वैज्ञानिकले पानी हालेर बनाए जेलीजस्तो लचिलो ब्याट्री, खराबी आए आफै पनि ठीक हुनसक्ने
काठमाडौं । ब्याट्री सधैंजसो कडा र ठोस हुने गरेको छ । चाहे घडीमा प्रयोग हुने ब्याट्री होस् या तपाईंको स्मार्टफोनको, यी सबै कडा नै हुन्छन् । तर वैज्ञानिकहरूले अब यस्तो धारणा तोडेका छन् । रिपोर्टहरूका अनुसार उनीहरूले जेली वा रबरजस्तो लचिलो र मोड्न सकिने ब्याट्री आविष्कार गरेका छन् । विशेष कुरा के छ भने यस ब्याट्रीमा आफूलाई आफै मर्मत गर्ने क्षमता छ, अर्थात् खराबी आएमा पनि आफै ठीक हुन सक्छ । भनिएको छ कि यसलाई मोड्न सकिन्छ, चक्कुले काट्न सकिन्छ, तर पनि यसले काम गरिरहन्छ । वैज्ञानिकहरूले यसमा धेरै परीक्षण गरेका छन् र सबै सफल भएका छन् । रोचक कुरा त के छ भने यस ब्याट्रीमा ६० प्रतिशत पानी प्रयोग गरिएको छ। क्यालिफोर्निया विश्वविद्यालयको अद्भूत काम रिपोर्टहरू अनुसार क्यालिफोर्निया विश्वविद्यालय, बर्कलीका वैज्ञानिकहरूले यस्तो ब्याट्री बनाएका हुन् । यसलाई ५०० पटकसम्म चार्ज गरेपछि पनि यसको कार्यक्षमता प्रभावित हुँदैन । वैज्ञानिकहरू लामो समयदेखि यस्तो ब्याट्री निर्माण गर्ने प्रयासमा थिए, जुन विभिन्न तापक्रममा काम गर्न सक्ने र प्रयोग गर्न सजिलो होस् । अन्ततः उनीहरू यसमा सफल भएका छन् । केले बनाइयो ? बताइन्छ कि वैज्ञानिकहरूले जुन ब्याट्री बनाएका छन्, त्यो ज्वीटरआयोनिक पोलिमरबाट बनाइएको हो । स्मार्टफोनहरूमा कति उपयोगी हुन्छ भन्नेबारे वैज्ञानिकहरू अझ निष्कर्षमा पुगिसकेका छैनन् । पर्यावरणमैत्री ब्याट्री वैज्ञानिकहरूले बनाएको यो ब्याट्री वातावरणका लागि धेरै हानिकारक छैन । रिपोर्टअनुसार यो ब्याट्री क्यालिफोर्निया विश्वविद्यालय, जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी र हङकङ विश्वविद्यालय अफ साइन्स एन्ड टेक्नोलोजीका वैज्ञानिकहरूको संयुक्त प्रयासबाट बनाइएको हो । यससँग सम्बन्धित अनुसन्धान साइन्स जर्नलमा प्रकाशित गरिएको छ । एक महिनासम्म जलाइयो एलइडी लाइट वैज्ञानिकहरूले यो ब्याट्रीलाई एलइडी लाइटसँग जडान गरेर परीक्षण गरेका थिए । बताइन्छ कि ब्याट्रीले एक महिनाभन्दा बढी समयसम्म राम्रोसँग काम गरिरह्यो । उनीहरूले जुन प्रविधि प्रयोग गरेका थिए, त्यो सफल भएको देखियो । दाबी गरिएको छ कि यो ब्याट्री अहिलेको लिथियम–आयन ब्याट्रीभन्दा अझ राम्रो छ किनकि यो क्षति हुनबाट जोगिन सक्छ । यसमा पानीजस्ता वातावरणमैत्री तत्व प्रयोग गरिएको छ । ब्याट्रीमा पानीको प्रयोग बताइन्छ कि