७१ वर्षमा शिक्षामन्त्री पुनले गराए मतदाता नामावलीमा नाम दर्ता
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । उमेरले ७१ वर्ष पुगेका उनले काठमाडौंको नयाँ बानेश्वरमा गएर मतदाता नामावलीमा नाम दर्ता गराएका हुन् । सामाजिक सञ्जाल फेसबुकमा नामदर्ता गराउँदै गरेको फोटो राख्दै वलीले नामदर्ता गराएको जानकारी गराएका हुन् । उनले आफू २१ गते हुने निर्वाचनका लागि तयारीमा रहेको बताउँदै मन्त्री पुनले १८ वर्ष पुगिसकेका सबै नेपालीलाई नाम दर्ता गराउन आग्रह गरेका छन् । फेसबुकमा उनले लेखेका छन्, ‘अब आउने सरकार जेनजी पुस्ताको बन्नुपर्छ, बुढो पुस्ताले देशलाई समृद्ध बनाउन सक्दैनन्, यो कुरा समयान्तर ध्रुवसत्य सावित भइसक्यो त्यसैले अब सबै उमेर पुगेका जेनजी भाइबहिनीहरूले नाम दर्ता गराउनुहोला ।’
सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण
दोधारा चाँदनी । सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ । विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन सय ८० बिघा जग्गा क्याम्पसलाई प्रदान गरेको भए पनि क्याम्पसले हालसम्म ८० बिघामात्र भोगचलन गर्न पाएको छ । तीन सय बिघा जमिन मुक्तकमैया तथा सुकुम्बासीका नाममा अतिक्रमण भएको छ । अतिक्रमित जग्गा फिर्ता ल्याउनका लागि विश्वविद्यालयले पटकपटक सङ्घ र प्रदेशसरकारसमक्ष आग्रह गरे पनि सुनुवाइ नभएको उपकुलपति पन्तले दुखेसो गरे । हालै विश्वविद्यालय कार्यकारी परिषद्ले निर्णय गरेर अतिक्रमित जग्गा फिर्ता ल्याउन उच्चस्तरीय छानबिन आयोग गठनको माग गरेको छ । विश्वविद्यालयको जग्गा अतिक्रमण गरेकालाई विभिन्न राजनीतिक पार्टीको संरक्षण भएकाले हटाउन समस्या भएको हो ।
सशस्त्र प्रहरी अस्पतालमा नर्सिङ अध्ययन सुरु, दक्ष जनशक्ति उत्पादन गर्ने
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्य उपचारको क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित नेपाल एपीएफ अस्पताल बलम्बुमा ‘एपीएफ नेपाल इन्स्टिच्यूट अफ हेल्थ साइन्सेस्’ सञ्चालनमा ल्याएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले मंगलबार उक्त इन्स्टिच्युटको उद्घाटन गर्दै नर्सिङ कोर्षको सुरुआतले सशस्त्र प्रहरीको स्वास्थ्य सेवा र चिकित्सा शिक्षा क्षेत्रमा नयाँ आयाम थपेको बताए । उनले नर्सिङ पेसा स्वास्थ्य सेवा क्षेत्रको मेरुदण्डका रुपमा रहेको तथा स्वास्थ्यकर्मीहरूलाई आधुनिक, विशेषज्ञ, व्यावसायिक सीप प्रदान गर्नुको साथै मानवीय सेवाप्रति समर्पित बनाउन थप मद्दत पुग्ने बताउनुभएको सशस्त्र प्रहरी बलका सह-प्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । महानिरीक्षक अर्यालले स्वास्थ्य र शैक्षिक क्षेत्रसँग सम्बन्धित विषयलाई सधैँ प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गर्दै भविष्यमा मेडिकल कलेज समेत सञ्चालन गर्ने योजना रहेको सुनाए । नेपाल एपीएफ अस्पतालका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक डा. रुपक महर्जनले इन्स्टिच्युटमार्फत आगामी दिनहरूमा थप शैक्षिक कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । सशस्त्र प्रहरी कल्याणकारी सेवा केन्द्रबाट सञ्चालित उक्त इन्स्टिच्युटलाई गत वैशाखमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) ले आशयपत्र र साउनमा सम्बन्धन दिएको थियो । शैक्षिक सत्रदेखि प्रविणता प्रमाणपत्र तह (नर्सिङ) अध्ययन सुरु गरेको इन्स्टिच्युटमा हालसम्म सःशुल्कतर्फ ३६ र छात्रवृत्तितर्फ ३ गरी ३९ जना विद्यार्थी भर्ना भएका छन् ।