काठमाडौं । नेकपा (एमाले)का कार्यवाहक अध्यक्ष ईश्वर पोखरेलले अनिर्वाचित र वंश परम्परामा आधारित शासनसत्ता चलाउन नदिने बताएका छन् । पेशागत महासङ्घ नेपालद्वारा आज ललितपुरमा आयोजित तेस्रो राष्ट्रिय परिषदलाई सम्बोधन गर्दै कार्यवाहक अध्यक्ष पोखरेलले लोकतान्त्रिक व्यवस्थामा बंशवादको शासनसत्ता कुनै पनि हालतमा हुन नसक्ने भन्दै सहमति र सहकार्यका आधारमा वर्तमान सरकार अगाडि बढेको बताए ।
‘कांग्रेस र एमालेबीच आपतकालीन अवस्थामा सहकार्य हुन्छ, तर चुनावमा प्रतिस्पर्धा हुन्छ, २०८४ मा हामी प्रतिस्पर्धाबाट बहुमत हासिल गर्न लाग्नुपर्छ, राजनीतिक अस्थिरता मुक्त गराउन कांग्रेससँग सहकार्य भएको हो, अनिश्चितता रोक्न कांग्रेससँग सहकार्य भएको हो, त्यो सफल भएको छ, राजनीति मान्छे र बिचार बोकेर आउने हुँदा कुनै समस्या छैन, बंशवाद स्वीकार्य छैन,’ उनले भने ।
कार्यवाहक अध्यक्ष पोखरेलले कांग्रेस र एमालेबीचको सहकार्य र प्रतिस्पर्धा दुवै रहेको बताउँदै मुलुकको आवश्यकताका आधारमा सहकार्य र परिस्थितिका आधारमा प्रतिस्पर्धा हुने बताए । उनले मुलुकलाई समस्या पर्दा सर्वाहारा श्रमजीवीको पक्षपोषण कम्युनिष्ट र उदारवादी धारको कांग्रेसबीच सहकार्य गर्ने गरेको बताउँदै चुनावी समयमा हार्दिकता पूर्वक प्रतिस्पर्धा हुने बताए ।
नेता पोखरेलले शिक्षक आन्दोलनप्रति लक्षित गर्दै शिक्षासम्बन्धी ऐन अविलम्ब टुङ्गोमा पुर्याउने काम गर्ने बताए । अहिले लोकतान्त्रिक व्यवस्थामा पञ्चायती शैलीको आन्दोलन गरेर सकारात्मक काम नहुने भन्दै त्यसका लागि सचेत हुनुपर्नेमा उनको जोड छ ।
‘शिक्षा विधेयकको कुरा गर्दा विधेयक बनाउने र टुङ्गोमा पुर्याउने कुरामा शिक्षकका विज्ञ प्रतिनिधिहरूको पनि भूमिका हुन्छ, शिक्षकका प्रतिनिधिसहितको सहभागितामा विधेयक टुङ्गोमा पुग्छ, हिजो हामी लोकतन्त्रका लागि लड्दै थियौँ, अहिले हामी लोकतन्त्रभित्र आफ्नो अधिकारका लागि लड्दै छौँ, अब पनि हिजोको जस्तो आन्दोलन हैन, अबको आन्दोलन फरक र वैचारिक हुनुपर्छ,’ उनले भने ।
उनका अनुसार निजामती कर्मचारी ऐन संसद्मा छ । त्यो पनि छलफलका माध्यमबाट आवश्यक व्यवस्थापन गरी पारित हुन्छ । पार्टीको मान्छे हुँ भन्दा कहिले पेसागत मर्यादा भुल्ने, कहिले पेसागत भूमिकाको हुँ भन्दा पार्टीको जनसङ्गठनको भूमिका बिर्सने नहुने उनले बताए ।
‘हिजोका कामको समीक्षा गरेर अबको कार्यको योजना बनाउनुस् । पेसागत मर्यादा र पार्टीको भूमिका दुवैलाई व्यवस्थापन गरेर अगाडि बढ्नुस्,’ उनले भने ।
एमाले पोलिटब्युरो सदस्य एवं उपत्यका इन्चार्ज सुजिता शाक्यले पेसागत महासङ्घलाई देशव्यापी रुपमा सक्रिय बनाएर अगाडि बढ्न आग्रह गरिन् । उनले वर्तमान लोकतान्त्रिक व्यवस्थामा जन्मदेखि मृत्यु पर्यन्त पाउनुपर्ने हकलाई सुरक्षित गरेको अवस्थामा राज्य व्यवस्थालाई सुशासन युक्त रुपमा सञ्चालन गराउन ध्यान दिनुपर्नेमा उनले जोड दिइन् ।
उनले नेपालीमा विदेशी जीवनस्तर, त्यहाँको परिस्थितिको तुलना गर्ने प्रवृत्तिका कारण भएका प्रगतिलाई ओझेलमा पार्ने काम भएको भन्दै भएको कुरालाई उजागर गर्दै सुशासन र समृद्धिलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा ध्यानाकर्षण गराइन् ।