ब्याट्री बनाउन वैज्ञानिकहरूले ज्वीटरआयोनिक पोलिमर प्रयोग गरेका छन् । यस पोलिमरमा सकारात्मक र नकारात्मक दुवै चार्ज हुन्छन् । यी पोलिमर पानीका अणुसँग बाँधिने क्षमता राख्छन् । सकारात्मक चार्जले पानीका अणुहरूलाई आकर्षित गर्छ भने नकारात्मक चार्जले लिथियम आयनहरूलाई । यसरी पानी ब्याट्रीभित्र राखिएको हुन्छ र भोल्टेज प्रयोग गर्दा लिथियम आयन बाहिरिने सम्भावना कम हुन्छ । वैज्ञानिकहरूले ब्याट्रीमा एस्रीलीक एसिड र फ्लोरिन फ्री लिथियम साल्ट बेस हाइड्रोजेल इलेक्ट्रोलाइट पनि मिसाएका छन् ।
अष्ट्रेलियामा बेरोजगारी दर बढ्यो, रोजगारीमा पनि मन्दी
काठमाडौं । अष्ट्रेलियामा बेरोजगारी दर बढ्दै गएको सरकारी तथ्याङ्कले देखाएको छ । अष्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार, मार्च महिनामा देशको बेरोजगारी दर ४.१ प्रतिशत पुगेको छ, जुन फेब्रुअरीमा ४.० प्रतिशत थियो । एबीएसले बेरोजगारी दरमा देखिएको वृद्धिलाई मौसमी उतारचढावसँग जोडेको छ । यसअघि लगातार पाँच महिना बेरोजगारी दर ४.० प्रतिशतमै स्थिर रहेको थियो । यद्यपि, पछिल्लो १२ महिनामा अष्ट्रेलियामा रोजगारीमा रहेका व्यक्तिको संख्या ३ लाख ८ हजारले बढेको देखिएको छ, जुन वृद्धि दर ९२.२ प्रतिशत हो । यो दर महामारीपूर्वको २० वर्षको औसत वृद्धिदर (२ प्रतिशत) भन्दा धेरै हो । फेब्रुअरीदेखि मार्चको बीचमा मात्रै ३२ हजार २०० नयाँ रोजगारी सिर्जना भएको भए पनि बेरोजगार व्यक्तिहरूको संख्या पनि ३ हजारले बढेको एबीएसको प्रतिवेदनमा उल्लेख छ । एबीएसका श्रम तथ्याङ्क प्रमुख सीन क्रिकका अनुसार, मार्चमा रोजगार–जनसंख्या अनुपात ६४.१ प्रतिशत रहेको छ । उनले रोजगारीमा वृद्धिका बाबजुद काम गर्ने घण्टामा ०.३ प्रतिशतको गिरावट आएको उल्लेख गर्दै त्यसको कारण चक्रवातजस्ता मौसमी घटनाहरू भएको बताए । रोजगारी सिर्जनामा केही सुधार देखिए पनि बेरोजगारी दरमा आएको वृद्धिले अष्ट्रेलियाको श्रम बजारमा अस्थिरता देखाएको छ । साथै, काम गर्ने घण्टामा कमी आउनु पनि सम्भावित आर्थिक मन्दीको संकेतको रूपमा लिइएको छ ।
संसारमा पहिलो पटक हुँदैछ 'स्पर्म रेस', एचडी क्यामेराबाट सुट, लाइभसमेत हुने
