काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) चुडामणि चापागाईंले नियुक्ति पत्र बुझेका छन् । राजस्व सचिव दिनेशकुमार घिमिरेले उनलाई नियुक्ति पत्र प्रदान गरेका हुन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको नयाँ सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभव बटुलेका अनुभवी व्यक्तित्व हुन् । उनले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसकेका छन् ।
यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सीईओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित भएन । लुइँटेल पर्यटन व्यवसायीसमेत भएकाले उनको नाम सिफारिस गर्दा आलोचना हुन सक्ने सम्भावना देखिएपछि मन्त्रिपरिषद्ले पुनः चापागाईंलाई नयाँ सीईओ नियुक्त गरेको हो ।
नेप्सेको सीईओ पद माघ २५ गतेदेखि रिक्त रहेको थियो ।