चम्पादेवी केबलकारलाई २२ हेक्टर वन, मुख्य लगानीकर्ता विशाल ग्रुप र संघाई ग्रुप
काठमाडौं । पछिल्लो समय देशभित्र यातायात पूर्वाधारमा उल्लेखनीय विकास भइरहेको देखिन्छ । नयाँ प्रविधिको विकासले यातायात क्षेत्रलाई सहज र सरल बनाइरहँदा केबलकार पनि त्यसको एउटा माध्यम बनेको छ । विगतमा लामो दूरी पैदल हिँड्नुपर्ने वाध्यताबाट यातायात क्षेत्रमा भएको विकासले सेकेन्डमै गन्तव्यमा पुग्ने अवस्था बनेको छ । केबलकार यातायात र पर्यटकीय गन्तव्यका लागि उत्कृष्ट माध्यम बनिरहेको छ । तर, नेपालमा यातायात प्रयोजनका लागि भन्दा पनि पर्यटकीय प्रवर्द्धनमा केबलकार एक महत्त्वपूर्ण माध्यम बनेको छ । देशभर विभिन्न स्थानमा केबलकार सञ्चालनमा छन् भने केही स्थानमा निर्माण भइरहेका छन् । पर्यटकहरूका लागि आकर्षणको केन्द्र बनिरहेको केबलकार थपिने क्रम पनि जारी छ । केबलकारमा पर्यटकहरूको आकर्षण बढिरहेका बेला काठमाडौंमा नयाँ केबलकार बन्ने भएको छ । विभिन्न लगानीकर्ताको संयुक्त आयोजनामा चम्पादेवी इको-फ्रेण्डली कम्पनी प्रालिले चम्पादेवी केबलकार निर्माण गर्ने भएको हो । यो केबलकार मनोरञ्जन र धार्मिक पर्यटकहरूका विशेष रहने लगानीकर्ताहरू बताउँछन् । २.०७५ किलोमिटर लामो रहेको चम्पादेवी केबलकार कीर्तिपुर नगरपालिका-४ र दक्षिणकाली नगरपालिका-१ क्षेत्रमा सञ्चालन हुनेछ। केबलकारको तल्लो स्टेसन दक्षिणकालीको बोसनमा र माथिल्लो स्टेसन कीर्तिपुरको चम्पादेवीमा रहनेछ । यसमा १० जना क्षमताका ३४ वटा गोन्डोला (डब्बा) हुनेछन् । साथै केबलकारले प्रतिघण्टा करिब एक हजार यात्रु ओसारपसार गर्ने क्षमता राख्ने लगानीकर्ता तथा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष कमलेशकुमार अग्रवालले जानकारी दिए । एउटा डब्बामा १० जना यात्रु अटाउने छन् । सामान बोक्ने छुट्टै दुईवटा र मर्मतका लागि एउटा क्याबिन राखिनेछ । केबलकारको अधिकतम गति ६ मिटर प्रतिसेकेन्ड रहनेछ भने एकतर्फी यात्रा समय करिब ७ मिनेट हुनेछ । उनका अनुसार माथिल्लो स्टेसनमा मन्दिर परिसर, मनोरञ्जन भवन र पार्क निर्माण गरिनेछ भने तल्लो स्टेसनमा पार्किङसहित तीन तले भवन हुनेछ । आयोजना सञ्चालनका लागि दैनिक ९५ हजार लिटर पानी जमिनमुनिबाट तानिने र २ मेगावाट विद्युत् खपत हुने कम्पनीले जनाएको छ । केबलकार निर्माण गर्दा ३ सय जनाले रोजगारी पाउनेछन् भने निर्माण पश्चात् सञ्चालन हुँदा ३१२ जनाले रोजगारी पाउने कम्पनीको दाबी छ । चम्पादेवी इको-फ्रेण्डली कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनअनुसार चम्पादेवी केबलकार निर्माणका लागि कीर्तिपुर र दक्षिणकाली नगरपालिकाको २२ हेक्टरभन्दा बढी वन क्षेत्र ओगट्नेछ । प्रतिवेदन अनुसार आयोजनाका लागि कुल ७.७३ हेक्टर जमिन आवश्यक पर्नेछ । जसमा ५ हेक्टर सरकारी वन क्षेत्र र २.७३ हेक्टर निजी जमिन पर्नेछ । कम्पनीले ४० वर्षका लागि उक्त केबलकार सञ्चालन गर्नेछ । तल्लो स्टेसनमा तीनतल्ले मुख्य भवन, दुईपांग्रे सवारीका लागि ४०० र चार पांग्रे सवारीका लागि २०० गाडी अटाउने पार्किङ सुविधा रहनेछ। माथिल्लो स्टेसननजिकै १.