चार ठेकेदार कम्पनी कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न ४ कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । तोकिएको मापदण्ड पूरा नगरेको भन्दै कार्यालयले बिल्ड ब्रदर्श कन्सट्रक्सन प्रालि गोंगबु, एसएम. कन्सट्रक्सन मकवानपुर, राना फर्निचर सःमलि उद्योग मध्यनेपाल लमजुङ र गौरीगोमा निर्माण सेवा सल्यानलाई कालोसूचीमा राखेको हो । बिल्ड ब्रदर्श कन्सट्रक्सनका सञ्चालक छिरिङ लामा डोङ र पम्बर लामा हुन् भने एसएम कन्सट्रक्सन मकवानपुरका सहदेव गौतम मुख्य व्यक्ति हुन् । यस्तै, राना फर्निचर सःमलि उद्योगका मुख्य व्यक्ति सुकु रानामगर हुन् भने गौरीगोमा निर्माण सेवाका तुफान सिंह बुढाथोकी हुन् । यी चार कम्पनीमध्ये वनगाड कुपिण्डे नगरपालिकाको सल्यानको सिफारिसमा गौरीगोमा निर्माण सेवालाई एक वर्षका लागि कालो सूचीमा राखिएको हो । अन्य तीन कम्पनीहरुलाई भने डेढ वर्षका लागि कालो सूचीमा राखिएको हो । कालोसूचीमा राखिएका कमपनीले कुनै पनि काम कारबाहीमा सहभागी हुन पाउने छैनन् ।
८.२४ करोडमा निर्माण सुरु गरिएको अस्पताल बजेट अभावले अधुरै
काठमाडौं । बागलुङको निसीखोलामा निर्माणाधीन पालिका स्तरीय आधारभूत अस्पताल अधुरो रहेको छ । गत वर्ष पुस महिनामा सम्पन्न हुनुपर्ने अस्पताल बजेट अभावका कारण अधुरै रहेको हो । निसीखोला गाउँपालिका-४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल निर्माणका लागि लागि २०७८ माघमा सम्झौता भएर काम सुरु भएको थियो । ८ करोड २४ लाख रुपैयाँमा निर्माण सुरु भएको अस्पताल २०८० पुस महिनामा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको थियो । तर हालसम्म ९० प्रतिशत मात्रै काम सकिएको हिन्दुङ आइएस/एसी जेबीका प्रमुख दीपककुमार अदैले जानकारी दिए । पालिकाले बजेट विनियोजन गरे २ महिनामै काम सम्पन्न गर्ने सक्ने उनको भनाइ छ । विसं २०८० भदौमा बुझाएको १ करोड १० लाख रुपैयाँको बिलको भुक्तानी अझै हुन नसकेको उनले बताए । पालिकाबाट भुक्तान गर्न बाँकी रहेको १ करोड १० लाख रुपैयाँ सहित थप ६० लाख रुपैयाँ व्यवस्थापन गर्न सके काम गर्न समस्या नहुने उनी बताउँछन् । लामो समयसम्म काम गरेको भुक्तानी नपाउँदा समस्या परेको प्रमुख अदैले बताए । पालिकाले बजेट व्यवस्थापन गरेको भए अघिल्लो वर्ष नै अस्पताल सम्पन्न भई सक्ने उनको भनाइ छ । निसीखोला गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले सङ्घीय सरकारले बजेट नपठाउँदा अस्पताल अधुरो रहेको बताए । गाउँपालिकाको आन्तरिक स्रोत कम हुने हुँदा अस्पतालमा बजेट विनियोजन गर्न नसक्ने उनको भनाइ छ । आवश्यक बजेट व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालयसँग माग गरेको अध्यक्ष घर्ती मगर बताउँछन् ।
नारायणघाट-बुटवल सडक: २२ साना र ५ ठूला पुल निर्माण सम्पन्न, प्रगति ६३ प्रतिशत
