एनआईसी एशिया बैंकका सीईओ सुजित शाक्यले सम्हाले कार्यभार

काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुजित शाक्यले कार्यभार सम्हालेका छन् ।  गत सोमबार बैंकको सीईओमा नियुक्त भएका शाक्यले बिहीबार (आज) कार्यभार सम्हालेका हुन् । उनले नियुक्त भएकाे ३ दिनमा कार्यभार सम्हालेका हुन् । बैंक सञ्चालक समितिको कात्तिक १७ गते बसेको बैठकले सीईओमा शाक्यलाई नियुक्त गरेको थियो ।  यसअघि शाक्य नबिल बैंकको वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) रहेका थिए ।  उनी ४ वर्षका लागि एनआईसी एशिया बैंकको सीईओमा नियुक्त भएका हुन् । भारतको लखनउस्थित इन्स्टिच्युट अफ प्रोडक्टिभिटी म्यानेजमेन्टबाट पोस्ट ग्य्राजुएट डिप्लोमा इन बिजनेश म्यानेजमेण्ट गरेका शाक्यले सन् १९९६ मा नेपाल श्रीलङ्का मर्चेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका थिए । उनले जुलाई १९९७ देखि १२ अप्रिल २००५ सम्म हिमालयन बैंक, १३ अप्रिल २००५ देखि १७ जुलाई २००७ सम्म लक्ष्मी सनराइज बैंक, १० अक्टोबर २००७ देखि २९ जुन २०१३ सम्म साबिक बैंक अफ एशिया नेपाल, ३० जुन २०१३ देखि १२ फेब्रुवरी २०१७ सम्म एनआईसि एसिया बैंकमा काम गरेका थिए ।  यस्तै, उनले १ मार्च २०१७ देखि १६ अप्रिल २०१९ सम्म साबि सिभिल बैंक,  २२ अप्रिल २०१९ देखि ५ डिसेम्बर २०१९ सम्म साबिक जनता बैंक र डिसेम्बर २०१९ देखि अगस्ट २०२० सम्म ग्लोबल आइएमई बैंकमा काम गरेको अनुभव छ । नेपाली बैंकिङ क्षेत्रमा ३ दशकको कार्यानुभव भएका शाक्यले आधा दर्जन बढी संस्थामा काम गरेर आफ्नो दख्खलता देखाइसकेका छन् । १६ अगस्ट २०२० देखि हालसम्म भने उनी नबिल बैंकको डीसीईओको रूपमा कार्यरत थिए ।   

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरञ्जन फुँयाल

काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरञ्जन फुँयाललाई नियुक्त भएका छन् । कात्तिक १९ गते सम्पन्न कम्पनी सञ्चालक समितिको बैठकले फुँयाललाई चार वर्षका लागि सीईओ पदमा नियुक्त गरेको हो । उनले बुधबारदेखि नै कार्यभार समाल्नेछन् ।  

परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय

काठमाडौं । स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाको निर्देशकमा डा. मदनकुमार उपाध्याय नियुक्त भएका छन् । महाशाखा निर्देशक रहेका डा. विवेककुमार लाल भ्रष्ट्राचारको अभियोगमा विशेष अदालतमा मुद्धा दायर भएपछि उनी  निलम्बनमा परेका थिए । विवेककुमार निलम्बनपछि रिक्त निर्देशक पदमा डा. उपाध्याय नियुक्त भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्माले मंगलबार मन्त्रीस्तरिय निर्णय गर्दै डा. उपाध्यायलाई महाशाखाको निर्देशक पदमा जिम्मेवारी दिएको हो । डा. उपाध्याय वीर अस्पतालमा कार्यरत थिए ।