असार ३२ गतेदेखि एफपीओ बिक्री गर्ने, न्यूनतम १५७० रुपैयाँ जोहो गर्नुपर्ने

काठमाडौं । हिमालयन बैंकले असार ३२ गतेदेखि थप सर्वाजिनक निष्काशन (एफपीओ) गर्ने भएको छ । बैंकले १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँको १ सय रुपैयाँ अंकित मूल्य दरमा ५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता १५७ रुपैयाँमा ९२ लाख ५० हजार ४६९ कित्ता बिक्री खुला गर्ने भएको हो ।  बैंकको हाल चुक्ता पुँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार रुपैयाँ रहेको छ । जसमा ७२.९९ प्रतिशत अर्थात् १५ अर्ब ८० करोड ७१ लाख ६३ हजार रुपैयाँ संस्थापक समूह र २७.०१ प्रतिशत अर्थात् ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार रुपैयाँ सर्वसाधारण समूहको सेयर स्वामित्व रहेको छ ।  बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पुँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने व्यवस्था छ । सोही बमोजिम बैंकले सेयर सर्वसाधारण लगानीकर्ताहरुलाई एफपीओ जारी गर्न लागेको हो ।  बैंकको एफपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । एफपीओमा आवेदन दिनका लागि लगानीकर्ताहरुले न्यूनतम १० कित्ता सेयरका लागि १ हजार ५७० रुपैयाँ जोहो गर्नुपर्नेछ । बैंकको एफपीओमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ । यदि उक्त समयमा पूर्ण आवेदन नपरेमा असार १४ गतेसम्म आवेदन दिने समय लम्बिने जनाएको छ । बैंकको एफपीओ निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ । सर्वसाधारण लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सीआस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।  केयर रेटिङ्ग नेपालले बैंकलाई केयर एनपी ट्रिपल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । जसले बैंकको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

अर्थतन्त्रमा केही न केही समस्या छ : गभर्नर पौडेल

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशको हालको आर्थिक अवस्थाबारे चिन्ता व्यक्त गरेका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै गभर्नर पौडेलले हाल लगानीयोग्य रकम प्रशस्त उपलब्ध भएकाले अहिलेको समय बेस्ट अफ टाइम भएको उल्लेख गरे ।  तर उनले अर्थतन्त्रमा केही चुनौती र समस्या पनि विद्यमान रहेको स्पष्ट पारे । उनका अनुसार विशेषगरी कृषि क्षेत्र र साना तथा मझौला उद्योग (एसएमई) क्षेत्रमा गैरसञ्चलनशील कर्जा (एनपीएल) को अनुपात बढ्दै गएको छ । यसले भविष्यमा वित्तीय स्थायित्वमा असर पार्न सक्ने सम्भावना भएकाले समयमै सम्बोधन गर्न आवश्यक रहेको उनको भनाइ छ । 'कृषि र एसएमई क्षेत्रमा देखिएका समस्याको समाधानका लागि तत्काल कदम चाल्न जरुरी छ,' गभर्नर पौडेलले भने । उनले आगामी मौद्रिक नीति तय गर्दा राजस्व नीति (फिस्कल पोलिसी) र मौद्रिक नीति (मोनिटरी पोलिसी) बीच प्रभावकारी समन्वय हुनुपर्नेमा समेत जोड दिए । उनका अनुसार हाल बैंकिङ क्षेत्रका धेरै सूचक सकारात्मक रहेको र लगानीका लागि पर्याप्त तरलता (लिक्विडिटी) उपलब्ध रहेकाले अर्थतन्त्रलाई अगाडि बढाउन सरकारले आवश्यक सुधारात्मक कार्यक्रम अघि सार्नुपर्ने आवश्यकता छ ।

बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्न पाउने, यस्तो छ नयाँ व्यवस्था

काठमाडौं । अब बैंकहरुले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्न पाउने भएका छन् । पुँजी बजारको नियामक नेपाल धितोपत्र बोर्ड (सेबोन)ले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिकाको नवौं संशोधन गर्दै अविमोच्य असंचिति अग्राधिकार सेयरका निष्कासनका लागि बाटो खुला गरेको हो ।  बोर्डले निर्देशिका संशोधन गर्दै अब राष्ट्र बैंकबाट स्वीकृति पाएका बैंक तथा वित्तीय संस्थाले अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिन सक्ने व्यवस्था गरेको हो ।  नयाँ व्यवस्था अनुसार बैंक तथा वित्तीय संस्थाले परिपत्र विधिमार्फत ५० जनाभन्दा कम हुनेगरी संस्थागत लगानीकर्तालाई मात्रै यस्तो सेयर निश्कासन गर्न पाउनेछन् । यस्तै, अविमोच्य असञ्चिति अग्राधिकार सेयर निष्कासन गर्ने बैंक तथा वित्तीय संस्थाले वितरणयोग्य मुनाफा आर्जन गरेको अवस्थामा नियामकबाट रोक लगाइएको अवस्थामाबाहेक यस्तो सेयरको लाभांश वितरण नगर्ने निर्णय गर्न नपाउने व्यवस्था गरिएको छ ।  सेबोनले निष्कासन भएको सेयरको अभौतिकीकरण केन्द्रीय निक्षेप कम्पनीले र सूचिकरण तथा कारोबार प्रक्रिया धितोपत्र बजारले तोकेको व्यवस्था अनुसार हुने व्यवस्था गरेको छ । कारोबार संस्थागत लगानीकर्ताले मात्र खरिद बिक्री गर्न सक्ने व्यवस्था गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।  कारोबार हुने सेयरमा सर्वसाधारण लगानीकर्ता, बोर्डबाट अनुमतिपत्र प्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले खरिद बिक्री गर्न नसक्ने व्यवस्था गरेको छ । यो व्यवस्थाले पुँजी कोषको दबाबमा रहेका बैंकहरुलाई ठूलो राहत मिल्नेछ ।