नागरिक उन्मुक्ति र जनमत पार्टीबीच एकता अन्तिम चरणमा, अध्यक्षमा सिके, सह अध्यक्षमा रञ्जिता

काठमाडौं । तराई-मधेस केन्द्रित दुई राजनीतिक दल जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच पार्टी एकीकरण करिब अन्तिम चरणमा पुगेको छ । एकता प्रक्रियालाई टुङ्ग्याउन दुवै पक्षका नेताहरू पछिल्ला दिनमा सघन छलफलमा छन् । दुवै पार्टीलाई एकीकरण गरेर राष्ट्रिय मुद्दा र जन सवाललाई सशक्त रूपमा उठाउने गरी एकताका लागि पहल गरिएको नेताहरू बताउँछन् । 

दुवै पार्टीले एकीकरणका लागि गठन गरेका कार्यदलले विभिन्न चरणमा बैठक बसी सहमतिको विन्दु पहिल्याउन कसरत गरिरहेका छन् । कार्यदल र शीर्ष नेतृत्व तहमा चरणबद्ध छलफल भइरहेको नेताहरूले बताएका छन् । 

जनमत पार्टीका उपाध्यक्ष अब्दुल खानले पार्टी एकीकरणलाई अन्तिम रुप दिन आन्तरिक र बहुपक्षीय छलफल तीव्र रूपमा भइरहेको र आगामी वैशाख १५ भित्रै पार्टी एकीकरणको घोषणा गर्ने गरी संवादमा भइरहेको बताए । 

‘आगामी वैशाख १५ भित्र एकता प्रक्रियालाई टुङ्गोमा पुर्याउने गरी छलफल भइरहेको छ,’ जनमतका तर्फबाट गठित कार्यदलका संयोजकसमेत रहेका उनले भने, ‘नयाँ बन्ने पार्टीको नाम, झण्डा, चुनाव ‘फाइनल’ भइसकेको छ । हाल पार्टीको विधान लेख्ने काम भइरहेको छ, पार्टीको पदाधिकारी टुङ्ग्याउन मात्र बाँकी छ ।’

संयोजक खानका अनुसार वैशाखको पहिलो सातामा आ-आफ्नो केन्द्रीय समितिबाट एकीकृत विधान पारित गरिने र दोस्रो साता पार्टी एकीकरणको घोषणा गरिनेछ । पार्टी एकीकरणका लागि दुई महिना यता नेताहरूले कसरत गरिरहेका छन् । दुवै दलले कार्यदल गठन गरेपछि यो प्रक्रियाले तीब्रता पाएको छ । 

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टी एकीकरण प्रक्रियालाई चाँडै टुङ्ग्याउने गरी छलफल भइरहेको जानकारी दिइन् । उनले कार्यदल तहमा छलफल भइरहेको र कार्यदलको निचोडलाई अन्तिम रूप दिइने बताइन्। 

‘पार्टी एकीकरणलाई टुङ्गो लगाउन कार्यदल तहमा छलफल भइरहेको छ, त्यहाँको निर्णयअनुरुप दुवै पार्टीका शीर्ष नेताहरूले पार्टी एकीकरणलाई अन्तिम रूप दिनेछौँ,’ अध्यक्ष श्रेष्ठले भनिन् । 

जनमत पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले पनि पार्टी एकीकरण प्रक्रिया करिब अन्तिम चरणमा पुगेको बताए । 

‘पार्टी एकीकरणका लागि दुवै पार्टीबाट गठित कार्यदलको बैठक र छलफल चलिरहेको छ । केही कुरा मोटामोटी सहमति पनि भइसकेको छ, उदाहरणका रूपमा पार्टीको नाम, नेतृत्व र पदाधिकारीको विषयमा करिब सहमति बनिसकेको छ । बाँकी विषयलाई कार्यदलको तहबाट चाँडै टुङ्ग्याएर पार्टी एकीकरणलाई पूर्णता दिइनेछ,’ उनले भने । 

प्रारम्भिक समझदारीअनुसार पार्टीको नाम, पार्टीको झण्डा, पार्टीको नेतृत्वमा पनि करिब सहमति बनिसकेको जनाइएको छ । एकीकरणपछि बन्ने पार्टीको अध्यक्षमा हालको जनमत पार्टीका अध्यक्ष सिके राउत र सह अध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ रहने नेताहरूले दाबी गर्छन् । 

‘हामी पार्टी एकीकरणमा प्रवेश गरिसक्यौँ, पार्टीको नाम, झण्डा, चुनाब चिह्न, अध्यक्षसहितका पदाधिकारीमा मोटामोटी सहमति भइसकेको छ । सचिवालय, केन्द्रीय समितिलगायत पार्टीको तल्लो तहका संरचना विस्तारै मिलाउँदै जान सकिन्छ,’ कार्यदल सदस्यसमेत रहेका जनमत पार्टीका प्रवक्ता डा शरदसिंह यादवले भने । 

जनमत पार्टीले नागरिक उन्मुक्ति पार्टीसँग एकीकरणका लागि गत फागुनको तेस्रो साता कार्यदल गठन गरेको थियो भने नागरिक उन्मुक्ति पार्टीले हालै कार्यदल बनाएको छ । जनमत पार्टीका तर्फबाट गठित कार्यदलमा उपाध्यक्ष खानको संयोजकत्वमा पार्टी प्रवक्ता डा यादव र बाल गोविन्द चौधरी सदस्य छन् । यस्तै, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट नेता गङ्गा राम चौधरीको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलमा सुनिता चौधरी र रामलाल डगौरा थारू सदस्य छन् । 

पार्टी एकीकरण भएपछि पहिचानवादी शक्ति, आदिवासी जनजाति समुदायहरू एकताबद्ध भएर आफ्ना मुद्दालाई बलियो बनाउन सकिने अपेक्षा रहेको जनमत पार्टीका प्रवक्ता डा यादवले बताए । 

विसं २०७५ मा सिके राउतको नेतृत्वमा जनमत पार्टी र विसं २०७८ पुस १९ गते नागरिक उन्मुक्ति पार्टी गठन भएको थियो । सो पार्टीको अध्यक्ष रञ्जिता श्रेष्ठ छिन् । जनमत र नाउपाले २०७९ को प्रतिनिधिसभा र प्रदेशसभामा पहिलोपटक भाग लिएका थिए । हाल संसद्मा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका ४ सांसद रहेका छन् ।

Share News