काठमाडौं । अमेरिकाको लस एन्जलसमा एक अनौठो कार्यक्रमको आयोजना हुन लागेको छ । त्यहाँको हलिवुड प्यालेडियममा शुक्राणु दौड (स्पर्म रेसिङ) को आयोजना गरिन लागिएको हो । यो आफ्नै प्रकारको पहिलो र संसारकै अनौठो कार्यक्रम बन्नेछ । एक माइक्रोस्कोपिक ट्र्याकमा दुईवटा शुक्राणु स्याम्पलबीच प्रतिस्पर्धा गराइनेछ । एचडी क्यामेराले शुक्राणुको गतिविधिलाई कैद गर्नेछ र जुन शुक्राणुले पहिला फिनिश लाइन पार गर्नेछ, उसलाई विजेता घोषणा गरिनेछ । तपाईंले यो इभेन्टलाई मजाक सम्झिन सक्नुहोला तर स्पष्ट छ- यो विज्ञानको हिसाबले डिजाइन गरिएको एक माइक्रो-एथलेटिक प्रतियोगिता हो । ट्र्याक कस्तो हुनेछ ? यो रेसका लागि विशेष प्रकारको ट्र्याक तयार पारिएको छ । मानव प्रजनन प्रणालीको नक्कल गर्दै ट्र्याक डिजाइन गरिएको हो । यसमा फ्लुड डायनामिक्स (तरल पदार्थको प्रवाह), रासायनिक संकेतहरू र सही टाइमिङको ख्याल राखिएको छ । साथै एचडी क्यामेराको सहयोगमा दर्शकहरूले प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन् । सामान्य खेलकुदको झैं यहाँ पनि कमेन्ट्री, रिप्ले आदिको प्रयोग गरिनेछ जसले इभेन्टलाई अझ रोमाञ्चक बनाउनेछ । दौड कसरी हुन्छ त ? दौडमा दुईवटा शुक्राणु स्याम्पल प्रयोग गरिनेछ । जसको शुक्राणु पहिले फिनिश लाइन पार गर्छ, त्यो स्याम्पल विजेता हुने छ । यो रेस इभेन्टमा दर्शकहरूले आफूले मन पराएको स्याम्पलमा बाजी (सट्टा) समेत लगाउन सक्नेछन् । यसैले यो कुनै पनि हिसाबले अन्य खेलकुद कार्यक्रमभन्दा कम हुँदैन । दर्शकहरूले यसलाई प्रत्यक्ष स्ट्रिमिङमार्फत पनि हेर्न सक्नेछन् । के हो यसको उद्देश्य ? यो इभेन्ट आयोजना गर्नुको पछाडि एउटा ठूलो उद्देश्य छ । स्पर्म रेसिङ नामक कम्पनीले यो दौड आयोजना गर्न लागेको हो । कम्पनीको भनाइअनुसार उनीहरू यस रेसमार्फत यस्तो मुद्दालाई उजागर गर्न चाहन्छन्, जसबारे धेरैले खुलेर कुरा गर्न चाहँदैनन् । विशेषगरी पुरुषहरूको प्रजनन क्षमतासम्बन्धी चेतना फैलाउने उद्देश्य राखिएको छ । कम्पनीका अनुसार विगत ५० वर्षमा विश्वभर पुरुषहरूको शुक्राणु गणनामा ५० प्रतिशत गिरावट आएको छ । स्पर्म रेसिङ टोली भन्छ– शुक्राणु संख्या तपाईंको स्वास्थ्यको ठूलो सूचक हो । फन्डिङको छैन कमी यो रेसको लागि पूँजीको कुनै अभाव छैन । आयोजकहरू अहिलेसम्म १० लाख डलर (१ मिलियन डलर) को फन्डिङ उठाइसकेका छन् । फिगमेन्टजस्ता कम्पनीहरूले यसमा लगानी गरेका छन् । आयोजकहरूको भनाइअनुसार धनी र सेलिब्रेटीहरू पनि यो इभेन्टमा सहभागी हुन सक्नेछन् । यस रेसलाई एक हजार मानिसले प्रत्यक्ष (अफलाइन) र हजारौंले अनलाइन हेर्न सक्नेछन् । कुनै गम्भीर मुद्दालाई जनचेतनाको रूपमा प्रस्तुत गर्न यो अहिलेसम्मकै अनौठो र सफल प्रयास बन्नेछ । यसले पुरुष प्रजनन क्षमतालाई बहसको विषय बनाउन सफल भएको स्पष्ट हुन्छ ।