काठमाडौं । होटल संघ नेपाल पोखराले नयाँ वर्ष २०८२ सालको अवसरमा विभिन्न प्याकेज सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी विभिन्न प्याकेजहरू घोषणा गरेको हो ।
संघले यही चैत्र ३० देखि वैशाख १ गतेसम्म ‘२० औं फेवा महोत्सव २०८२’ मनाउन लागेको छ । उक्त महोत्वसवको थप प्रचारप्रसारको लागि संघले नेपाल पर्यटन बोर्डको सहकार्यमाा पूर्वी नेपालका प्रमुख सहरहरूमा ‘जाऊँ है पोखरा’ अभियान सञ्चालन गरेको छ । त्यसै अवसरमा संघले घुमघाम पोखरा, शैक्षिक भ्रमण पोखरा र मधुमास पोखराजस्ता प्याकेज घोषणा गरेको छ ।
जाऊँ है पोखरा प्याकेज
जाऊँ है पोखरा प्याकेजअन्तर्गत एक जनाले न्यूनतम ४ हजार ९९० रुपैयाँमा दुई रात/तीन दिनको विभिन्न सुविधाहरू प्राप्त गर्न सक्नेछन् । उक्त प्याकेजअन्तर्गत दुई रातको लागि डबल वा ट्वीन रुममा ब्रेकफास्टसहित बस्न मिल्ने, एयरपोर्टबाट टुरिष्ट बस पार्क वा पिकअपको सुविधा, स्वागत पेयपदार्थ र आधा दिनको लागि पोखरा सहर साइडसिइङ गर्न मिल्ने साथै एक घण्टा डुङ्गा यात्रा गर्न पाउनेछन् ।
शैक्षिक भ्रमण पोखरा प्याकेज
त्रिपाल सेयररिङ बेसिसमा २ रातको ब्रेकफास्टसहितको बसोबासको व्यवस्था हुने संघले जनाएको छ । यो प्याकेजमा कम्तीमा ३० जना विद्यार्थी हुनुपर्ने छ । यस प्याकेजमा एक जना टुर एस्कर्ट र एक जना शिक्षकले नि:शुल्क सेवा लिन पाउने छन् । एयरपोर्टबाट टुरिष्ट बस पार्क वा पिकअपको सुविधा, स्वागत पेयपदार्थ र आधा दिनको लागि पोखरा सहर साइडसिइङ गर्न मिल्ने साथै एक घण्टा डुङ्गा यात्रा गर्न यी सबै सुविधाहरू न्यूनतम ६ हजार ५५० र अधिकतम १८ हजार ४४० रुपैयाँमा उपलब्ध हुनेछन् ।
मधुमास पोखरा प्याकेज
संघले नव दम्पती लक्षित गरेर नयाँ वर्षको अवसरमा मधुमास पोखरा प्याकेज सार्वजनिक गरेको छ । नवदम्पतीले प्रतिव्यक्ति ६ हजार ५५० र अधिकतम १८ हजार ४४० रुपैयाँ (ट्वीन सेयरमा) यो प्याकेज लिन सक्नेछन् । यस प्याकेजभित्र एयरपोर्टसम्म वा टुरिष्ट बस एरिया सम्म पिकअपको सुविधा, डिनर, ब्रेकफास्टसहित दुई रातको डबल रुमसहितको कोठा, निजी गाडीमा पोखरा सहर साइडसिइङ गर्न पाउने र एक घण्टा डुङ्गा सयर गर्न पाउनेछन् ।
पोखरा–मुक्तिनाथ प्याकेज
पोखरा र मुक्तिनाथ एकैचोटि घुम्न चाहने पर्यटकको लागि यो प्याकेज उपयोगी हुनेछ । जसमा न्यूनतम ६ जनाको समूह हुनुपर्ने संघले जनाएको छ । यस प्याकेज तीन रात चार दिनको रहेको छ । जसमा पहिलो दिन पोखरा आगमन र र आधा दिन पोखरा बजार साइड सिइङ गर्न पाइनेछ । दोस्रो दिन जीपमार्फत जोमसोम यात्रा र रात त्यही बास बस्ने र तेस्रो दिन मुक्तिनाथ दर्शन गरी पुन: पोखरा फर्किन पाइनेछ । चौंथो दिनमा पोखराबाट टुरिस्ट बस वा प्लेन उडानबाट घर फिर्ता हुन पाइनेछ । यो प्याकेज प्रतिव्यक्ति न्यूनतम १५ हजार ४९९ रुपैयाँ र अधिकतम २४ हजार ४९९ रुपैयाँमा खरिद गर्न सक्छन् ।
त्यसबाहेक तीन रात चार दिनको ट्रेकिङ प्याकेजसमेत रहेको छ । यो प्याकेज न्युनतम १५ हजार ४९९ प्रतिव्यक्ति र अधिकतम २२ हजार ४९९ प्रतिव्यक्ति रहेको छ । यसमा पहिलो दिन पोखरादेखि घोरेपानी, दोस्रो दिन घोरेपानीदेखि तातोपानी, तेस्रो दिन तातोपानीबाट घान्द्रुक र चौथो दिन घान्द्रुकबाट पुन पोखरा फर्किनुपर्ने छ ।
२० औं फेवा नववर्ष महोत्सव चैत ३० गते देखि, पर्यटन र नेपाली खानाको प्रवर्द्धन गरिने