८ हेक्टर क्षेत्रफलमा मनोरञ्जन पार्क र मन्दिर परिसरसमेत निर्माण गरिने छ । पर्यटन प्रवर्द्धनमा जोड दिन कीर्तिपुर र दक्षिणकाली क्षेत्रमा चम्पादेवी केबलकार निर्माण गर्न लागिएको अग्रवालले बताए । अध्यक्ष अग्रवालका अनुसार यो केबलकार ६ अर्ब रुपैयाँभन्दा बढीको लगानीमा निर्माण हुनेछ । चम्पादेवी केबलकारमा अग्रवालसहित विशाल ग्रुप र संघाई ग्रुपको मुख्य लगानी रहनेछ । ‘चम्पादेवीमा विशाल ग्रुप, संघाई ग्रुप र मेरो पनि लगानी रहनेछ । यस केबलकारले काठमाडौं उपत्यकाको धार्मिक पर्यटन प्रवर्द्धनमा टेवा पुर्याउने अपेक्षा छ । उपत्यकालाई थप आकर्षक बनाउने हाम्रो योजना हो,’ उनले भने । वन तथा वातावरण मन्त्रालयले कीर्तिपुर नगरपालिका-४ र दक्षिणकाली नगरपालिका-१ को सामुदायिक तथा कबुलियती वन क्षेत्रको २२ हेक्टरभन्दा बढी जमिन (वन क्षेत्र) चम्पादेवी केबलकार आयोजना निर्माणका लागि चम्पादेवी इको फ्रेण्ड्लीलाई दिने प्रक्रिया अघि बढाएको हो । कम्पनीले पेस गरेको प्रतिवेदनका आधारमा मन्त्रालयले स्थानीयसँग सुझाव माग गरेको मन्त्रालयका सूचना अधिकारी बाबुराम घिमिरेले बताए । रायसुझाव दिन इच्छुकलाई ७ दिनको समय दिइएको उनले बताए । केबलकारमा क्रान्ति, कमालको कमाइ
दैनिक ६ पटकसम्म हवाई यात्रा, भाडा वार्षिक ५० लाख
काठमाडौं । ललित केसी पेशाले बीमा सर्भेयर हुन् । आजकाल हवाइ उडान उनको दैनिक बनेको छ । कामको सिलसिलामा मासिक ५० पटकभन्दा बढी जहाज चढ्नुपर्ने उनी बताउँछन् । पछिल्लो समय जहाजमा यात्रा गर्दा हवाई भाडामा मात्र वार्षिक ५० लाख रुपैयाँ हाराहारीमा खर्च हुने उनले बताए । बीमितको क्षति मूल्याङ्कन गर्न देशको कुनै पनि भूगोलमा केसीलाई जानुपर्ने हुन्छ, बीमा कम्पनीले दिएको जिम्मेवारीअनुसार । सबैभन्दा बढी उडान भर्ने र सबैभन्दा धेरै विमानस्थलमा जाने बुद्ध एयर भएको उनी हवाई यात्रा गर्दा बुद्ध नै छनौट गर्दछन् । केसीले विगत १३ वर्षको अवधिमा बुद्धमा मात्र ३५ सयभन्दा बढी पटक हवाई यात्रा गरेका छन् । बुद्धको रेकर्ड अनुसार ललित केसीले ११ लाख माइलेज पोइन्ट पाएका छन् । बुद्ध एयरमा यात्रा गर्नेहरूमध्ये उनको रेकर्ड नै सबैभन्दा बढी रहेको छ । २०५८ सालदेखि बीमा सर्भेयरको पेशामा लागेका केसी २०६८ सालसम्म निजी गाडी लिएर फिल्डमा जान्थे । २०६८ पछि कामको चाप बढेको र हवाई यात्रा पनि बढेको उनले जानकारी दिए । उनीसँगको बीएन पोडकाष्ट आगामी साता विकासन्युज यूट्यूब च्यानलमा प्रसारण हुँदैछ । ललित केसी एकै दिनमा ६ पटकसम्म जहाजमा यात्रा गरेका अनुभव उनीसँग छ । ‘बुद्ध एयरकै कारण यसरी सहज रूपमा यात्रा गर्न सम्भव भएको हो । मलाई बुद्ध एयरले सधैं ‘कनेक्टिङ’ फ्लाइटले सजिलो बनाइदियो,’ उनले खुसी साट्दै भने । बुद्ध एयर उनका लागि दोस्रो घर जस्तै भएको सुनाउँछन् ललित केसी । यस अर्थमा यो विमानसँग उनको सम्बन्ध निकै नै नजिकको बनेको छ । हवाईजहाजले छोटो समयमै धेरै