काठमाडौं । १०३ दिनपछि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले काठमाडौं महानगरपालिकामा हाजिर गरेका छन् । गुरागाईं कार्यालय प्रवेश गर्दा केहीबेर तनाव सिर्जना भएको थियो ।
मेयर बालेन शाहको निर्देशनमा महानगर प्रहरीको टोलीले उनलाई कार्यालय प्रवेश गर्न रोक्ने प्रयास गरेको थियो । तर, कर्मचारीहरूले प्रतिरोध गर्दै गुरागाईंलाई कार्यकक्षसम्म पुर्याए ।
गुरागाईंलाई कार्यकक्षमा प्रवेश गर्न नदिएपछि कर्मचारीहरूले ढोका फोड्ने प्रयास समेत गरे । बिहीबार कार्यालय पुगेका उनलाई रोक्न महानगर प्रहरी खटाइएको थियो, तर कर्मचारीहरूकै समर्थनमा गुरागाईं कार्यकक्षभित्र प्रवेश गर्न सफल भए ।
गुरागाईं गत पुस ७ देखि बिदामा बसेका थिए । त्यसपछि निमित्त प्रमुख प्रशासकीय अधिकृत गोविन्दप्रसाद शर्माले राजीनामा दिएपछि महानगर प्रमुख प्रशासकीय अधिकृतविहीन बनेको थियो ।
प्रशासकीय अधिकृत नहुँदा महानगरका कर्मचारीहरूले तलब समेत नपाएको गुनासो गर्दै आएका थिए । आर्थिक कारोबार र प्रशासनिक काम अवरुद्ध भएपछि कर्मचारीहरू आक्रोशित बनेका छन् ।