बाढीपहिरोबाट क्षतिग्रस्त सडक निर्माण गर्न १६ अर्बको ठेक्का आह्वान

सरकारले बाढी पहिरोबाट क्षतिग्रस्त रहेका १३ वटा सडकहरूको निर्माणका लागि ठेक्का आह्वान गरेको छ । सडक विभागका अनुसार गत असोजको मध्यतिर आएको अविरल वर्षाका कारण क्षतिग्रस्त बनेका २६ वटा आयोजनामध्ये १३ वटा आयोजना अर्थात् सडक आयोजनाहरुको ठेक्का खोलिएको हो । 

यद्यपि १३ वटा पुलको ठेक्का हुन केही समय लाग्ने विभागले जनाएको छ ।

आयोजनाको ‘डिजाइन र निर्माण अर्थात डिजाइन एण्ड बिल्ड निर्देशिका’ २०८१ प्रधानमन्त्रीको कार्यालयबाट स्वीकृत नहुँदा पुलको ठेक्का आह्वान हुन ढिलाइ भइरहेको विभागका महानिर्देशक रामहरि पोखरेल बताउँछन् । 

उनका अनुसार केही डकुमेन्टहरूमा समस्या देखिएकाले पुलको ठेक्का तत्काल लगाउन नसकिएको हो । 

महानिर्देशक पोखरेलले भने, ‘आयोजनाको डिजाइन र निर्माणको डकुमेन्टमा केही समस्याका कारण प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा लामो समयदेखि रोकिएको छ । त्यसैले डिजाइन एण्ड बिल्ड निर्देशिका २०८१ उक्त कार्यालयले स्वीकृति गरेको छैन । स्वीकृति हुने बित्तिकै पुलको ठेक्का आह्वान गछौं ।’ 

उनले यो तयार हुन ७०-८० दिन लाग्ने जानकारी दिए ।
 
बीपी राजमार्गको ४ सडकखण्डमध्ये ३ वटा प्याकेजको ठेक्का खोलिएको विभागका सूचना अधिकारी अमितकुमार शर्माले बताए । उनका अनुसार कुल क्षतिग्रस्त २९.५ किलोमिटर सडक दुई लेनमा विस्तारसहित पुनःर्निर्माण गरिनेछ ।

उक्त सडक पुनर्निर्माणका लागि सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ ३ वटा प्याकेजमा विभाजन गरी ठेक्का आह्वान सुरु गरिएको सूचना अधिकारी शर्माले जानकारी दिए ।

हालसम्म सिन्धुलीतर्फ एउटा र काभ्रेतर्फ दुइटा गरी तीन वटा प्याकेजको ठेक्का आह्वान भइसकेको छ । सबै प्याकेजमा ठेक्का आह्वान गरिएको मितिबाट ३० दिनको समयभित्र निर्माण कम्पनीले आवेदन दिनुपर्ने उल्लेख छ । 

गत फागुन २८ गते पहिलो प्याकेज सिन्धुलीतर्फको नेपालथोक–बर्खेखोला खण्डको ठेक्का आह्वान भइसकेको छ । जसको लम्बाई करिब ५ किलोमिटर छ । त्यस्तै, दोस्रो प्याकेज काभ्रेखण्डको डालाबेसीदेखि चार सय बेसीसम्मको ठेक्का आह्वान भएको छ । साढे ८ किलोमिटर खण्डमा चैत ५ मा ठेक्का आह्वान भएको सडक विभागले जनाएको छ ।

चार सय बेसीदेखि भकुन्डेबेसीको ११ किलोमिटर खण्डको चैत ७ गते ठेक्का आह्वान भइसकेको छ । साथै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले निर्माण गर्न चासो देखाएको हुनाले अब बाँकी रहेको एउटा प्याकेज जाइकाले निर्माण गर्नेबारे छलफल भइरहेको सडक विभागले जनाएको छ । 

डालाबेसीदेखि बर्खेखोलासम्मको करिब ५ किलोमिटर दूरीको अन्तिम प्याकेज जाइकालाई पुनःनिर्माण गर्न दिइने तयारी छ ।

यस्तै, अरनिको राजमार्ग, थानकोट चित्लाङ, मेची राजमार्ग, कान्ति राजमार्गलगायत क्षतिग्रस्त सबै राजमार्ग निर्माणका लागि ठेक्का आह्वान भएको  सूचना अधिकारी शर्माले जानकारी दिए ।

null

गत असोज दोस्रो साता परेको अविरल वर्षासँगै आएको बाढीले क्षतिग्रस्त सडक तथा पुल पुनर्निर्माणका सरकारले करिब १९ अर्ब बजेटको स्रोत सहमति प्रदान गरिसकेको छ । सडक तथा पुल गरी यस्ता २६ वटा आयोजना पुनःनिर्माणका लागि १८ अर्ब ८८ करोड रुपैयाँको स्रोत सहमति प्रदान गरेको थियो । 

यसमध्ये १३ वटा सडक र १३ वटा पुल पुनर्निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले अर्थ मन्त्रालयसँग बजेट माग गरेको थियो । सोहीअनुसार मन्त्रालयले उक्त बजेटमा स्रोत सहमति गरेको हो ।

बीपी राजमार्गलाई साढे आठ अर्ब बजेट स्रोत सुनिश्चितता दिइएको छ । मेची राजमार्गका लागि ६० करोड बजेट स्रोत सुनिश्चितता भएको छ ।

वैकल्पिक तीन सडकका लागि १ अर्ब १५ करोड बजेट

सरकारले वैकल्पिक तीन सडकका लागि १ अर्ब १५ करोड बजेट छुट्याएको छ । कार्भेको भकुन्डेबेसी–तिमाल–सिन्दुरेटार, दोलखाको किर्नेटार–जाफे र थानकोट–चित्लाङ तीन वैकल्पिक सडक हुन् । 

यी सडकका लागि १ अर्ब १५ करोड माग गरिएको थियो । यसमध्ये भकुण्डे–तेमाल–सिन्दुरेटार सडक पुनःनिर्माणका लागि ४५ करोड स्रोत सुनिश्चित भइसकेको विभागले जनाएको छ ।

किर्नेटार-जाफे सडकका लागि ४५ करोड र थानकोट.चित्लाङ सडकका लागि २५ करोड बजेट सुनिश्चितता भएको थियो ।

null

Share News