फुटबल महानायक रोबर्टो कार्लोस एनएसएल क्वालिफायरमा वैशाख ६ गते नेपाल आउने
काठमाडौं । फुटबलका विश्व चर्चित डिफेन्डर र ब्राजिलका लिजेन्ड खेलाडी रोबर्टो कार्लोस वैशाख ६ गते नेपाल सुपर लिग (एनएसएल) को क्वालिफायर खेलमा विशेष अतिथिको रूपमा सहभागी हुने पक्का भएको छ । एनएसएलले वैशाख ६ मा आयोजना गर्न लागेको रोमाञ्चक क्वालिफायर खेलमा कार्लोसको उपस्थिति तय भएपछि नेपाली खेलप्रेमीहरूमा विशेष उत्साह थपिएको छ । ललितपुर सिटी एफसी र धनगढी एफसीबीच हुने उक्त खेल गत सिजनको फाइनलको पुनरावृत्ति हुनेछ । ललितपुर उपाधि रक्षा गर्ने लक्ष्यमा मैदान उत्रनेछ भने धनगढी पहिलो उपाधिको खोजीमा हुनेछ । रोबर्टो कार्लोस आफ्नो तीव्र फ्रिकिक, अद्वितीय गतिशीलता र विश्वस्तरीय डिफेन्स क्षमताका कारण विश्व फुटबलमा उच्च सम्मानित छन् । उनले रियल म्याड्रिड र ब्राजिल राष्ट्रिय टिमको तर्फबाट खेलेर फिफा विश्वकप, चार ला लिगा उपाधि र थुप्रै अन्तर्राष्ट्रिय सफलता हासिल गरेका छन् । कार्लोस वैशाख ५ गते नेपाल आउने छन् । सोही दिन उनले गाला डिनर, भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा समेत सहभागिता जनाउने कार्यक्रम रहेको छ । एनएसएलमा कार्लोसको उपस्थितिले नेपाली फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न थप सहयोग पुग्ने विश्वास गरिएको छ । एनएसएलको यो सिजन कार्लोसको आगमन, रोमाञ्चक खेलहरू र देशभरका शीर्ष खेलाडीहरूको सहभागितासहित अहिलेसम्मकै भव्य सिजन बन्ने अपेक्षा गरिएको छ । प्रशंसकहरूले खेल हेर्नको लागि खल्ती एपमार्फत टिकट खरिद गर्न सक्नेछन् ।
२६ वर्षपछि 'आयोडिनयुक्त नुन ऐन' कार्यान्वयनमा, स्वास्थ्य समस्या समाधानतर्फ बाटो खुल्यो
काठमाडौं । प्रकाशन भएको २६ वर्षपछि बल्ल 'आयोडिनयुक्त नुन उत्पादन तथा बिक्री वितरण ऐन, २०५५' कार्यान्वयनमा आएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले मन्त्रिपरिषदमा पेश गरेको प्रस्ताव वैशाख २ गतेको बैठकबाट पारित भएसँगै ऐन कार्यान्वयनमा आएको हो । यससँगै बालबालिकामा अत्यधिक आयोडिन सेवनबाट देखिएको स्वास्थ्य समस्या समाधानका लागि कानुनी आधार तयार भएको छ । ऐन कार्यान्वयनमा आएसँगै अब यस सम्बन्धी मापदण्ड परिमार्जन गर्न र निर्देशिका बनाउने बाटो खुलेको छ । यो ऐन २०५५ माघ १ गते राजपत्रमा प्रकाशन भएको थियो। तर, ऐन लागू गर्न आवश्यक 'कार्यान्वयन मिति' तोकिएको सूचना राजपत्रमा प्रकाशित नहुँदा अहिलेसम्म कानुनी रूपमा लागु भएको थिएन । अब भने २०८२ साउन १ गतेबाट लागू हुने गरी राजपत्रमा सूचना प्रकाशित गर्ने मन्त्रिपरिषदको निर्णय भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गत पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार, विगतमा बनेको मापदण्डले