पानी उद्योगमा छैनन् प्रयोगशाला, २० वटा दर्ता भएपनि सञ्चालनमा १२ मात्रै

काठमाडौं । दाङका पानी उद्योगमा प्रयोगशाला नभएको पाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका अनुसार दाङमा सञ्चालित पानी उद्योगहरूमा प्रयोगशाला नभएको पाइएको हो । 

प्रयोगशाला नभएपछि तत्काल प्रयोगशाला सञ्चालनमा ल्याउन निर्देशन समेत गरिएको डिभिजनका सूचना अधिकारी विवेक कुमार सुवेदीले बताए । 

‘हामीले दाङका सबै पानी उत्पादन तथा प्रशोधन उद्योगमा अनुगमन गर्यौं । ती उद्योगमा प्रयोगशाला नभएपछि तत्काल प्रयोगशाला सञ्चालन गरेर प्रमाणसहित कार्यालयमा जानकारी दिन भनेका छौँ,’ उनले भने । 

उनका अनुसार प्रयोगशाला नहुँदा उपभोक्तामा कस्तो पानी गएको छ, भन्ने कुरा थाहा हुँदैन । जसले गर्दा बेला-बेलामा उपभोक्तामा अशुद्ध पानी समेत जाने गरेको भन्दै यसलाई तत्काल सञ्चालनमा ल्याउन भनेको सूचना अधिकारी सुवेदीले बताए । 

प्रशोधित पिउने पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ अनुसार प्रयोगशालाको व्यवस्था गर्नुपर्ने उल्लेख गरेको छ । यदि प्रयोगशाला नराखेको सन्दर्भमा प्रत्येक महिनामा एक पटक प्रशोधित तथा अप्रशोधित पानीको भौतिक तथा रासायनिक विश्लेषण मान्यता प्राप्त प्रयोगशालाबाट गराउनुपर्ने कुरा उल्लेख छ । तर, यो कुरामा पानी उद्योगले ख्याल नगरेको उनको भनाइ छ ।

उद्योगहरूले 'आरो मेसिन’बाट पानी प्रशोधन गरेर सिधै बजार पठाउने गरेका छन् । तर, मेसिनमा केही समस्या आएमा त्यो पानी शुद्ध छ की छैन भनेर प्रयोगशालामा मात्रै परीक्षण गरेर बजार पठाउनुपर्ने भए पनि त्यसो हुन सकेको छैन ।

जिल्लामा हाल १२ वटा पानी उद्योग सञ्चालनमा छन् । तीमध्ये उपभोक्तामा दूषित पानी गएपछि तुलसीपुर-९ स्थित भद्रकाली ड्रिङ्किङ वाटर (कुबेर जल) ले भने प्रयोगशाला सञ्चालनमा ल्याएको सूचना अधिकारी सुवेदीले बताए । 

अन्यले भने अझै पनि सञ्चालनमा ल्याएका छैनन् । ती सबै उद्योगलाई प्रयोगशालाको व्यवस्था गर्न लिखित निर्देशन गरिएको उनको भनाइ छ । जिल्लामा २० वटा पानी उद्योग दर्ता भए पनि सञ्चालनमा भने १२ वटा मात्रै छन् । 

Share News