यात्रु नभएपछि आएन जहाज, उडान अवरुद्ध

काठमाडौं । दाङको तुलसीपुर स्थित टरि गाउँ विमानस्थलमा बिहीबार एक जना पनि यात्रु नपाएपछि जहाज सेवा अवरुद्ध भएको छ । गत सोमबारदेखि हवाई सेवा सुरु भएको थियो । बिहीबार पनि जहाज आउने तालिका थियो । तर, तुलसीपुरबाट एक जना पनि यात्रुले टिकट काटेका थिएनन् । 

काठमाडौंबाट पनि ३ जनाले मात्र टिकट काटेका थिए । यात्रु नभएपछि बिहीबारको उडान अवरुद्ध भएको एयरलाइन्सका स्टेसन इन्चार्ज बलबहादुर सुनारले जानकारी दिए । 

३ महिना सेवा अवरुद्ध भएपछि सोमबारदेखि सेवा सुरु भएको हो । हालको भाडा न्यूनतम् ७ हजार १०० रुपैयाँ मात्र कायम गरिएको छ । नियमित भाडा ८ हजार ७७५ रुपैयाँ भए पनि हाललाई ७ हजार १०० रुपैयाँ मात्र कायम गरिएको छ ।

टरि गाउँमा नियमित हवाई सेवा नहुँदा यात्रुहरू नेपालगन्ज वा भैरहवा जानुपर्ने अवस्था छ । विमानस्थलको धावन मार्ग पनि सानो हुँदा ठूला जहाज बस्न सकेको छैनन् । अहिले १९ सिटे जहाज मात्र बस्दा पनि अनियमित हुने हुँदा यात्रुहरू भैरहवा वा नेपालगञ्ज जानुपर्ने अवस्था छ । 

हाल विमानस्थलको धावन मार्ग ७५० मिटर छ । उक्त धावन मार्ग विस्तार गर्नुपर्ने आवाज पटकपटक उठ्ने गरेको छ । उक्त विमानस्थल २०११ सालमा स्थापना भएको हो । 

Share News