हातका औंला काँपिरहेका छन् । क्यामेराको सटर थिच्ने यी औंला आज किबोर्ड थिच्न मानिरहेका छैनन् । तर, कतिपय भिडियो र तस्बिरमा कैद हुन नसकेका विषयलाई शब्दजालले सहयोग गरिदिँदा रहेछन् । मैले कतै पढेको थिएँ, ‘हजारौं शब्द एउटै तस्बिरले बोल्छ ।’ तर, म त्यही तस्बिर खिच्ने मान्छे आज कनिकुथी शब्द खेलाएर सन्देश दिँदैछु ।
उसो त आन्दोलन मलाई झर्को लाग्छ । सकेसम्म देश शान्त रहोस्, हामी सबै सुखी र खुसी रहूँ भन्ने मनोकांक्षा सबैको हुन्छ । तर, सबैको आकांक्षा, चाहना र मनसाय कहाँ एउटै हुँदो रहेछ र ! विगतमा विभिन्न उश्रृङ्खल गतिविधि गरेर जनतालाई भड्काउँदै आएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा काठमाडौंको तीनकुनेमा राजावादी समर्थकको प्रदर्शन हुने खबर सुनियो । आन्दोलन नहोस् भन्ने चाहना भएपनि हामी फोटो/भिडियो पत्रकारको काम त्यहाँ पुग्नै पर्ने । समाचार त फोनबाट सोधेर पनि लेख्न सकिन्छ होला तर फोटो र भिडियोका लागि भने फिल्डमा दगुर्नै पर्ने ।
यही बाध्यता, विवशता र आफ्नो कामप्रतिको धर्म र इमानदारिताले पनि म १५ गते हुने गणतन्त्रवादी अर्थात् समाजवादी मोर्चा नेपाल र राजावादीले गर्ने प्रदर्शनको रिपोर्टिङका लागि १४ गतेदेखि नै खटिएँ । १४ गते राति ११ बजे प्रदर्शनी मार्गमा पुगेर विकासन्यूजको फेसबुक पेजबाट त्यहाँको तयारीको विषयमा प्रत्यक्ष प्रसारण गरें । धमाधम स्टेज निर्माणको काम हुँदै थियो । ठाउँ-ठाउँमा माइक राखिँदै थिए । गणतन्त्रवादीको प्रदर्शन १५ गते भव्य र सभ्यका साथ हुन सक्ने आँकलन मैले त्यतिखरै गरें । मञ्च व्यवस्थापन तथा अन्य तयारी गरिरहेकाहरुसँग कुराकानी गर्दा महसुस गरेको कुरा थियो त्यो ।
प्रदर्शनी मार्गको तयारीको अवस्थामा अपडेट सकाएपछि तीनकुनैतर्फ लागें । साथमा सहकर्मी महेश पौडेल पनि हुनुहुन्थ्यो । हामीबीच भोलि अर्थात् १५ गते हुने राजावादी र गणतन्त्रवादीहरूको प्रदर्शन कस्तो होला ? भन्ने कुरा बाटोमा चलिरह्यो । हामी तीनकुने पुग्यौं । पत्रकारिता पढेको र गरिरहेको हिसाबले पनि मलाई कुनै पनि समूह वा व्यक्तिप्रति पूर्वाग्रही हुनु हुँदैन । समाचार सामग्रीहरू सन्तुलित हुनुपर्छ भन्ने थोरबहुत ज्ञान छ । यही विषयलाई महसुस गर्दै हामी प्रदर्शनी मार्गको लाइभ सकेर तीनकुने पुगेका थियौं ।
