काठमाडौं । नेपाली काँग्रेसका सांसद तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले देश निर्माणका लागि सबै तह र क्षेत्रका व्यक्तिहरूबाट मेहनत र इमान्दारिता अपरिहार्य रहेको बताएका छन् ।
नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औं स्थापना दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै सांसद महतले राजनीतिक वृत्तदेखि निजी क्षेत्रसम्म इमान्दारिता र निष्ठापूर्वक काम नगरी देश अघि बढ्न नसक्ने स्पष्ट पारे ।
उनले भने, 'जहाँ हामी काम गर्छौं, त्यो हाम्रो जिम्मेवारी हो भन्ने सोच्न जरुरी छ । मेहनत र खबरदारी दुबै गर्नुपर्छ ।'
सांसद महतले सत्तामा बसे पनि वा नबसे पनि नेपाली काँग्रेसले सधैं सही कुरा समर्थन र गलतको विरोध गर्ने नीति अख्तियार गर्दै आएको उल्लेख गरे ।
उनले नयाँ राजनीतिक दलहरू सजिलो अवस्थामा मात्र अगाडि आउने तर असहज अवस्थामा पन्छिने प्रवृत्ति देखिएको बताउँदै त्यसले जनताको अधिकारको संरक्षण गर्न नसक्ने धारणा राखे ।
'कमी कमजोरी जो जहाँ भए पनि हुन्छ,' उनले भने, 'तर लोकतन्त्रको सौन्दर्यता भनेकै जनताको खबरदारी हो। जनताको आवाज नसुनेको अवस्थामा पराजित हुनुपर्छ ।'
कार्यक्रममा बोल्दै सांसद महतले वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूलाई अधिकार र जिम्मेवारी सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिए । जनताको अपेक्षा अनुसार सेवा दिनसक्नुपर्ने बताउँदै उनले कर्मचारी संघले संस्थागत सुधारमा सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए ।
नेपाली काँग्रेसका प्रवक्ता समेत रहेका महतले आफ्नो पार्टी सधैं जिम्मेवार, अनुभवसिद्ध र प्रतिवद्ध रहेको दाबी गर्दै कठिन परिस्थितिमा पनि काँग्रेस दृढ भएर उभिने पार्टी भएको उल्लेख गरे ।