निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउने हो : मन्त्री खड्का

काठमाडौं । उर्जा जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माणमा लागेको बताएका छन् । तमोर इनर्जी प्रालिले ताप्लेजुङको तमोर नदीमा निर्माण गर्न लागेको २८५ मेगावाटको जलविद्युत केन्द्रमा प्रयोग गरिने टनेल बोरिङ मेसिनबारे चाइना रेल्वे इन्जिनियरिङ कम्पनीसँग हस्ताक्षर कार्यक्रममा मन्त्री खड्काले निजी क्षेत्रलाई अगाडि बढाएर सरकारले उर्जा क्षेत्रको विकास गर्न चाहेको बताए । 

‘सरकार निजी क्षेत्रलाई सहज हुने गरी कानुन निर्माण गर्ने र निजी क्षेत्रबाट धेरैभन्दा धेरै कर लिएर मुलुक समृद्ध बनाउन चाहन्छ, निजी क्षेत्रलाई साथमा लिएर मुलुक समृद्ध हुन्छ भनेर हामीले द्रुत गतिमा अध्यादेशमार्फत कानुन ल्याएका हौँ,’ उनले भने । 

मन्त्री खड्काले सरकारले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावट विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको उल्लेख गर्दै उक्त लक्ष्यलाई पूरा गर्न टनेल बोरिङ मेसिनजस्ता प्रविधिबाट मद्दत पुग्ने विश्वास व्यक्त गरे । उनले स्रोतको प्रयोग गरेर जलविद्युत केन्द्र निर्माण गर्दैगर्दा स्थानीय स्तरमा रोजगारी समेत सिर्जना हुने बताए । 

‘स्रोतमाथिको अधिकार सबै नागरिकको बराबर हुन्छ, विपन्न वर्गले पनि स्रोतको उपयोग गर्न पाउनुपर्छ भनेर सरकारले गरिब तथा विपन्न वर्गका लागि जलविद्युत आयोजनालाई धरौटी राखेर २ लाख रुपैयाँदेखि ५ लाख रुपैयाँसम्मको सेयरको व्यवस्था गर्न लागेको छ, यसमा निजी क्षेत्र पनि आबद्ध हुनुपर्छ,’ मन्त्री खड्काले भने । एउटा वर्ग र समुदाय धनी भएर मुलुक समृद्ध बन्न नसक्ने उनको भनाइ छ । 

भारत र चीनको बीचमा रहेको नेपालले दुवै देशका लगानीकर्तालाई भित्र्याएर फाइदा लिनुपर्ने मन्त्री खड्काले उल्लेख गरे ।

नेकपा (एमाले) का सचिव योगेश भट्टराईले २०४६ सालको परिवर्तनपछि सरकारले लिएको नीतिका कारण ऊर्जा क्षेत्रको विकास तीव्र गतिमा भइरहेको बताए ।  नेपालको ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको उनले उल्लेख गरे ।

सचिव भट्टराईले तमोर आयोजनाको निर्माणसँगै ताप्लेजुङ जिल्ला, सिङ्गो कोशी प्रदेश र मुलुकलाई नै फाइदा हुने बताए ।

तमोर इनर्जी प्रालिका अध्यक्ष पुष्पज्योति ढुङ्गानाले नेपालमा वर्तमान समयमा भइरहेको लोडसेडिङ अन्त्यका लागि यो आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । 

आगामी ४ वर्षभित्र सक्ने लक्ष्यका साथ उक्त आयोजना ५१ अर्ब रुपैयाँ लगानीमा निर्माण हुन लागेको हो । जसमा १२ अर्ब रुपैयाँ लगानीकर्ता, ८ अर्ब रुपैयाँ पब्लिक सेयर, २९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट र बाँकी २ अर्ब रुपैयाँ बत्ती बलेपछि भुक्तानी गर्ने गरी लगानी जुटाइएको छ ।

चाइना रेल्वे इन्जिनियरिङ कम्पनीका प्रतिनिधि लु सियारुङले सबैको साथ र सहयोग लिएर उक्त आयोजनालाई समयमै सम्पन्न गरिने बताए । उनले नेपालको आर्थिक विकासमा आफ्नो कम्पनीले निरन्तर काम गरिरहेको उल्लेख गरे । उक्त कम्पनीले  हालसम्म एक सयभन्दा बढी जलविद्युत आयोजना निर्माण गरिसकेको छ । 

Share News