नेपालमा ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने होटल छन्, पर्यटकको खाँचो छ : अध्यक्ष शाह

काठमाडौं । नेपाल होटल संघ (हान) का अध्यक्ष विनायक शाहले नेपालभरि ३५ लाख पर्यटकलाई सेवा दिनसक्ने होटल संरचना तयार भइसकेको बताएका छन् ।

शुक्रबार आयोजित ‘२०औं फेवा नववर्ष महोत्सव’ घोषणा कार्यक्रममा बोल्दै उनले मुलुकमा स्तरीय होटलहरू निर्माण भइसके पनि पर्यटकको अभाव रहेको बताए । शाहका अनुसार विशेषगरी पोखरा उच्चस्तरीय होटल संरचनासहित प्रमुख पर्यटकीय गन्तव्य बनेको  छ।

अध्यक्ष शाहका अनुसार नेपालमा लगानीको राम्रो वातावरण रहे पनि पर्यटकको संख्या अपेक्षाअनुसार बढ्न सकेको छैन । उनका अनुसार पर्यटन क्षेत्रले आर्थिक उन्नतिमा योगदान दिन सक्छ, तर आवश्यक संख्यामा पर्यटक भित्र्याउन चुनौती भइरहेका छन् ।

उनले पछिल्लो समय नेपालमा भइरहेका विभिन्न प्रदर्शन तथा आन्दोलनका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन प्रभावित भएको समेत उल्लेख गरे ।

चैत ३० देखि वैशाख १ गतेसम्म पोखराको फेवाताल किनारमा आयोजना हुने ‘२०औं फेवा नववर्ष महोत्सव’ ले पर्यटन प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकहरूले लिएका छन् ।

महोत्सव अवधिभर होटल सेवामा २० प्रतिशत छुट प्रदान गरिने आयोजकको भनाइ छ । महोत्सवले स्वदेशी तथा विदेशी पर्यटक आकर्षित गर्न मद्दत गर्ने अपेक्षा गरिएको छ ।

नेपाल होटल संघका अनुसार, आगामी दिनमा आन्तरिक तथा बाह्य पर्यटक आगमनलाई प्रोत्साहित गर्ने नीति अवलम्बन गर्नुपर्ने देखिएको छ ।

संघका अध्यक्ष शाहले पर्यटन क्षेत्रलाई मजबुत बनाउन दीर्घकालीन योजनाका साथै सहजीकरण आवश्यक रहेको बताए ।

Share News