कमलपोखरीलाई उज्यालो, स्वच्छ र सौन्दर्यपूर्ण बनाउँछौं : उपप्रमुख डंगोल

काठमाडौं । काठमाडौं महानगरपालिकाको ऐतिहासिक तथा सांस्कृतिक महत्व बोकेको कमलपोखरीलाई सौन्दर्य र सुरक्षासहित आधुनिक तर पारम्परिक शैलीमा पुनर्जीवन दिने काम तीव्र गतिमा अघि बढेको छ ।

उक्त योजनाको दोस्रो चरणको कामको अनुगमन गर्दै उपप्रमुख सुनिता डंगोलले रातको उज्यालो व्यवस्था, वर्षाको पानी पुनःभरण प्रणाली र आकर्षक सौन्दर्यीकरणमा जोड दिन सम्बन्धित निकायहरूलाई निर्देशन दिएकी हुन् ।

उनले सार्वजनिक निर्माण विभाग र उद्यान तथा हरियाली प्रवर्धन आयोजनाका अधिकारीहरूलाई कार्य योजनाअनुसार जिम्मेवारी पूरा गर्न आग्रह गरेकी छन् ।

null

पोखरी वरपर राखिएका चैत्य र मूर्तिहरूमा आगन्तुकले क्षति पुर्याएको देखेपछि उपप्रमुख डंगोलले सिसिटिभी क्यामरा जडान गरी निगरानी प्रणाली सुदृढ पार्न निर्देशन दिएकी हुन् ।

अनुगमनमा सहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले पोखरीको विकासमा जनअपेक्षाअनुरूप जनमैत्री संरचना निर्माणमा ध्यान दिइएको जानकारी दिए ।

कमलपोखरी करिब २३ रोपनी क्षेत्रफलमा फैलिएको छ । यसलाई परम्परागत, सांस्कृतिक तथा पर्यटकीय पोखरीका रूपमा विकास गर्ने उद्देश्यअनुसार पुनःनिर्माणको काम भइरहेको हो ।

गुरुयोजनाको पहिलो चरणमा करिब ६ करोड ३६ लाख रुपैयाँ लागतमा पोखरी र यसको संरचना निर्माण गरिएको थियो । हाल दोस्रो चरणअन्तर्गत सौन्दर्यीकरण र मर्मतको काम भइरहेको छ ।

null

यो दोस्रो चरणको योजना ३ करोड ६ लाख रुपैयाँ लागतमा निर्माण भइरहेको हो । योजना कार्यादेश २०८१ सालको भदौ १९ गते दिइएको हो र कार्य सम्पन्नको समय सीमा २०८२ साउन १५ गतेसम्म तोकिएको छ ।

यो योजना सार्वजनिक निर्माण विभागमार्फत कार्यान्वयनमा आएको हो । पोखरीको वरिपरि रहेको क्षेत्र र सडक किनारका लागि ट्याक्टिकल अर्बनिजम अन्तर्गत पनि काम भइरहेको छ ।

उद्यान तथा हरियाली प्रवर्धन आयोजनाले साविकको प्रहरी बिट रहेको करिब ५ रोपनी क्षेत्रमा पार्क निर्माण गरिरहेको छ । यसमा बस बिसौनी, पौधारोपण, फूलबारी र विश्रामस्थल निर्माण भइरहेको छ ।

फुटपाथ र सडक किनारमा फल्चा शैलीमा परम्परागत बस्ने ठाउँ, पोखरी र सडकको दृश्यावलोकन गर्न मिल्ने स्थानहरू निर्माण हुँदैछन् ।

आयोजनाका इञ्जिनियर सरकारदीप श्रेष्ठका अनुसार चालु आर्थिक वर्षभित्र ट्याक्टिकल अर्बनिजमअन्तर्गत ३२ स्थानमा करिब २ करोड रुपैयाँको लागतमा काम सम्पन्न गरिने लक्ष्य रहेको छ ।

यसअन्तर्गत कमलपोखरीका चारै कुनामा कमल रोप्ने र माछा राख्ने योजना समेत रहेको छ, जसले पोखरीको जैविक तथा सौन्दर्य पक्षमा थप योगदान दिनेछ ।

पोखरी वरिपरि साँझ र विहान हिँड्न सकिने वातावरण बनाउने प्रयास भइरहेको छ। यसका लागि वडा कार्यालयले नेपाल विद्युत प्राधिकरणसँग पत्राचार गरिसकेको छ ।

वडा नं. १ का सचिव सर्वज्ञराज पौडेलले पोखरीको सौन्दर्य र सुरक्षाका लागि नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न प्रयास भइरहेको जानकारी दिए ।

कमलपोखरीको वरिपरि पैदल मार्ग, चिल्ड्रेन पार्क, मकराकृतिका ढुंगेधारा, अपाङ्गमैत्री शौचालय, खुला व्यायामशाला, तथा उद्यान रहेका छन् ।

पोखरीका चार ओटै कुनामा संस्कृति झल्किने आकर्षक मण्डपहरू छन् । मुलढोकासँगै पूर्वतर्फ एक ठूलो मण्डप रहेको छ, र सम्पूर्ण मिलाएर ५ वटा मण्डप निर्माण गरिएको छ ।

null

पोखरी छिर्ने गेट परम्परागत नेपाली शैलीको बनाइएको छ । पुनःनिर्माणका क्रममा नेपाली इँटा र दर्शन ढुंगा प्रयोग गरिएको छ, जसले सम्पदाको मौलिकता झल्काउँछ ।

कमलपोखरीको पुनर्जीवनले काठमाडौंको ऐतिहासिक सम्पदा संरक्षण, पर्यटकीय प्रवर्द्धन र जनमैत्री सार्वजनिक स्थलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

Share News