नेपाल र थाइल्यान्डका व्यवसायीको संयुक्त भेटवार्तामा नेपालमा लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौं । थाइल्यान्डको औपचारिक भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीले थाइल्यान्डका व्यवसायीहरूसँग बिहीबार बैंककमा भेटवार्ता गरेका छन् ।

भ्रमण दलमा सहभागी नेपाली व्यवसायी प्रतिनिधिमण्डलसमेत सहभागी भएको उक्त भेटमा प्रधानमन्त्री ओलीले नेपाल लगानीको लागि उर्वर भूमि भएको उल्लेख गर्दै थाई व्यवसायीहरूलाई नेपालमा लगानी गर्न आग्रह गरेका छन् । 

प्रधानमन्त्री ओलीले थाई व्यवसायीहरूलाई नेपालमा लगानीमैत्री वातावरण निर्माणको लागि आवश्यक थुप्रै कानुनहरू संशोधन तथा परिमार्जन गरिएकोे साथै सरकारले लगानीको सुरक्षाको प्रत्याभूति दिने बताएका थिए ।

उनले नेपालमा लगानीका अवसर र सम्भावनाका बारेमा निजी क्षेत्रको धारणा बुझ्न तथा निजी क्षेत्रसँग सहकार्य गरेर नेपालमा लगानी गर्न सकिने बताए ।

यस्तै, भ्रमणदलमा सहभागी नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा कानुनमा सुधार गर्दै लगानी मैत्री वातावरण निर्माण भएको, विदेशी मुद्रा सञ्चिति राम्रो रहेको र लगानीको लागि सहज वातावरण रहेको उल्लेख गर्दै उत्पादन पछिको बजारका लागि भारत र चीन जस्ता ठूला जनसंख्या भएका छिमेकी मुलुक रहेकोले नेपालमा लगानी गर्दा थाई व्यवसायीहरुले त्यो सभावनाबाट फाइदा लिन सक्ने बताए ।

उनले नेपालमा पर्यटन, ऊर्जा, कृषि, सूचना प्रविधि तथा निर्माणजन्य उद्योगमा  सम्भावना रहेको जानकारी गराएका छन् । 

प्रधानमन्त्री ओलीको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल यहीं चैत १९ गतेदेखि २३ गतेसम्म थाइल्याण्डको औपचारिक भ्रमण तथा बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन थाइल्याण्डको राजधानी बैंककमा रहेको छ । 

नेपाल र थाइल्याण्डबिच बुधबार मात्र २ वटा सरकारी र ६ वटा गैरसरकारी गरी ८ ओटा सम्झौतामा हस्ताक्षर भएको छ ।

Share News