ठाउँ जान सहज बनाएको छ । यसमा पनि बुद्ध एयर सहजै उपलब्ध हुने र धेरै सेक्टरमा उड्ने हुँदा धेरै जनाको रोजाइमा बुद्ध नै पर्दै आएको छ । पछिल्लो समय केसीले ९९ प्रतिशत उडान बुद्धबाटै भर्दै आएका छन् । ‘बुद्ध एयर मेरो दोस्रो घर बनेको छ, यसका धेरैजसो क्याप्टेन, एयर होस्टेज र केहीबाहेक प्रायः सबै कर्मचारीहरूसँग मेरो राम्रो चिनजान छ,’ उनी सुनाउँछन् । जहाजमा यात्रा गर्दा ८० प्रतिशत समय काममै खर्चिन्छन् केसी । उनले ७५ प्रतिशत रिर्पोटहरू फ्लाइटमा सम्पन्न गर्छन् । विशेष ग्राहकको लागि विशेष सेवा बुद्ध एयरका लागि ललित विशिष्ट यात्रुमध्ये एकमा पर्छन् । केसीजस्तै बारम्बार यात्रा गर्ने यात्रुले बुद्ध एयरमार्फत विशेष सुविधा पाउने गरेका छन् । नियमित उडान भर्ने यात्रुलाई लक्षित गरेर बुद्ध एयरले निःशुल्क टिकटदेखि अतिरिक्त छुट सुविधा प्रदान गर्दै आएको छ । यी सुविधाहरू कम्पनीले ‘रोयल क्लब’ कार्यक्रममार्फत दिँदै आएको हो । रोयल क्लब बुद्ध एयरको विशेष ‘फ्रिक्वेन्ट फ्लायर प्रोग्राम’ हो । नियमित उडान भर्ने यात्रुका लागि सञ्चालन गरिएको यो कार्यक्रममा यात्रुको माइलेज गन्ती हुन्छ । जति धेरै माइलेज त्यति धेरै सुविधा ग्राहकले उपभोग गर्न पाउँछन् । बुद्ध एयरका प्रवक्ता दीपेन्द्रकुमार कर्णका अनुसार हालसम्म २५/३० हजार यात्रु यस कार्यक्रममा सहभागी भइसकेका छन् । निःशुल्क टिकट यस कार्यक्रममा आबद्ध यात्रुले जति धेरै माइल बनाउन सक्यो त्यति धेरै सुविधा उपभोग गर्न पाउँछन् । ती सुविधामध्ये निःशुल्क टिकट पनि हो । यात्रुले आफ्नो जम्मा भएको माइल प्रयोग गरी आन्तरिक गन्तव्यसम्म निःशुल्क यात्रा गर्नसक्ने सुविधा छ । अतिरिक्त सामान बोक्न पाउने सामान्य यात्रुहरूले २० केजीसम्म मात्र सामान बोक्न पाउने भए पनि विशेष ग्राहकले थप ५ देखि १० केजीसम्म अतिरिक्त सामान बोक्न पाउने सुविधा छ । त्यस्तै, रोयल क्लबका सदस्यहरूले होटल, रेष्टुरेन्ट, क्लब र अन्य आउटलेटहरूमा पनि विशेष छुटसहित सुविधा पाउँछन् । गिफ्ट भौचर रोयल क्लबअन्तर्गत जम्मा भएको माइललाई ग्राहकले गिप्ट भौचरमा रूपान्तरण गर्न सकिन्छ, जुन नगदसरह हो । यी भौचरहरू प्रयोग गरेर विभिन्न पसलमा सामान खरिद गर्न सक्ने सुविधा छ । कम्पनीका अनुसार यो सुविधा बुद्ध एयरको जावलाखेलस्थित मुख्य कार्यालयबाट मात्र जारी गरिन्छ । परिवारका सदस्यका लागि पनि फाइदा सदस्यले जम्मा गरेका माइलहरू आफ्नो जीवनसाथी वा सन्तानका नाममा पनि प्रयोग गर्न सकिने बुद्ध एयरले जनाएको छ । यसका लागि भने टिकट वा उपहार भौचर उनीहरूको नाममा सदस्यता फारममा बच्चा र जीवनसाथीको नाम समावेश गर्न छुट्याउनुहुँदैन । कम्पनीका अनुसार रोयल क्लब सदस्य पाउनको लागि सदस्यको खातामा सात हजार पाँच सय वा सोभन्दा बढी माइलेज पोइन्ट पुग्नुपर्छ । त्यसपछि प्लाटिनम सदस्यलाई नयाँ कार्ड प्रदान गरिन्छ । प्लाटिनम सदस्य बन्नको लागि सात हजार पाँच सय भन्दा बढी माइल जम्मा हुनुपर्छ । प्रिमियम यात्रुका उत्कृष्ट सुविधा रोयल क्लब