काठमाडौं । वन तथा वातावरण मन्त्रालयअन्तर्गत जलवायु परिवर्तन व्यवस्थापन महाशाखाका प्रमुख डा. महेश्वर ढकालले नेपालले जलवायु परिवर्तनसम्बन्धी रणनीति बनाउँदा भारत र चीनको नीति अनुसार अघि बढ्नुपर्ने सुझाव दिएका छन् ।
काठमाडौंमा आयोजित यातायात डिकार्बोनाइजेसनसम्बन्धी छलफल कार्यक्रममा बोल्दै उनले नेपालको जलवायु नीति दातृ निकायहरूको प्रभावमा बढी महत्वाकांक्षी बनेको टिप्पणी गरे ।
डा. ढकालका अनुसार भारतले सन् २०७० र चीनले सन् २०६० मा कार्बन न्यूट्रल लक्ष्य लिएको अवस्थामा नेपालले सन् २०४५ को लक्ष्य राख्नु व्यावहारिक नहुने बताए । नेपालको नीति वास्तविक धरातलमा आधारित हुनु आवश्यक छ ।
उनले एनडिसी (राष्ट्रिय निर्धारित योगदान) का लक्ष्यहरू दातृ निकायहरूको प्रभावमा परेर बढी महत्वाकांक्षी बनाइएको गुनासो गरे । उनका अनुसार, सरकारले धान्न सक्ने र नेपाली समाजले आत्मसात् गर्न सक्ने व्यावहारिक लक्ष्यहरू निर्धारण गर्नुपर्ने आवश्यकता छ ।
डा. ढकालले इलेक्ट्रिक सवारीमा सहुलियत दिने नीति धनी वर्गलाई मात्र फाइदा पुग्ने गरी अघि बढिरहेको बताउँदै सार्वजनिक यातायातलाई प्राथमिकता दिनुपर्नेमा जोड दिए । राजस्वको वैकल्पिक स्रोत खोजी नगरी हचुवा नीति लिने हो भने विद्युतीय सवारी प्रवर्द्धनको नाममा व्यावहारिक समस्याहरू आउन सक्ने उनको तर्क छ।
नेपालको जलवायु रणनीतिलाई छिमेकी मुलुकहरूको रणनीतिसँग समायोजन गर्दै अन्तर्राष्ट्रिय वित्तीय सहयोगको व्यवहारिक दृष्टिकोण राख्नुपर्ने उनको धारणा छ ।