कक्षा १० का विद्यार्थीको सिकाइ स्तर कमजोर
काठमाडौं । कक्षा १० को सिकाई उपलब्धि कमजोर रहेको पाइएको छ । शैक्षिक गुणस्तर केन्द्रले कक्षा १० का विद्यार्थीहरूको सिकाइ उपलब्धिबारे २०८१ मा गरेको परीक्षणमा गणित, विज्ञान तथा प्रविधि, नेपाली र अंग्रेजी विषयमा क्रमशः २०.४, २९.४, २५.९, १२.२ प्रतिशत विद्यार्थीहरू कक्षा तहभन्दा तल रहेका पाइएको हो । महालेखापरीक्षकको कार्यालयले गुणस्तर परीक्षण न्यून सङ्ख्यामा गरेको र सिकाइ उपलब्धि स्तर कमजोर रहेकाले सिकाइ उपलब्धि बढाउन विशेष कार्यक्रम सञ्चालन गर्न सुझाव दिएको छ । शिक्षा ऐन, २०२८ को दफा ७ (ख) मा विद्यालयको गुणस्तर परीक्षण गर्ने व्यवस्था छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल कायम ३५ हजार ४ सय ४७ विद्यालयमध्ये विगत १४ वर्षको अवधिमा ३.५,८ र १० कक्षाका विद्यार्थीहरूको सिकाइ उपलब्धिको राष्ट्रिय परीक्षण गरेको देखिन्छ ।
नेपाली खानालाई विश्व बजारमा ब्रान्डिङ गर्दै दमकमा ‘फूड फेस्टिभल २०२६’ सुरु
झापा । नेपाली मौलिक खानाको स्वाद र नेपाली सेतो कोट र सेतो टोपीको गरिमालाई विश्वस्तरमा पु‍र्याउने उद्देश्यका साथ झापाको दमकमा फूड फेस्टिभल २०२६ तथा दोस्रो राष्ट्रिय कुलिनरी च्यालेन्ज शुक्रबार (आज)देखि सुरु भएको छ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको आयोजनामा दुई दिन चल्ने उक्त कार्यक्रमले नेपाली पाककलालाई विश्व बजारमा ब्रान्डिङ गर्ने नयाँ ढोका खोलेको छ । कार्यक्रममा बोल्दै अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीका महासचिव दीपक कार्कीले नेपाली पाककला केवल सीप मात्र नभएर देशको संस्कृति र पहिचान भएको जानकारी दिए । ‘हाम्रो कुकरी कला एउटा सिर्जना हो, जसले विश्वसामु नेपालको आत्मालाई प्रस्तुत गर्छ,’ उनले भने । ‘हामीले हिमाल र पहाड मात्र होइन, नेपाली खानाको मौलिक स्वादलाई पनि नेपाल चिनाउने बलियो आधार बनाउनुपर्छ,’ उनले थपे । यस्तै, सोसाइटीका केन्द्रीय अध्यक्ष अरुण अधिकारीले सेफको पेशालाई स्वास्थ्यसँग जोड्दै भने, ‘डाक्टरले बिरामी भएपछि उपचार गर्छन्, तर सेफले मानिसलाई बिरामी हुनबाटै जोगाउने स्वस्थ खाना बनाउँछन् । त्यसैले सेफहरू स्वास्थ्यका वास्तविक डाक्टर हुन् ।’ उनले नेपाली सेफहरूले विश्वका पाँचतारे होटलहरूमा पु‍र्याएको योगदानको प्रशंसा गर्दै अब नेपालमै दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । सीप र शिक्षाको फ्युजन कार्यक्रमले विशेषगरी युवा पुस्ता र विद्यार्थीहरूलाई लक्षित गर्दै सीपलाई शिक्षासँग जोड्नुपर्ने सन्देश दिएको छ । सीपबिनाको शिक्षाले बेरोजगारी मात्र उत्पादन गर्ने भन्दै आयोजकले नेपाली विद्यार्थीहरूलाई विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने बनाउन यस्ता प्रतियोगिताहरूले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे । आगामी योजना अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीले यसै वर्ष नोभेम्बरमा युएईमा, सेप्टेम्बरमा माल्टामा र अगस्टमा न्युजिल्याण्डमा पनि यस्तै फूड फेस्टिभलहरू आयोजना गरेर नेपाली खानाको प्रचारप्रसार गर्ने घोषणा गरेको छ । दमकमा भएको यो प्रतियोगिताले कोशी प्रदेशको मात्र नभई समग्र नेपालको पर्यटन र होटल व्यवस्थापन क्षेत्रमा नयाँ उत्साह थपेको सोसाइटीले जनाएको छ । । कार्यक्रममा सहभागी सेफहरूले सेतो कोट र टोपीको सम्मानका लागि एकजुट भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् । युनिभर्सल कुुलिनरी आट्र्स कलेज र पाथिभरा कुुलिनरी आट्र्स कलेजको