र प्लाटिनम सदस्यभन्दा माथिको विशिष्ट ग्राहकको लागि बुद्ध एयरले विशिष्ट सुविधा दिने गरेको छ । यसमा समावेश हुने यात्रुले अत्यन्तै विशिष्ट सेवासुविधा प्राप्त गर्छन् । रोयल क्लब डाइमन्ड सदस्य बन्नको लागि यात्रुले एक लाख माइल जम्मा गरेको अर्थात् कमाएको हुनुपर्छ । डाइमन्ड सदस्यले चेक इनमा विशेष प्राथमिकता पाउँछन्। उनीहरूले लाइनमा नबसीकनै विशिष्ट कक्षाबाट प्रवेश पाउँछन् । त्यस्तै, अचानक यात्रा रद्द गर्नुपर्ने अवस्था आएमा कम्पनीको मुख्य कार्यालयमा जानकारी दिएर रद्द गर्न सक्छन् । सिटमा आरक्षण यसबाहके सदस्यले सिटमा समेत विशेष आरक्षण सुविधा पाउनेछन् । सदस्यको लागि प्रत्येक गन्तव्यको लागि दैनिक रूपमा २४ घण्टाअघिसम्म सिट सुरक्षित राखिएको हुन्छ । यसकारण ग्राहकको रोजाइमा बुद्ध एयर डोमेस्टिक एयरलाइन्समा बुद्ध एयरलाई सबैभन्दा भरपर्दो रूपमा लिइन्छ । यसको अर्को महत्वपूर्ण विशेषता भनेको अरू विमानको तुलनामा सहजै ‘एक्सेस’ पनि हो । नेपालको कठिन भू–भाग र मौसममा एयर ट्राभल चुनौतीपूर्ण छ । बुद्ध एयरले चुनौतीका बीचमा पनि बलियो सुरक्षा, नियमित मर्मत र मौसम सम्बन्धित जोखिममा मानक पुरा विगत २८ वर्षदेखि निरन्तर सेवा विस्तारमार्फत यात्रुको विश्वास जितेको छ । त्यसैले पनि धेरै यात्रुको रोजाइमा बुद्ध एयरलाइन्स पर्दै आएको कम्पनीका प्रवक्ता कर्ण बताउँछन् । उनका अनुसार बुद्ध एयरका १८ वटा जहाज सञ्चालनमा छन् । ती सबै जहाजहरू एटीआर कम्पनीका हुन् । हवाई व्यवसायी वीरेन्द्रबहादुर बस्नेत । प्रवक्ता कर्णले बुद्धले दैनिक १६० देखि १७० वटासम्म उडान भर्दै आएको बताए । पोखराकै कुरा गर्ने हो भने दैनिक १७ वटा उडान हुन्छ । ‘यात्रुले आफ्नो अनुकूल फ्लाइट लिन सक्नुहुन्छ, जसले गर्दा कतिबेला विमान उड्छ भन्नुपर्ने अवस्था छैन । ग्राहकको अनुकूल समयमा हामीले सेवा दिन सकेकै कारण उहाँहरूले बुद्धको जहाज रोज्नुभएको जस्तो लाग्छ,’ उनले भने । कामकाजी यात्रुले एक ठाउँको काम सकेर बेलुका आफ्नै घर फर्किन सक्ने सुविधा बुद्धले उपलब्ध गराउने गरेको छ । कम्पनीले प्रादेशिक उडानमा पनि जोड दिँदै आएको छ । त्यसैले एक ठाउँबाट अर्को ठाउँमा जानको लागि काठमाडौं नै आउनुपर्ने बाध्यता हटेको छ । प्रवक्ता कर्ण भन्छन्, ‘हरेक गन्तव्यमा दर्जनौं फ्लाइट छन् । काम विशेषले भैरहवा जानुपर्यो त्यसपछि नेपालगञ्ज । यस्तो परिस्थितिमा यात्रुले काठमाडौं नफर्कीकनै भैरहवाबाटै सिधै नेपालगञ्जको उडान भर्न सक्नुहुन्छ ।’ बुद्ध एयरमा अपांगता, अशक्तता र बिरामी यात्रुको लागि विशेष सुविधा छ । जहाज चढ्नको लागि ७थभल;याम सुविधा छ, जसले अशक्तताहरूले सहजै विमानको सिटसम्म पुग्न सक्छन् । त्यस्तै, बिरामीको लागि स्टेचरको व्यवस्था छ। सिटमा नै स्टेचर फिट गरेर त्यसमै सुताएर बिरामीलाई सहज यात्राको व्यवस्था बुद्ध एयरले गर्दै आएको छ । जहाज भन्नेबित्तिकै हुनेखानेले मात्रै चढ्छन् भन्ने धेरैको बुझाइ छ । तर पछिल्लो समय विमान अति आवश्यक बन्दै गएको हुँदा सबैले प्रयोग