बालबालिकामा आवश्यकताभन्दा बढी आयोडिन पुग्दा गम्भीर स्वास्थ्य समस्या देखिएको थियो । सन् २०१६ मा मन्त्रालयले गरेको सर्वेक्षण अनुसार, ६ देखि ९ वर्षका बालबालिकाको पिसाबमा ३०० माइक्रोग्राम प्रतिलिटर हुनुपर्नेमा औसत ३१४ माइक्रोग्राम भेटिएको थियो । यसबाट उच्च रक्तचाप, थाइरोइडजस्ता समस्या देखिएको चिकित्सकहरू बताउँछन् । मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीका अनुसार, ऐन कार्यान्वयनमा नआएकाले मापदण्ड परिमार्जन गर्न, नियमन गर्न तथा समस्याको समाधान गर्न अप्ठ्यारो भएको थियो । अब भने स्वास्थ्य, कृषि र अन्य सम्बन्धित निकायहरू मिलेर आवश्यक कानुनी र व्यावहारिक काम गर्न सक्ने अवस्था आएको छ ।
चितवनमा सेवा विस्तार गर्दै ब्रेनब्रिज एजुकेसन, विद्यार्थीलाई छात्रवृत्ति दिने
काठमाडौं । काठमाडौंको मध्यबानेश्वरमा स्थापित ब्रेनब्रिज एजुकेसनले चितवनमा शाखा विस्तार गर्दै सेवा सुरु गर्ने भएको छ । विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई सही परामर्श र सहजीकरण प्रदान गर्दै आएको संस्थाले अब चितवनका विद्यार्थीलाई लक्षित गर्दै शाखा सञ्चालनमा ल्याएको हो । संस्थाकी अध्यक्ष अर्चना दवाडीका अनुसार चितवनमा विद्यार्थीले उच्च शिक्षाका लागि उपयुक्त गन्तव्य छनोट गर्न सहज होस् भन्ने उद्देश्यले शाखा विस्तार गरिएको हो । 'हामीले काठमाडौंमा जसरी विद्यार्थीलाई परामर्श दिइरहेका छौं, त्यसैगरी चितवनमा पनि उनीहरूको अध्ययन सपना पूरा गर्न सहजीकरण गरिनेछ,' अध्यक्ष दवाडीले बताइन् । उनका अनुसार चितवनमा पनि निःशुल्क भाषा शिक्षण कार्यक्रमहरू सञ्चालन गरिनेछ । आइइएलटिएस, पिटिइ, डिस्याट र ड्युलिङ्गो जस्ता तयारी कक्षाहरू काठमाडौंमा जस्तै निःशुल्क उपलब्ध हुनेछन्, जसबाट विद्यार्थीले आर्थिक बोझ नबोकी अध्ययनका लागि तयारी गर्न सक्नेछन् । अष्ट्रेलिया, युके, अमेरिका, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, न्यूजिल्याण्ड, आयरल्याण्ड लगायतका देशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिँदै आएको ब्रेनब्रिजले चितवनबाट सेवा दिन पाउँदा खुसी व्यक्त गरेको छ। त्यस्तै, संस्थाले चितवनमा प्लस टु तथा ब्याचलर्स तहमा अध्ययनरत विद्यार्थीलाई लक्षित गर्दै प्रत्येक वर्ष करिब १०० जनालाई छात्रवृत्ति उपलब्ध गराउने योजना पनि ल्याएको छ । यसका लागि केही समयपछि आवेदन खुला गरिनेछ । ब्रेनब्रिजले यो चितवनमा अहिलेसम्मकै ठूलो छात्रवृत्ति योजना भएको दाबी गरेको छ । 'यस छात्रवृत्तिबाट चितवनका विभिन्न शिक्षण संस्थामा अध्ययनरत विद्यार्थीहरू लाभान्वित हुनेछन्,' अध्यक्ष दवाडीले भनिन्, 'हामी देशका अन्य शहरहरूमा पनि शाखा विस्तार गर्दैछौं, र हरेक ठाउँमा विद्यार्थीका लागि समान अवसर सुनिश्चित गरिनेछ ।'