काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्याण्डका उद्योगी तथा व्यवसायीसँग छलफल गर्दै नेपालमा लगानी गर्न आह्वान गरेका छन् ।
बिहीबार बिहान भएको छलफलमा प्रधानमन्त्री ओलीले नेपाल-थाइल्याण्डबीचको सौहार्दपूर्ण सम्बन्ध, आर्थिक सहकार्य र लगानीका अवसरहरूबारे जानकारी गराएका थिए । उनले नेपालले लगानी सुरक्षाका लागि कानुनी सुधारहरू गरेको बताउँदै थाइल्याण्डका व्यवसायीहरूलाई शिक्षा, स्वास्थ्य, प्रविधि र कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीले नेपाल र थाइल्याण्ड कहिल्यै उपनिवेश नबनेको र समान रूपमा गरिबी निवारणको प्रयास गरेको उल्लेख गर्दै थाइल्याण्डको प्रविधि र विकास मोडेल नेपालका लागि उपयोगी हुन सक्ने बताए ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालका अनुसार थाइल्याण्डका व्यवसायीहरूले विशेष गरी शिक्षा, स्वास्थ्य र प्रविधि क्षेत्रमा लगानी गर्न चाहेको जनाएका छन् ।
पर्यटनका लागि पनि थाइल्याण्डसँग बलियो सम्बन्ध रहेको र बौद्धमार्गी थाइल्याण्डवासीहरू बुद्ध जन्मभूमि लुम्बिनी भ्रमण गर्न चाहने भएकाले पर्यटनमा थप लगानीको सम्भावना रहेको प्रधानमन्त्री ओलीले बताए ।
सरकारले लगानी मैत्री कानून र अनुकूल वातावरण तयार पारेकोले थाइल्याण्डका व्यवसायी नेपालमा आकर्षित हुन सक्ने विश्वास गरिएको छ ।