गर्न पाउनुपर्ने बताउँछन् कर्ण । सबैको पहुँचमा पुर्याउनको लागि त्यहीअनुसार कम्पनीले काम गरेको पनि उनको भनाइ छ । ‘हामीले पहिले सानो जहाजबाट अपरेट गर्थ्यौं । त्यहाँबाट अपरेटिङ गर्दा कस्ट महंगो हुन आउथ्यो । अपरेटिङ कस्टलाई कसरी कम गर्ने भनेर हामीले काम गर्यो जसले गर्दा यात्रुलाई टिकट महंगो नपरोस्,’ उनले भने । अपरेटिङ कस्ट घटाउनकै लागि अहिले बुद्धले ठूलो क्षमताको जहाज ल्याएको उनले जानकारी दिए । उनका अनुसार बुद्धका ७२ सिटसम्मका जहाज उपलब्ध छन् । बुद्ध एयरले अहिलेसम्म आन्तरिकसहित भारतको बनारसमा उडान भर्दै आएको छ । बुद्धले सातामा तीन दिन उडान भर्दै आएको छ । प्रवक्ता कर्णका अनुसार आगामी सेप्टेम्बेरदेखि कलकातामा उडान गर्ने तयारी रहेको छ । अरू विदेशमा जाने योजना छैन । त्यसबाहेक अन्य देशमा भने तत्कालै उडान भर्ने तयारी नभएको प्रवक्ता कर्णले सुनाए । ‘अन्तर्राष्ट्रिय स्तरमा जान अलि गाह्रो छ, जहाज पनि अलि ठूलो चाहिन्छ । अहिलेको लागि हामीले भारतको विभिन्न भागमा उडान भर्ने तयारी गरेका छौं,’उनले भने ।
७ हजार पीडितको १ अर्ब बढी ठगी
काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी प्रवक्ता (प्रहरी उपरीक्षक) दीपकराज अवस्थी असारको पहिलो साता एउटा कार्यक्रममा जाँदै थिए । उनको फोनमा घण्टी बज्यो । उनले फोन उठाए । दाङबाट एक महिलाले फोन गरेकी रहेछिन् । ती महिलाले फोनमा आफूले भोगेको घटनाको बेलिबिस्तार सुनाएको प्रसंग कोट्याउँदै अवस्थीले भने, ‘एक बैंकमा बैंक खाता रहेछ । उहाँको खातामा ३० हजार रुपैयाँ मात्रै थियो । बैंकमा सो रकम निकाल्न जाँदा खाता रोक्का थियो । किन रोक्का भएको हो भनेर सोधपुछ गर्दा ८ लाख रुपैयाँको कारोबार भएको र सो कारोबार शङ्कास्पद भएको भन्दै प्रहरीले रोक्का गर्न लगाएको भनेर बैंकका कर्मचारीले जवाफ दिए । जबकि ती महिलाले त्यो कारोबार गरेकै थिइनन् । तर, जेठ अन्तिम सातातिर खाता ह्याक गरेर ८ लाख रुपैयाँको कारोबार भएको पछि मात्रै उनले जानकारी पाइन् ।’ यस्तै, दुई बच्चा भएकी एकल (नेपाली) महिला रोमान्स एपमा जोडिइन् । सोही एपमा उनी एक जना पुरुषसँग नजिक भइन् । ती पुरुषसँग उनको माया प्रेम र अन्तरंग कुराकानी भइरह्यो । एकले अर्काेलाई विश्वास गरे । ती पुरुषले भविष्यमा महिलालाई विदेश लैजाने भन्दै प्रलोभन पारे । साथै आफूलाई समस्या परेको विभिन्न बहानामा पैसा मागिरहे । ती महिलाले पनि पुरुषलाई विश्वास गरेर १ करोड ४९ लाख रुपैयाँ सहयोग गरिन् । तर, त्यो पैसा पाएपछि ती पुरुष सम्पर्कविहीन भए । त्यसपछि बल्ल ती महिलाले आफू डिजिटल ठगीमा परेकी थाहा पाइन् । आवश्यक प्रमाणसहित उनले साइबर ब्यूरो उजुरी दिइन् । साइबर ब्यूरोले ९० लाख रुपैयाँसम्म फिर्ता गर्न सक्यो । तर, पुरा रकम फिर्ता गराउन अझै सकेकाे छैन । दोलखा घर भएकी एक डाक्टर टेलिग्राम एपको एउटा ग्रुपमा जोडिइन् । त्यो ग्रुपमा उनलाई घरमै बसेर लगानी गरेर राम्रो आम्दानी हुने भन्दै लगानीको अफर आयो । राम्रो प्रतिफल आउने भएपछि उनी लगानी गर्न तयार भइन् । साथी बिरामी भएको छ, उपचारमा ४० लाख रुपैयाँ लाग्ने भन्दै झुटो बोलेर उनले घरमा बुवालाई फोन गरेर पैसा मागिन् । उनले त्यो पैसा टेलिग्राम एपमा जोडिएको व्यक्तिलाई पठाइन् । ती महिलाले रकम पठाइसकेपछि टेलिग्राममा जोडिएका ती व्यक्तिहरू सम्पर्क विहीन बने । माथिका केही उदाहरण मात्रै हुन् । पछिल्लो समय सामान्य व्यक्तिदेखि पढेलेखेका डाक्टर, इन्जिनियर, सीए, सांसदहरू समेत डिजिटल वित्तीय ठगीमा पर्ने गरेका छन् । सूचना प्रविधिको विकाससँगै डिजिटल ठगीको जालो समेत मौलाइरहेको छ । जसरी सूचना प्रविधिमा इनोभेसन भइरहेको छ, त्यसैगरी डिजिटल वित्तीय ठगीमा पनि नयाँ अभ्यास भइरहेका छन् । साइबर ब्यूरोले डिजिटल वित्तीय ठगीका मुद्दाहरूको भयावह स्थिति रहेको जनाएको छ । साइबर ब्यूरोका प्रहरी प्रवक्ता अवस्थीका अनुसार साइबर ब्यूरोमा डिजिटल अपराधका १७ हजारभन्दा बढी उजुरी परेका छन् । जसमध्ये ७ हजार ५० जना डिजिटल वित्तीय ठगीका पीडित रहेका छन् । ती ७ हजार पीडितहरूले १ अर्ब ९३ लाख ३५ हजार रुपैयाँ ठगिएको उजुरी ब्यूरोमा दिएका छन् । ब्यूरोको तथ्याङ्कअनुसार सबैभन्दा बढी रकम अनलाइन जब तथा लोनमा फसेको देखिन्छ । १ हजार ९६९ वटा जनाले दिएको निवेदनमा ५२ करोड ९३ लाख ३ हजार रुपैयाँ ठगी भएको साइबर ब्यूरोले जनाएको छ । यस्तै, लट्री, गिफ्ट, मनीमा ४७६ जनाले दिएको निवेदनमा १५ करोड ७० लाख २४ हजार रुपैयाँ र अनलाइन सपिङमा २ हजार ६६२ जनाको निवेदनमा ८ करोड ६८ लाख ५३ हजार रुपैयाँ ठगिएको ब्यूरोको तथ्याङ्क छ । प्रवक्ता अवस्थीका अनुसार १० हजार रुपैयाँभन्दा कमका २ हजार ६६८ जना, १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्मका १ हजार ८४० जना, ५० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्मका १ हजार ४७४ जना, २ लाख रुपैयाँदेखि १० लाख रुपैयाँसम्मका ८९२ जना र १० लाख रुपैयाँभन्दा माथिका १७६ जना डिजिटल वित्तीय ठगीका पीडित छन् । चालु आवको हालसम्म कुल निवेदनमध्ये अनलाइन फ्रड तथा स्क्याम (ठगी) ४१.५४ प्रतिशत, एकाउन्ट ह्याक्ड ३०.८३ प्रतिशत, इम्पेर्साेनेसन १०.५३ प्रतिशत, डिफेम ८.३५ प्रतिशत, ह्यारेसमेन्ट/बुलिङ ५.३६ प्रतिशत, हेट स्पिच १.७६ प्रतिशत, थ्रेट अफ भ्याइलेन्स ०.८० प्रतिशत, मिसिङ/किड्न्याप ०.५३ प्रतिशत, सेक्सिङ ०.१५ प्रतिशत र मोर्फिङ ०.१५ प्रतिशत हिस्सा रहेको छ । डिजिटल फाइनान्सियल सर्भिस भित्र मोबाइल बैंकिङ, डिजिटल पेमेन्ट, अनलाइन बैंकिङ, अनलाइन प्लेटफर्महरू मार्फत ऋणको लागि आवेदन दिने (डिजिटल लेण्डिङ), डिजिटल इन्स्योरेन्स, अनलाइनमार्फत बीमा पोलिसी खरिद, दाबी, भुक्तानी डिजिटल इन्स्योरेन्स, सेयर कारोबारका लागि अनलाइन इन्भेष्टमेन्ट प्लेटफर्म पर्छन् । नेपालमा क्रिप्टोकरेन्सी र ब्लकचेन सर्भिसलाई गैरकानुनी रुपमा लिइएको छ । तर, जुन देशमा यसलाई वैद्य मानिएको छ, त्यहाँ क्रिप्टोकरेन्सी र ब्लकचेनलाई डिजिटल पनि फाइनान्स सर्भिसका रूपमा लिने गरिएको छ। ‘बैंकिङ पहुँच