‘राजनीतिक स्थायित्वका लागि शासकीय स्वरुप फेर्नुपर्छ’

काठमाडौं । राजनीतिक दलका नेता एवं विज्ञहरूले राजनीतिक तथा नीतिगत स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणाली अवलम्बन गरिनुपर्नेमा जोड दिएका छन् ।

नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) केन्द्रीय विज्ञ परिषद्ले आयोजना गरेको ‘राजनीतिक स्थायित्व र प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणालीका औचित्य’ विषयक अन्तरक्रियामा सहभागीले मुलुकको समृद्धिका लागि शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने धारणा राखे । 

यद्यपि, केही सहभागीले प्रत्यक्ष निर्वाचित कार्यकारी तानाशाह बन्नसक्ने खतरा औंल्याउँदै राजनीतिक स्थिरताका लागि शासकीय स्वरूप नभई शासकीय भूमिकामा रहेका व्यक्तिको प्रवृत्ति बल्नुपर्ने बताए । 

नयाँ शक्तिका अध्यक्ष डा बाबुराम भट्टराईले अर्थतन्त्र सुधारका निम्ति राजनीतिक र नीतिगत स्थायित्व अनिवार्य सर्त भएको बताए । उनले प्रत्यक्ष निर्वाचित राष्ट्रपतीय प्रणाली अपनाउ नसके स्थिरता र विकासले गति लिने जिकिर गरे । शासन गर्ने व्यक्ति आमनागरिकको मतबाट चुनिने हुँदा जनताप्रति जवाफदेही र प्रजातान्त्रिक हुने उल्लेख गर्दै अध्यक्ष भट्टराईले राष्ट्रपतीय प्रणालीमा तानाशाह जन्मन्छन् कि भनेर नकारात्मक सोच राख्न नहुने बताए ।

नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले प्रत्यक्ष निर्वाचित राष्ट्रपति स्थायित्वको अचुक औषधि नभई निरंकुश हुनसक्ने खतरा रहेको औंल्याए । 

‘अहिले नीतिभन्दा नाता, नभए दाता खोजेर समानुपातिक प्रणालीको मर्म विपरीत काम भइरहेको छ, जुन पार्टीबाट नियुक्ति पाइन्छ त्यतै लाग्ने प्रवृत्ति हावी भएको छ । यो नै स्थिरताको बाधक हो,’ उनले भने । 

नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेत्री सुनिता बरालले राजनीतिक स्थायित्व नहुनुमा प्रणालीलाई दोष दिनुभन्दा अभ्यासमा भएका कमजोरी हटाउनुपर्नेमा जोड दिइन् । 

‘प्रणालीमा मात्र केन्द्रित भएर पुग्दैन, प्रवृत्तिलाई पनि ध्यान दिनुपर्छ । अभ्यासमा भएका कमजोरी नहटाएसम्म प्रणालीले मात्र केही गर्दैन,’ उनले भनिन् ।

नेकपा (माओवादी केन्द्र) का नेता खिमलाल देवकोटाले राजनीतिक स्थिरता र आर्थिक समृद्धिका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतीय प्रणालीको विकल्प नभएको बताए । 

‘अधिनायकवादी राष्ट्रपति हुनसक्छ भन्ने त्रास हटाउन  प्रत्याह्वान र महाअभियोगको व्यवस्था राखी  उसलाई अधिनायकवादी हुनबाट जोगाउन सकिन्छ,’ उनले भने । 

राष्ट्रिय स्वतन्त्र पार्टीका नेता सन्तोष परियारले शासकीय भूमिकामा रहने व्यक्तिको सँस्कारका कारण राजनीतिक अस्थिरता सिर्जित भएको दाबी गरे । आफू राष्ट्रपति प्रणालीको समर्थक भएको उनको भनाइ छ । 

जनता समाजवादी पार्टीका नेता प्रकाश अधिकारीले स्थायित्वका लागि मुलुकमा उपयुक्त शासकीय प्रणाली र नीतिको आवश्यकता रहेको बताए । राजनीतिक विश्लेषक इन्द्र अधिकारीले सरकार कि प्रणालीको स्थायित्व भन्नेमा प्रष्ट हुनुपर्ने धारणा राख्दै अहिले प्रणालीभन्दा सरकार अस्थिर भएको बताए । 

Share News