काठमाडौं । नेपालमा जैविक कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यका साथ जनता एग्रो एण्ड फरेष्ट्री र थाइल्यान्डको प्रमुख शैक्षिक संस्था कसेस्टार्ट विश्वविद्यालयबीच ऐतिहासिक सहकार्यको घोषणा भएको छ ।
अप्रिल २ मा सम्पन्न सम्झौतामा कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा। कृत वोन–इनल र जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन गोल्यानले हस्ताक्षर गरेका छन् । यस सहकार्यले नेपालको कृषि क्षेत्रमा नवीनतम जैविक प्रविधिहरू भित्र्याउने, कृषकहरूको क्षमता अभिवृद्धि गर्ने, र उत्पादन वृद्धिमा टेवा पुर्याउने लक्ष्य राखेको छ ।
जनता एग्रो एण्ड फरेष्ट्रीले नेपालमा गरीरहेको जैविक खेतीलाई अझ व्यवस्थित बनाउन कसेस्टार्ट विश्वविद्यालयको वैज्ञानिक अनुसन्धान, उन्नत प्रविधिहरू, तथा नवीनतम कृषि विधिहरूको उपयोग गर्नेछ । सहकार्यअन्तर्गत जैविक खेतीका अत्याधुनिक प्रविधिहरू, उन्नत जातका बिरुवाको व्यवस्थापन, फसल उत्पादन वृद्धि, गुणस्तर सुधार तथा नवप्रवर्तनका क्षेत्रमा गहन अध्ययन र तालिम कार्यक्रम सञ्चालन गरिनेछ ।
सम्झौतापछि जनता एग्रो एण्ड फरेष्ट्रीका अध्यक्ष पवन कुमार गोल्यानले भने, 'यो साझेदारी नेपालको कृषि क्षेत्रमा आमूल परिवर्तन ल्याउने महत्वपूर्ण कदम हो । विश्वविद्यालयको विशेषज्ञता प्रयोग गरी कृषकहरूलाई आवश्यक उपकरण, प्रविधि, तथा ज्ञान उपलब्ध गराइनेछ, जसले उत्पादन वृद्धिसँगै दीर्घकालीन कृषि सुधार सम्भव बनाउनेछ ।'
यसैगरी, कसेस्टार्ट विश्वविद्यालयका उपाध्यक्ष डा. कृत वोन–इनले भने, 'हाम्रो मिशन दिगो कृषि ज्ञानको विस्तार गर्नु हो । जनता एग्रोसँगको यो सहकार्य जैविक कृषिमा नयाँ युगको सुरुवात हुनेछ, जसले नेपालमा कृषि उत्पादनलाई नविनतम प्रविधिहरूसँग जोड्नेछ ।'
सहकार्यअनुसार कसेस्टार्ट विश्वविद्यालयले जनता एग्रोलाई माटो परीक्षण, जैविक कीट व्यवस्थापन, मूल्य अभिवृद्धि, र उत्पादकत्व सुधारका लागि आवश्यक प्रविधि तथा अनुसन्धान उपलब्ध गराउनेछ । साथै, दुवै संस्थाबीच तालिम, कार्यशाला, तथा अनुभव आदानप्रदान हुने गरी नियमित कार्यक्रमहरू सञ्चालन गरिनेछन् ।
जनता एग्रो एण्ड फरेष्ट्रीले नेपाली जैविक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। थाइल्याण्डका लगानीकर्तासँगको सहकार्यमा नेपाली कृषि उत्पादनलाई वैश्विक स्तरमा चिनाउन विभिन्न कार्यक्रमहरू सञ्चालन गरिंदै छन् ।
यो सहकार्यले नेपाललाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउँदै जैविक उत्पादन निर्यात वृद्धि गर्ने तथा विदेशी मुद्रा आर्जन गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ । साथै, कृषि प्रविधिमा नविनतम रूपान्तरणमार्फत नेपालका कृषकहरूको जीवनस्तर उकास्न यस सहकार्यले महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ ।