काठमाडौं । हाल जारी एनसेल नेपाल सुपर लिग (एनएसएल) सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।
यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै गुणस्तरीय शिक्षाका लागि योगदान पु¥याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ ।
मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भइसकेको छ । यसरी वितरण हुने सामग्रीहरुमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरुको सिकाइ अनुभव सुधार गर्न योगदान पु¥याउने लक्ष्य राखेको छ ।
एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यस अघि नेपाल प्रिमियर लिग (एनपीएल) का दौरान, फाउनडेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चत गरेको थियो ।
त्यसअनुसार, एनपीएलका ६५३ चौकाहरूबापत फाउन्डेसनले कुल २,६१२ शैक्षिक सामग्रीहरू वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई ५ हजारभन्दा बढी शैक्षिक सामग्रीहरू वितरण गरिसकेको छ ।
एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ । यो पहलमार्फत फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र सकारात्मक सामाजिक परिवर्तन र सामुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको स्पष्ट पार्दछ ।