पुर्याउन आवश्यकसँगै धोखाधडी र डिजिटल ठगीबाट जोगाउन पनि उत्तिकै जरुरी छ । त्यसैले हरेक व्यक्तिलाई वित्तीय व्यवस्थापन कुशलतापूर्वक गर्न सशक्त बनाउन जरुरी छ । भविष्यमा डिजिटल कारोबार रोकिने वाला छैन । अब चेक र कुपन लिएर लाइन बस्ने जमाना सकिए । त्यसैले अहिलेदेखि नै सजग भएर बस्नुपर्ने अवस्था छ,’ प्रवक्ता अवस्थीले भने । कसरी हुन्छ ठगी ? डिजिटल ठग तथा स्क्यामरले व्यक्तिगत र संस्थागत रुपमा क्षति पुर्याउँछन् । सुन्दा अचम्म लाग्ने थुप्रै मुद्दाहरू ब्यूरोमा आएको अवस्थीले बताए । उनका अनुसार बैंक तथा वित्तीय संस्थाबाट हो भनेर फोन गर्दै ओटीपी माग्छन् । डक्टर, इन्जिनियर, सीए, सांसदहरु समेत भेरिफाई नगरी ओटीपी दिन्छन् । ओटीपी लिएपछि थुप्रै ठगी भएका उदाहरण छन् । सिस्टमलाई समयानुकल परिष्कृत गरिएपनि यो ठूलो चुनौतीका रूपमा रहेको उनको भनाइ छ । लट्री तथा गिफ्ट: प्रयोगकर्ता बहुमूल्य सामान देखेपछि लोभिन्छन् अनि गिफ्ट पठाउँदा केही कानुनी प्रक्रिया पूरा गर्नुपर्छ भन्छन् । त्यो पूरा गर्दा ठगिएको थाहा पाउँदैनन् । इन्हेरिट्यान्स (उत्तराधिकार) स्क्याम: प्रयोगकर्ताहरू जसलाई सहजै विश्वास गर्छन् । जस्तो कोही मान्छेले मेरो खातामा लाखौं रकम छ । मेरो कोही पनि आफन्त छैनन् । त्यसैले भविष्यमा मेरो सम्पत्ति तपाईंलाई दिने हो भनेर विश्वास दिलाउँछन् अनि उसले पनि सहजै विश्वास गरेर ठगी गरिरहेको हुन्छ । अनलाइन टास्क (इन्भेष्टमेन्ट स्क्याम): यसमा सबैभन्दा बढी प्रयोग भएको एप टेलिग्राम एप हो । जुन एपको बारेमा कसैलाई थाहा नै छैन । एप इन्स्टल गरिएको हुन्छ । त्यसमा मान्छेको फोटो केही हुँदैन, कोसँग कुराकानी गरेको हो थाहा छैन, कुरा गर्दा गर्दै प्रलोभनमा पारेर ठगिरहेको हुन्छ । इकमर्स: सामाजिक सञ्जालमा विभिन्न सामानहरूको प्रचार आउँछ । सस्तो मूल्यमा महँगा सामान राखिएका हुन्छन् । प्रयोगकर्ताहरू पनि आकर्षित भएर सामान किन्छन् । पैसा तिरेपछि ब्लक गर्ने र सामान नआउने जस्ता अभ्यास मौलाएका छन् । ई-कमर्सको एक्टमा कुनै पनि सामान बिक्री गर्नेले आधिकारिक वेबसाइट तयार पार्नुपर्ने हुन्छ । वेबसाइटमा ग्राहकको सहयोगका लागि नम्बर र व्यक्ति तोक्नुपर्ने हुन्छ । तर, सबै प्रक्रिया पुर्याए वा नपुर्याएको केही जाँच नगरी सामान खरिद गर्दा ठगिने गरेका छन् । मालवेयर: अपरिचत स्रोतबाट सफ्टवेयर इन्स्टल गर्नु हुँदैन । प्लेस्टोर र एपलस्टोर बाहेक आएका सफ्टवेयरलाई इन्स्टल गर्नु हुँदैन । तर, ह्वाट्स, म्यासेन्जर एप लगायतबाट लिंकहरु आउँछन्, ती इन्स्टल गर्छन् । त्यस्ता एप इनस्टल गर्नेबित्तिकै सबै गतिविधि ह्याकरलाई जान्छ । विशेषगरी वित्तीय क्षति पुर्याउने गरेको हुन्छ । बैंकिङ कारोबारलाई नै पत्ता लगाएर ठगी गर्ने गरिएको छ । पछिल्लो समय डेस्कटपलाई फोकस गरेर यस्ता मालवेयर आएका छन् । प्रस्टसँग ल्यापटप वा कम्प्युटर हुनुपर्छ भनेकै हुन्छन् । अनुसन्धानबाट हेर्दा भारतबाट भएको देखिन्छ । तर, इनस्टल गरिसकेपछि डाटा अस्ट्रेलियाको कुनै एउटा