प्राङ्गणमा कतार, जर्मनी, भारत, युएई, साइप्रस लगायत विश्वका ४५ वटा देशमा कार्यरत नेपाली सेफहरूको प्रतिनिधित्व रहेको छ । ५० भन्दा बढी स्टल रहेका फुड फेस्टिभलमा १२ वटा जजहरू रहेको आयोजकले जनाएको छ । रैथाने खानाको प्रवर्द्धन गर्दै खुला पाककला प्रतियोगिता, विजेताले १ लाख पाउने यस्तै, नेपाली स्थानीय तथा रैथाने खानाहरूको प्रवर्द्धन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले खुला पाककला प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ । विभिन्न चरणमा सञ्चालन हुने यस प्रतियोगितामा विद्यार्थी तथा प्रशिक्षार्थी सेफहरूले आफ्नो पाक कला प्रदर्शन गरिरहेका छन् । प्रतियोगिताको स्वरूप र मूल्याङ्कन प्रतियोगितामा सहभागीहरूले आयोजकद्वारा उपलब्ध गराइएको खाद्यान्न र सामग्री प्रयोग गरी आफ्नो इच्छा अनुसारको परिकार बनाउन पाउनेछन् । जजहरूका अनुसार सहभागीलाई कुनै खास परिकार बनाउन दबाब दिइएको छैन, बरु उनीहरूले जानेको र उत्कृष्ट बनाउन सक्ने खानालाई प्राथमिकता दिइएको छ । प्रतियोगिताको मूल्याङ्कनका लागि अन्तर्राष्ट्रिय स्तरको अनुभव प्राप्त र दक्ष सेफहरूको टोली खटाइएको छ । जजहरूले सहभागीले बनाएको खानाको स्वाद, बनाउने शैली र प्रस्तुतिलाई १ देखि १० को अंकभारमा स्कोरिङ गर्नेछन् । सबै जजहरूको औषत अंकका आधारमा उत्कृष्ट सहभागीहरू सेमिफाइनल हुँदै फाइनलमा प्रवेश गर्नेछन् । स्थानीय खानामा जोड यस प्रतियोगितामा विशेष गरी नेपाली रैथाने खानाहरू जस्तै नेवारी, थकाली, भोजपुरी खानाका साथै ढिँडो, सिस्नु, दाल–भात र मासुकाविभिन्न परिकारहरू समावेश गरिएका छन् । ‘हामीले रैथाने र स्थानीय खाना भनेका छौं, तर यो पूर्ण रूपमा सहभागीको रोजाइमा भर पर्छ,’ एक जजले भने । प्रतियोगितामा प्रथम पुरस्कार १ लाख रुपैयाँ, द्वितीय पुरस्कार ७५ हजार रुपैयाँ, तृतीय पुरस्कार ५० हजार रुपैयाँ राखिएको छ । अन्तर्राष्ट्रिय जजहरूको सहभागिता प्रतियोगितालाई निष्पक्ष र उच्च स्तरीय बनाउन विदेशमा कार्यरत अनुभवी नेपाली सेफहरू पनि जजको रूपमा रहेका छन् । युएईबाट प्रतिनिधित्व गर्दै आएका जज ह्युमन लिम्बुका अनुसार यो प्रतियोगिता सिनियर सेफहरूबाट तालिम लिएका विद्यार्थीहरूका लागि आफ्नो प्रतिभा देखाउने ठुलो प्लेटफर्म हो।
निगमले सीआईटी र सञ्चयकोषको ५५ अर्ब कर्जा तिर्न सकेन
काठमाडौं । नेपाल वायुसेवा निगमले वाइड बडी तथा न्यारोबडी जहाज खरिदका लागि लिएको कर्जाको बढ्दै गएको छ । महालेखा परीक्षकको ६३ औँ प्रतिवेदनअनुसार निगमले कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई तिर्नुपर्ने कर्जा ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँ पुगेको छ । निगमले ए–३२० र ए–३३० जहाज खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट लिएको कर्जा समयमै भुक्तानी गर्न नसक्दा ब्याज दायित्व बढेर ५५ अर्ब रुपैयाँ नाघेको हो । प्रतिवेदनअनुसार निगमले नेपाल सरकारको जमानीमा २०७० चैत १४ गते कर्मचारी सञ्चय कोषबाट २२ अर्ब रुपैयाँ र २०७४ चैत २८ मा नागरिक लगानी कोषबाट १९ अर्ब रुपैयाँ गरी कुल ४१ अर्ब रुपैयाँ कर्जा लिएको थियो । तर, भुक्तानी तालिका बमोजिम साँवा–ब्याज नियमित रूपमा तिर्न नसक्दा दायित्व थप बढेको महालेखाले उल्लेख गरेको छ । हाल कर्मचारी सञ्चय कोषतर्फ निगमको दायित्व ३१ अर्ब २३ करोड १२ लाख ६१ हजार रुपैयाँ पुगेको छ भने नागरिक लगानी कोषतर्फ २१ अर्ब १७ करोड ५७ लाख रुपैयाँ पुगेको छ । महालेखाले निगमलाई भुक्तानी तालिका बमोजिम तत्काल कर्जा असुल गर्न ताकेतासमेत दिएको छ ।