काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले मेयर बालेन शाहलाई प्रत्यक्ष रूपमा समस्याको समाधान गर्न आग्रह गरेकी छन् । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंको हाजिरी विषयमा उत्पन्न विवाद संवादमार्फत हल गर्नुपर्ने उनको धारणा छ ।
डंगोलका अनुसार कर्मचारीको हाजिरी प्रक्रियामा भएको झडप नगरपालिकाको लागि सकारात्मक संकेत होइन । उनले भनिन्, 'मन्त्रालयबाट पठाइएको अधिकारीलाई अवरोध गर्नु राम्रो होइन । कर्मचारीबीचको विवाद समाधान गर्नुपर्छ ।'
उनले थप अनुसन्धान आवश्यक भए कानुनी प्रक्रियाअनुसार अघि बढ्नुपर्ने बताइन् । 'हजारौँ कर्मचारी र लाखौँ काठमाडौंवासी यस विवादका कारण सास्ती भोगिरहेका छन् । क्यान्सरपीडितलाई आवश्यक सहयोगसमेत रोकिएको छ । काम अवरुद्ध गरिनुहुँदैन, ' उनले भनिन् ।
उपमेयर डंगोलले मेयर शाहको प्रत्यक्ष संलग्नता आवश्यक भएको भन्दै उनले कोठामा बसेर मात्र आदेश दिन नमिल्ने बताइन् ।
'यदि यो मेयरको निर्णय हो भने, उहाँ आफै अघि आउनुपर्छ। आदेश मात्र होइन, समस्याको समाधान प्राथमिकता हुनुपर्छ, ' उनले भनिन् ।
उनले समस्याको समाधान नगरी बोर्ड बैठक बस्न नहुने बताइन् । तत्काल समस्या समाधान गरेर मात्रै बोर्ड बैठक बस्न्पर्ने उनको भनाइ छ ।
यसबीच तीन महिनादेखि मेयर शाहले कार्यकारी अधिकृत गुरागाईंलाई हाजिर गर्न नदिँदा कर्मचारीहरूको तलबसमेत रोकिएको छ । आज कार्यालय पुग्दा कर्मचारीहरूले गुरागाईंलाई स्वागत गरे पनि कार्यकक्षमा तालाबन्दी भएका कारण उनी कार्यालय प्रवेश गर्न सकेनन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गुरागाईंलाई काठमाडौं महानगरपालिकामै हाजिर गर्ने वातावरण बनाइदिन भन्दै एक महिनाअघि पत्र पठाएको थियो । मन्त्रालयले उनलाई पुनः प्रमुख प्रशाकीय अधिकृतमा नियुक्त गर्न महानगरलाई पत्र पठाइसकेपछि बिहीबार बिहान उनी महानगरपालिकामा हाजिर गर्न पुगेका थिए ।
महानगरपालिकामा देखिएको यो विवादको निकास कहिले र कसरी निस्कन्छ भन्ने प्रतीक्षा नगरवासीले गरिरहेका छन् ।