प्रधानमन्त्रीले ओलीले आज बिम्स्टेक शिखर सम्मेलनलाई सम्बोधन गर्ने, ४ बजे नरेन्द्र मोदी भेट्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहु क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौँ शिखर सम्मेलनलाई आज सम्बोधन गर्ने भएका छन् । उनीसहित सदस्य मुलुकका सरकार प्रमुखहरूले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

शिखर सम्मेलनको पहिलो कार्यसूचीमा ‘बिम्स्टेक मारिटाइम ट्रान्सपोर्ट कोअपरेसन’मा हस्ताक्षर गर्ने रहेको छ । आयोजक राष्ट्र थाइल्याण्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्ले स्वागत सम्बोधन गरेपछि कार्यसूची प्रस्तुत गरिने छन् । तत्पश्चात् बङ्गलादेश, भुटान, भारत, म्यानमार, नेपाल र श्रीलङ्काका प्रधानमन्त्री (प्रतिनिधिमण्डलका नेता)हरुबाट सम्बोधन हुनेछ । 

सम्बोधनपछि कार्यसूचीहरू पारित हुनेछन् भने आयोजक मुलुकका प्रधानमन्त्री शिनावात्ले पत्रकार सम्मेलन गर्ने कार्यक्रम छ । सम्मेलनमा दिवा भोजपछि स्थानीय समयअनुसार अपरान्ह ४ बजे प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच दुई पक्षीय भेटवार्ता हुनेछ । 

यी सबै कार्यक्रमहरू बैङ्कक स्थित होटल साङ्‌ग्रिलामा हुने छन् । थाइल्याण्डको पहिलो औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री ओली बिम्स्टेक शिखर सम्मेलनमा सहभागी भएका हुन् । 

बिम्स्टेक सम्मेलन सकिएपछि प्रधानमन्त्री ओली आज साँझ थाइल्याण्ड स्थित नेपाली दूतावासले आयोजना गर्ने स्वागत समारोहमा सहभागी हुनेछन् । प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक विकास सल्लाहकार डा युवराज खतिवडा, मुख्यसचिव एक नारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईलगायत छन् । 

Share News