काठमाडौं । मकवानपुरको छुट्टा छुट्टै स्थानमा आज भएको आगलागीमा करिब १० लाख मूल्य बराबरको क्षति भएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका–५ छबेलीस्थित बहुउद्देश्यीय प्लास्टिक उद्योग (नेपाली सेनाले हेण्ड ग्रिनेड बनाउने ठाउँ) को जवान ब्यारेकमा आगलागी हुँदा करिब साढे ८ लाख मूल्य बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक ललिता ढकालले जानकारी दिए ।
विद्युत् सर्ट भई आगलागी हुँदा ब्यारेकमा रहेका नेपाली सेनाका लत्ताकपडा, फर्निचर, कागजात तथा दराज जलेर नष्ट भएको प्रहरी निरीक्षक ढकालले बताए ।
हेटौंडा उपमहानगर पालिकाको वारुणयन्त्र, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा आएको प्रहरी निरीक्षक ढकालको भनाइ छ । हेटौंडा उपमहानगरपालिका–१२ स्थित आल्दमार सुवेदी टोल निवासी पुरुषोत्तम ढुङ्गानाको गाई गोठमा आज आगलागी हुँदा करिब १ लाख ६५ हजार मूल्य बराबरको क्षति भएको छ ।