तीनकुनेमा पनि राजावादीले धमधाम तयारी गर्दै थिए । त्यहाँ पुगेर पनि साढे ११ बजे लाइभ गरें । प्रदर्शनी मार्गजस्तै मैले त्यहाँ पनि तयारी गरिरहेकाहरूसँग कुराकानी गरें । भोलिको राजावादीको प्रदर्शन उश्रृङ्खल बन्न सक्ने आँकलन मैले त्यतिखेरै गरें । १५ गतेको प्रदर्शनीका लागि तोकिएको कमाण्डर दुर्गा प्रसाईंले नेतृत्व गर्ने जत्थाले के-कतिसम्म र कस्तो हर्कत देखाउँछन् भन्ने कुरा जोकोहीले पनि सहजै पूर्वानुमान लगाउन सक्छन् । मैले पनि त्यहाँ कुराकानी गर्दा त्यस्तै महसुस गरें ।
मैले १५ गते हुने गणतन्त्रवादी र राजावादीहरूको प्रदर्शनीमध्ये राजावादीको प्रदर्शन रोजें । केही चुनौतीपूर्ण र सकसपूर्ण हुने भएपनि फोटो पत्रकारका लागि मुडभेड र आन्दोलन तस्बिर खिच्न उद्देलित नै गर्छ । यो मेरो भोगाइ हो । स्टेजमा बोलिरहेका नेताहरूका तस्बिर खिच्नुभन्दा सडकमा उफ्रिन सक्ने राजावादीको तस्बिर र भिडियोहरू चर्चामा आउन सक्ने आत्मबोध गर्दै म तीनकुनेतर्फ लागें । सहकर्मी बटुराज गिरी गणतन्त्रवादीको प्रदर्शनीको कभरेज गर्न गए ।
फोटो पत्रकारिता यस्तो काम हो जति गरेपनि जस्तो गरे पनि आत्मसन्तुष्टि नहुने । तस्बिरको तिर्खा लागिरहने । भइरहेको कामलाई थप गरौं भन्ने चाहना हुने । एउटा फोटो खिचिसकेपछि अर्को राम्रो फोटो आउँछ कि भनेर थप लालायित बनिहाल्ने । यही चाहना र लोभले कामको शिलशिलामा सँगसँगै फिल्डमा भेटिरहने फोटो पत्रकार दाई सुरेश रजकको काम गर्दागर्दै ज्यान गयो । यो विषयमा एकछिन पछि कुरा गर्छु ।
चैत १५ गते बिहान ११ बजे नै सुरु हुने भनिएको राजावादीको प्रदर्शन साढे ११ बजिसकेको थियो सुरु हुने छाँटकाट थिएन । साढे ११ बजेसम्म सीमित प्रदर्शनकारी मात्रै तीनकुने आइपुगेका थिए । केही समयपछि एउटा समूह चाबहिल र अर्को समूह कोटेश्वरबाट र्याली निकाल्दै तीनकुनेमा आइपुग्यो । तीनकुनेमा हुने भनिएको प्रदर्शन फिल्ड नै वेवास्ता गर्दै बानेश्वरतर्फ लम्कियो ।
सञ्चारकर्मीहरूले प्रदर्शनकारीहरूसँग कुराकानी गर्न थाल्यौं । उनीहरु भन्दै थिए, ‘मिडियामा बोलेर केही हुँदैन, जाऔं बानेश्वरमा सुरक्षाकर्मीले लगाएको बार भत्काऔं ।’ उनीहरूको रफ्तार बढ्दै गयो । १४ गते राति राजावादीको आन्दोलन अराजक बन्न सक्छ भन्ने जुन आँकलन मैले गरेको थिएँ, त्यहाँको हाउभाउले पनि त्यस्तै देखाउँदै थियो ।
शान्तिनगरको गेटमा सुरक्षाकर्मीले बार लगाएका थिए । पहिलो घेरामा प्रहरी र दोस्रो घेरामा सशस्त्र प्रहरी तैनाथ थिए । राजावादी उग्र बन्दै गए । जसरी पनि त्यो बार भत्काउने होडमा उनीहरू थिए । सुरक्षाकर्मीले यो प्रदर्शनले उग्ररूप लिन सक्ने अनुमान गरेका हुन सक्छन्, त्यतिबेलै प्रहार भयो, ‘अश्रुग्यास’ । त्यही अश्रुग्यास अभिशाप बन्यो । राजावादी थप उग्र बने । सरकारले आफ्नो कार्यक्रम भाँड्न खोजेको आरोप लगाए । निरन्तर अश्रुग्यास प्रहार भएपछि राजावादीका समर्थक तितरबितर बने ।