काठमाडौं । ४ लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट-बुटवल सडकको पूर्वीखण्डमा निर्माण हुने सबै साना पुल निर्माण सम्पन्न भएका छन् । पूर्वीखण्डको गैँडाकोट-दाउन्ने खण्डमा निर्माण हुने २२ वटै साना पुल निर्माण सकिएका हुन् । नारायणघाट बुटवल सडक योजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालकाअनुसार २५ मिटरभन्दा छोटालाई साना र २५ मिटरभन्दा लामा पुललाई ठूला पुलको रुपमा राखेर निर्माण गरिएका छन् । ‘निर्माण भएका साना पुलमध्ये अधिकांशमा सवारीसाधन सञ्चालन भइसकेका छन् । निर्माण सकिएका २ ठूला पुलसमेत सञ्चालनमा आइसकेका छन्,’ उनले भने । यस खण्डमा १२ ठूला पुल निर्माण हुनुपर्नेमा ५ वटा निर्माण सम्पन्न भएका छन् । निर्माण सकिएका पुलमा राजमार्गबाट पहुँच मार्ग निर्माण गर्न बाँकी रहेका कारण सवारीसाधन सञ्चालन नभएको सूचना अधिकारी खनालले बताए । आगामी असारसम्म थप ३ ठूला पुल निर्माण सम्पन्न हुने उनले जानकारी दिए । ‘गैँडाकोटको जयश्री, बेल्डिहा, मध्यविन्दुको गिरुबारी र अरुणखोला पुल बाहेकका सबै पुल आगामी असारसम्म निर्माण सम्पन्न हुनेछन् । यी चारवटै पुलका जनशक्ति र उपकरण अहिले विनयी त्रिवेणी गाउँपालिकास्थित विनयी खोलाको पुल निर्माणमा परिचालन गरिएको हुँदा ती पुल निर्माणमा ढिलाइ हुने भएको छ,’ उनले भने । अत्यधिक भारवहन गरेको सवारीसाधनका कारण केही साता अगाडि विनयी खोलाको पुरानो पुल भाँचिदा यातायात सञ्चालनमा समस्या आएका कारण त्यहाँ नयाँ पुल निर्माणमा जनशक्ति केन्द्रित भएको सूचना अधिकारी खनालको भनाइ छ । गैँडाकोटबाट दाउन्नेसम्मको करिब ६५ किलोमिटर सडकखण्डमा यात्रा गर्दा ५२.५ किलोमिटर कालोपत्र गरिएको सडकमा यात्रा गर्न मिल्छ । ‘यस खण्डमा निर्माण भएका पुल, चोरमारा बजार, दुम्कीवास र दाउन्नेमा कालोपत्र गर्न बाँकी छ । दाउन्नेको ४ किलोमिटर क्षेत्रबाहेक अन्य सबै ठाउँमा यो बर्खा अगाडि नै कालोपत्र सक्ने गरी काम भइरहेको छ,’ उनले भने । यस खण्डमा चैत मसान्तसम्मको प्रगति ६३ प्रतिशत रहेको सूचना अधिकारी खनालले जानकारी दिए । नारायणघाटबाट बुटवलसम्मको ११४ किलोमिटर सडकमध्ये नारायणघाट दाउन्ने (करिब ६५ किलोमिटर) सडकलाई पूर्वी खण्ड र दाउन्ने बुटवल (करिब ४९ किलोमिटर) सडकलाई पश्चिम खण्डमा विभाजन गरेर विस्तारको काम भइरहेको छ । ४ लेनमा विस्तार भइरहेको सडकको सहरी क्षेत्रमा दुवैतर्फ अतिरिक्त सर्भिस लेन निर्माण हुनेछ भने दाउन्नेको १४ किलोमिटर सडक तीन लेनमा विस्तार हुने जनाइएको छ । ग्लोबल टेण्डरमार्फत ठेक्का पारेर चीनीयाँ निर्माण कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडले सरकारसँग २०७५ माघमा सम्झौता गरी गत चैत ८ गतेदेखि सडक विस्तारको काम थालेको थियो । विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) मा उल्लेख गरिएको भन्दा ४ गुणा बढी रुख काट्नु परेको, रुख कटानको स्वीकृति ढिला आएको, बिजुलीको पोल सार्न ढिलाइ भएको, निर्माण सामग्री उपलब्ध हुन ढिलाइ भएको, कोभिड-१९ सङ्क्रमणलगायत समस्याले सडक विस्तारमा ढिलाइ भएको भन्दै निर्माण कम्पनीले पटक पटक सडक विस्तारको म्याद थप गर्दै आएको छ । ४२ महिना (२०७९ साउन) मा निर्माण सक्ने गरी ठेक्का सम्झौता भएको सडकको तेस्रोपटक थप गरिएको म्याद आगामी असारमा सकिँदैछ ।