१८ दिन बितिसक्दा पनि अगाडि बढेन नागढुंगा सुरुङमार्गको निर्माण कार्य

काठमाडौं । नागढुंगा सुरुङमार्गको निर्माण कार्य ठप्प भएको १८ दिन भइसकेको छ। स्थानीयको आन्दोलनका कारण नागढुंगा सुरुङमार्गको निर्माण कार्य अझै सञ्चालनमा आउन नसकेको नागढुंगा सुरुङ मार्ग आयोजनाले जनाएको छ । 

स्थानीयहरूले विभिन्न ८ वटा माग राख्दै सुरुङमार्गको निर्माण क्षेत्रमा धर्नासहित आन्दोलन गर्दै आएका थिए ।आयोजना प्रमुख सञ्जय पन्थीका अनुसार स्थानीयहरूले सुरुङमार्गको निर्माण कार्य सुरु भएयता १०-१२ पटक आन्दोलन गर्दै आएका छन् । 

निर्माण कार्य विगत १८ दिनदेखि बन्द अवस्थामा रहेको उनले जानकारी दिए । आन्दोलनका कारण टनेलमा जारी रहेको भुइँ ढलान, एप्रोच सडक, फ्लाई ओभर, पहिरो नियन्त्रणको लागि वालिङ्ग (ल्याण्ड साइड प्रोटेक्सन) उठाउने कामलगायत सडकको निर्माण कार्य पूर्णरूपमा ठप्प रहेको उनको भनाइ छ । 

उनले भने, ‘हामीले हाम्रोतर्फबाट हुने सबै प्रयास गर्याैं । तर पार लागेन । हामीले निर्माण कार्य सुचारु गराउन सकेनौं । आज निर्माण कार्य बन्द भएको १८ दिन भइसक्यो । अब सरकारले नै मिलाउँला ।’

स्थानीयहरूले ८ वटै मागहरू पूरा गर्नुपर्ने भन्दै अडान गरिरहेका प्रमुख पन्थीले बताए।स्थानीयहरुको आन्दोलनका कारण निर्माण कार्य बन्दा हुँदा जापनिज कम्पनीको हाजमा एण्डो कर्पोरेशनले दैनिक ५० लाख रुपैयाँको दरले क्षति भएको भन्दै आयोजनासँग १८ दिनको ९ करोड रुपैयाँ हर्जना माग गरेको आयोजनाले जनाएको छ ।

प्रमुख पन्थीले स्थानीयहरूले दीर्घकालीन रूपमा निः शुल्क खानेपानीको व्यवस्था गर्नुपर्ने, भत्काइएका घरको क्षतिपूर्ति दिनुपर्ने, आयोजनामा स्थानीयहरूलाई रोजगारी दिनुपर्नेलगायतका मागहरू अघि सार्दै आएको बताए । 

उनले भने, ‘हामीले पटक-पटक समय दिनूहोस्, समाधान गरौंला भन्यो तर उनीहरूले मानेन । यसै वर्षभित्र काम सक्ने भनेका थियौं । यी नै बाधा अवरोध कारण काममा ढिलो भइरहेको छ ।’ उक्त आयोजनामा १५ जापानीसहित ३ सय नेपाली काम गरिरहेको आयोजनाले बताएको छ ।

खानेपानीका लागि पहल भइरहेको जानकारी दिए । उनका अनुसार खानेपानी मन्त्रालयबाट उक्त ठाउँमा आयोजना सिफारिस भइसकेको छ । स्थानीयहरूले खानेपानी मात्रै नभएर अरू विभिन्न मागहरूको पनि जिम्मा लिनुपर्ने अडान लिँदै आएका छन् । उनीहरूले आफ्ना माग सरकारले सम्बोधन नगरेसम्म आन्दोलन जारी रहने चेतावनी दिँदै आएका छन् ।

Share News