आन्दोलन साम्य बन्यो । अब राजावादी समर्थक छिन्नभिन्न भएको र घर लागिसकेको अनुमान सुरक्षाकर्मीले लगाए । तैनाथ भएका सुरक्षाकर्मी केही घटे । तर, त्यति नै बेला त्यो प्रदर्शनका कमाण्डर दुर्गा प्रसाईंसँगै रविन्द्र मिश्र, धबलशमशेर राणा लगायत नेताहरू तीनकुनेमा प्रवेश गरे । तितरबितर भइसकेका समर्थकलाई कार्यक्रमस्थलमा आउन उनीहरूले निर्देशन दिए । नडराएर अगाडि बढ्न ढाडस दिए ।
नेताहरूको त्यो ढाडसपछि आन्दोलनकारीहरू थप उत्साहित बने । अनि सुरु भयो ढुङ्गामुढाको वर्षा । प्रदर्शनकारीले ढुङ्गामुढा हान्ने र सुरक्षाकर्मीले अश्रुग्यास प्रहार गर्ने शिलशिला निरन्तर चलिरह्यो । हामी ती गतिविधिलाई निरन्तर क्यामेरामा कैद गरिरह्यौं ।
प्रदर्शन थप उग्र बन्दै थियो । केहीले यही घरबाट हो अश्रुग्यास प्रहार भएको भन्दै त्यस घरतर्फ ढुङ्गामुढा गर्न थाले । अहिले सामाजिक सञ्जालमा जुन घरको तस्बिर र भिडियोहरू भाइरल भइरहेका छन्, त्यही घर राजावादीका समर्थकको टार्गेटमा पर्यो । त्यो घरमा निरन्तर ढुङ्गामुढा बर्सिए । केहीले एमालेका नेता महेश बस्नेतको घर भने । केहीले ठूलो व्यवसायीको घर भने एक कान दुई कान हुँदै सिसाको त्यो घर ओडारजस्तो बन्यो । प्रदर्शनकारीले घरको सटर तोडेरभित्र पसे । माथिबाट सामान खसालेर तल फ्याँक्न थाले । सुरक्षाकर्मी त्यहाँ गएर प्रर्दशनकारीलाई तह लगाउने साहस गरिरहेको थिएन । सुरक्षाकर्मी नै घाइते भइसकेका थिए । केहीको बन्दुक पनि प्रदर्शनकारीले खोसिसकेका थिए । सुरक्षाकर्मी टुलुटुलु हेर्न बाहेकको विकल्प रोज्न सकिरहेका थिएनन् ।
भित्रको सामान निरन्तर तल खसालिँदै थियो । माथिबाट सामान खसालेको र तलको भीड देखाउने लोभले मसहित फोटो पत्रकार स्वर्गीय सुरेश रजक र अन्य दुई जना फोटो पत्रकार त्यही ढुङ्गा बर्सिरहेको घरभित्र छिर्यौं । भित्रको माहोल शब्दले बताइनसक्नु थियो । सीमित मोमेन्टहरू क्यामेरामा कैद भएका छन् । तर, धेरै हर्कतहरू स्मृतिमा छचल्किरहेका छन् ।
घरभित्र छिरेका केही प्रदर्शनकारीहरूले केहीले खल्ती त केही झोला भरिरहेका भिडियो तपाईंहरूले हेरिसक्नु भएको छ । ती भिडियो र तस्बिरहरू अहिले सामाजिक सञ्जालमा भाइरल नै छन् । मैले पनि मेरो क्यामेरामा एकजनाले कोठाबाट ल्यापटप लिएर बाहिरिँदै गएको भिडियो कैद गरें । मानवनता देखाउँदै ती व्यक्तिलाई यस्तो काम नगर्न सुझाव दिएँ । अहँ, तर त्यतिधेरै भित्र छिरेका प्रर्दशनकारीकासामु हामी दुई/तीन जना पत्रकारको केही चलेन । म खिच्दै थिएँ । प्रदर्शनकारी आएर भिडियो डिलिट गर्न धम्की दिए । क्यामेरा फुटाइदिने चेतावनी दिए । त्यतिखेरै एक जना फोटो पत्रकार म नजिक आएर उनीहरूलाई उल्टै हप्काए । हाम्रो काम यही हो, तिमीहरू के गर्न सक्छौ भनेर आक्रोश पोखेपछि हतास हुँदै हतार–हतारमा उनीहरू सामान बोक्दै बाहिर लागे ।
त्यतिबेलासम्म अरू पत्रकार घर बाहिर पुगिसकेका थिए । म भिडियो खिच्दै थिएँ । एभिन्यूजका स्व. सुरेश रजक पनि तोडिएको झ्यालबाट बाहिरिको भिडियो खिच्दै थिए । प्रदर्शनकारीहरूले माथि सिभिल प्रहरी छ भनिरहेका थिए । म छतमा जाने बाटोको खोजीमा लागें । छत जाने बाटो बन्द थियो । च्यानल गेटमा ताला लागेको थियो । जुन अहिले भित्र कोठामा सामान चोरिरहेको दृश्य तपाईंहरूले देखिरहनु भएको छ, त्यहाँभित्र जाने ढोक्का बन्द थियो, झ्याल फुट्टाएर उनीहरू भित्र पसेका थिए ।
स्व. सुरेश त्यहीँ नजिक थिए । उनले कसैलाई फोनमा भन्दै थिए- ‘दाई मेरो भाइबर एड गर्नुहोस्, म एकदमै खतरा ठाउँमा छु ।’ उनी बोलिरहेको भिडियो मसँग पनि छ । त्यसपछि उहाँ म भिडियो खिच्दै गरेको ठाउँबाट अगाडि जानुभयो । बाहिरबाट प्रदर्शनकारीको ढुङ्गा प्रहार रोकिएको थिएन । म अब बाहिर जाने योजनामा थिएँ । अन्तिम पटक माथिबाट बाहिरको भिडियो लिने सोंच बनाएँ ।
छेउमै पुगेर बाहिरको भिडियो खिच्दै थिएँ । मेरो पछाडि आल्मुनियमको बार खसेर म फर्किने बाटो बन्द भयो । म त्यसबाट सहजै बाहिर निस्किने अवस्था थिएन । मैले त्यहाँ चोरिहेका आन्दोलनकारीलाई मद्दत माँगें । उनीहरू आएनन् । केही टाढा रहेका एक जना परिचय नभएका हातमा क्यामेरा भिडेका साथी म कहाँ आएर आल्मुनियम उठाउने प्रयास गरें, आल्मुनियम फोड्ने कोसिस गरें । अहँ, उनले सकेनन् । केही समयपछि एक/दुई जना मिलेर आल्मुनियम हटाएर म त्यहाँबाट निस्किएँ ।
घरमा आगो दन्किसकेको थियो । हामी माथि एक्सक्लुसिभ फुटेज र तस्बिरको लोभमा थियौं । सुरेशजी भिडियो खिच्नमै व्यस्त थिए । केही मिनेट आल्मुनियमले सताएको मलाई त्यहाँ बस्न कत्तिभर पनि मन लागेन । सडकबाट केहीले तल झर आगो माथि पुगिसक्यो भनेको आवाज मेरो कानमा ठोक्कियो । म हतार-हतारमा तल झर्दै थिएँ । अगाडि तिनै स्व. सुरेश रजक थिए । मैले उनलाई हतास–हतासमा भनें, ‘दाई आगो नजिकै आइसक्यो रे ! झरौं तल ।’ उनले जवाफमा मसँग भने, ‘म खिच्दैछु ।’
