नारायणगढ-बुटवल सडकमा २९ वटा पुल निर्माण सम्पन्न, अब ५ वटा मात्र बाँकी

काठमाडौं । नारायणगढ-बुटवल सडक विस्तार आयोजनाअन्तर्गत पूर्वी खण्डमा २९ वटा पुल निर्माण भएका छन् । योजनाको पूर्वी खण्ड नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरमा पर्ने २९ वटा पुल निर्माणको काम सकिएको नारायणगढ-बुटवल सडक विस्तार योजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । 

गैँडाकोटदेखि दाउन्नेसम्मको पूर्वीखण्डमा ३४ वटा पुल निर्माण गर्नुपर्नेमा अब ५ वटा पुल मात्र निर्माणको काम बाँकी छ । यस खण्डमा २५ मिटर लम्बाइसम्मका छोटा २२ वटा पुल र २५ मिटरभन्दा लामा १२ वटा पुल निर्माण गर्नुपर्नेमा छोटा सबै पुल निर्माणको काम सकिएको छ ।

लामो पुलमा जय श्री र बेल्डियाका २ वटा पुलमा ढलानको काम बाँकी रहेको सूचना अधिकारी खनालले बताए। यी पुलहरू केही दिनमा ढलानको काम हुनेछन् । ढलान भएका लामा पुल केही सञ्चालनमा आएको र बाँकी रहेका पुलसमेत चाँडै सञ्चालनमा ल्याउने तयारी गरिएको उहाँले जानकारी दिए ।

२ सय मिटरभन्दा लामा पुल गिरुवारी खोला, अरुण खोला र विनयी खोलाको पुल निर्माणको कामसमेत अघि बढिरहेको छ । ती पुलमध्ये दुम्किबासमा रहेको विनयी खोलाको पुरानो पुल भाँचिएको कारण अहिले उक्त स्थानका नयाँ पुल निर्माण गर्न लागिएको छ ।

विनयी खोलामा अहिले सवारी डाइभर्सनबाट सञ्चालनमा रहेको र पानी परे समस्या हुनसक्ने भएकाले नयाँ पुल निर्माणलाई प्राथमिकता दिइएको उनले बताए । 

‘२ सय मिटर लामा तीन वटा पुलमध्ये विनयी खोलामाथि निर्माण हुन लागेको पुल निर्माणमा केन्द्रित छौँ, उक्त स्थानमा पुरानो पुल भाँचिएकाले नयाँ पुल चाँडै निर्माण गर्न लागेका छौँ, ढिलामा जेठ पहिलो हप्तामा नयाँ पुलको काम सकेर सवारी चलाउने लक्ष्य छ,’ सूचना अधिकारी खनालले भने ।

विनयी खोलाको चार वटा स्पानमा काम गर्न बाँकी रहेको उनको भनाइ छ ।  त्यसका लागि बिमहरू तयार भएकाले लगेर राख्ने र लगत्तै ढलानको तयारी गरिने सूचना अधिकारी खनालले बताए ।

उनका अनुसार यो आर्थिक वर्षमा चोरमारामा रहेको गिरुवारी खोला र अरुण खोलाको पुल बाहेक सबै पुल निर्माण सम्पन्न हुने छन् । एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा २०७५ माघ २४ गते सम्झौता भएर नारायणगढ–बुटवल सडक विस्तारको काम चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले गरिरहेको छ । निर्धारित समयमा काम सम्पन्न नभएपछि २०८१ साउन ८ गते सम्मका लागि दोस्रो पटक म्याद थप भएको थियो । यस अवधिमा समेत काम सम्पन्न भएपछि गत  साउनमा २०८२ साउन ८ गतेसम्मका लागि तेस्रो पटक म्याद थप गरिएको छ । यस अवधिमा समेत काम सकिने अवस्था लगभग टरेको छ ।

११३ किलोमिटर सडकमध्ये ७० किलोमिटर ४ लेन, २९ किलोमिटरमा ४ लेनसहित दुवैतर्फ ६/६  मिटरको ‘सर्भिस लेन’ हुनेछ । दाउन्नेमा १४ किलोमिटर ३ लेनको सडक हुनेछ । 

Share News