सर्भरमा पुर्याएको हुन्छ । सामाजिक सञ्जाल ह्याक: प्रयोगकर्ता नेपालमै हुन्छन् । ह्याकरले विदेशमा रहेका आफन्तलाई अहिले सुत्ने समय भएको होला, डिस्टर्ब गर्दैन, टेक्स्ट मात्रै पठाउँछु, यति रुपैयाँ आवश्यक छ, पठाउनु भन्छ । उसले पनि भेरिफाइ वा फोन नगरी पैसा पठाउँछ । त्यो पैसा ठगिएपछि मात्रै उसले थाहा पाउँछ । संस्थागत रुपमा मर्चेन्ट एकाउन्ट ह्याक गरेका उदाहरण छन् । कम्पनीहरूले आन्तरिक रुपमा कुन कर्मचारीलाई कति पहुँच दिने, जागिर छाडेर गयो वा राजीनामा दिएर जाँदा कसरी ह्याण्डओभर गर्ने, कस्तो पासपोर्ट राख्ने, कति दिनमा परिवर्तन गर्ने भन्ने विषयमा कुनै चासो नराखेको देखिन्छ । यसरी कुनै विषय सिस्टममा नराख्दा स्टक ब्रोकर कम्पनीको मर्चेन्ट एकाउन्ट ह्याक भएको उदाहरण छ । डिजिटल वालेटको खाताबाट पनि पैसा गएको देखिन्छ । रेन्समवेयर अट्याकले पनि वित्तीय क्षति पुर्याउँछ । चर्चित समाचार संस्थाकै एनिडेस्कमार्फत अट्याक गरेर वर्षाैंदेखिका तथ्याङ्कलाई ह्याक गरेर हजारौं अमेरिकी डलर माग गरेको उदाहरण पनि छ । नेपाल सरकारकै मन्त्रालयको तथ्याङ्क पनि रेन्समवेयर अट्याक भएको देखिन्छ । इमेल स्पूफिङः पर्यटन क्षेत्रमा विभिन्न संघसंस्थाहरू छन्, ती संस्थाहरूले विदेशबाट पर्यटकहरू बोलाएर नेपालका विभिन्न ठाउँहरुमा घुमाउने गर्छन् । ह्याकरहरूले संस्थाका क्लाइन्ट पत्ता लगाउँछन् । अनि उनीहरुले कम्पनीको हुबहु इमेल आइडी बनाउँछन् । जस्तो कनेक्ट आईपीएसको कनेक्ट एलपीएस बनाएर क्लाइन्टबाट रकम ठगी गर्छन् । क्लाइन्टले पनि भेरिफाइड नगरी पैसा पठाउँछन् । कुनै वित्तीय संस्थाको डार्क वेभमा युजरको एडमिन पाइएको छ । डार्क वेबमा देखिएपछि किनबेच हुन्छ र नेपाली खाताबाट पैसा जाने क्रम पनि देखिन्छ । द अलर्ट/एट अलर्ट लगायत बल्क एसएमएसमा पनि धेरै स्क्याम हुने गरेका छन् । एसएमएस आएपछि युजरले क्लिक गर्छन् । जस्तो तपाईंको खल्ती खाता लक्ड भएको छ भनेर एसएमएसमा लिंक पनि पठाउँछ । प्रयोगकर्ताले पनि क्लिक गरेपछि खल्ती जस्तै देखिने ड्यासबोर्ड राख्छ । त्यसमा युजरनेम र पासवर्ड राख्न लगाउँछ । तर, यूआरएल हेर्दैन । त्यसमा युजर नाम र पासवर्ड राख्नेबित्तिकै स्क्यामले ह्याक गरेर वित्तीय क्षति पुर्याउँछ । अध्ययन गर्दा भारतबाट ह्याक भएको देखिन्छ । तर, सबै तथ्याङ्क यूरोपका कुनै देशमा पुगेको हुन्छ । डिजिटल ठगी कसरी रोक्न ? फिसिङ इमेल, शङ्कास्पद लिंकलाई पहिचान गरेर कुन आधिकारिक हो र कुन आधिकारिक होइन भनेर पत्ता लगाउन सक्नुपर्ने प्रहरी उपरीक्षक अवस्थी बताउँछन् । अनावश्यक लिंकमा क्लिक नगर्न, नचिनेको मान्छेसँग कुरा नगर्न, अनावश्यक फाइल डाउनलोड नगर्न र बलियो पासवर्ड राख्न प्रहरी उपरीक्षक अवस्थीले सुझाव दिए । उनका अनुसार सामाजिक सञ्जालमा सबै विवरण नराखी कम मात्रै जानकारी राख्नुपर्ने हुन्छ । साथै, भिजिटिङ कार्ड बनाउन जरुरी छैन । किनभने त्यहाँ व्यक्तिगत इमेल, फोन प्रयोग भएको हुँदा स्क्यामरले ह्याक गरेर ठगी गर्न सक्ने उनको भनाइ छ ।