म तल झर्दै गर्दा एउटा कोठामा अर्का प्रदर्शनकारी ल्यापटप चोर्दै थिए । मैले उनको भिडियो खिँचें । उनलाई त्यो ल्यापटप त्यहीँ राख्न आग्रह गरें । उनी सडकमा फाल्ने भन्दै बाहिर दौडिएँ । म पनि उनलाई पछ्याउँदै बाहिरिएँ । आगोको मुस्लो थियो । क्यामराको लेन्सले उनलाई थप कैद गर्न सकेन । त्यतिसम्म बाहिरबाट भित्र जान सक्ने अवस्था थिएन । ढुङ्गामुढा निरन्तर बर्सिरहेका थिए । आगोले अराजक रूप लिँदै थियो । धुवाँको मुस्लोले मान्छेहरूलाई नदेख्ने अवस्था बनिरहेको थियो ।
मलाई थाहा थियो, माथि पत्रकार सुरेश रजक छन् । म नजिकै रहेका प्रहरीकहाँ गएर भित्र एक जना पत्रकार रहेको सुनाएँ । ती प्रहरी अधिकारीले वाकीटकीमा कुरा गरेजस्तो गरेर उभिएको ठाउँबाट उता सरे । फेरि आए उताबाट आएर ती प्रहरीले मलाई सोधे– माथि कति जना छन् ? मैले भने ‘एक जना ।’
त्यहीबेलै एभिन्यूजकै अर्का पत्रकारले आफ्नो सहकर्मी माथि नै रहेको प्रहरीलाई सुनाए । मैले भर्खर फोन गरेको उहाँले माथि नै छु भन्नु भएको छ, उहाँको उद्धार गर्नु परेको भन्दै ती पत्रकारले प्रहरीसँग बिन्ती बिसाउँदै थिए । अहँ, प्रहरीले वाकीटकीमा बोल्ने बाहेकको काम गर्न सकेन ।
आगो दन्किदै थियो । साइरन बजाउँदै दमकल आयो । अब पत्रकार सुरेशको उद्धार हुने झिनो आशा पलायो । तर, प्रदर्शनकारीले दमकललाई बस्न दिएनन्, आगो निभाउन दिएनन् । दमकलमाथि नै उनीहरूले ढुङ्गामुढा गरे । विडम्बना, पत्रकार सुरेश रजकले भित्रै ज्यान गुमाउनु पर्यो ।
दिनभरको थकित ज्यानलाई बिसाउन साँझ ७ बजे बागबजारमा रहेको कार्यालयमा आइपुगें । दिनभरको आफूले भोगेको र देखेको अनुभूतिहरू सम्पादक सरलाई सुनाएँ । उहाँले त्यतिबेलै ब्लग लेख्न सुझाउनु दिनुुभयो । मैले आँट गरिनँ । क्यामेराको बटन थिच्ने बानी परेको म ल्यापटपको किबोर्ड थिच्न उत्साह आएन । तर, आज तीन दिनपछि कनिकुथी मनको बह पोखें । अहिले पनि लागिरहेको छ, यदि मैले तल झरौं भनेको बेला सुरेश दाईले सँगै आइदिएको भए उनको ज्यान बच्थ्यो कि !
उच्च शिक्षाका लागि हुम्लाबाट काठमाडौं आइयो बाध्यताबस् पत्रकारिता पेसामा छिरेको म अहिले यही पेसा आदत बन्यो । धेरैले भन्छन्, ‘आफ्नो ज्यानलाई चुनौतीमा राखेर काम नगर ।’ तर, काम गर्ने बेला ज्यानको प्रवाह नहुँदो रहेछ । सुरेश दाईले पनि एउटा एक्सक्लुसिभ फुटेजको लोभमा आफ्नो ज्यानलाई आगोमा जलाए । हार्दिक श्रद्धाञ्जली सुरेश दाई !