पार्टीका नेता भन्दा बिचौलियाले गभर्नर नियुक्ति गर्छन् कि भन्ने चिन्ता छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले मुलुकको अर्थतन्त्रको विकासका लागि सरकारले केही जोखिम उठाउनैपर्ने बताएका छन् ।  ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवादमा’ उनले सरकारले निजी लागनीकर्ता माझ विश्वास बढाउन सकेको खण्डमा अर्थतन्त्रको विकास हुने बताउँदै यसमा निजी क्षेत्रले पनि सार्थक सहयोग गर्नु जरुरी रहेको आवश्यकता औँल्याए । 

सङ्घीय सांसद समेत रहेका महामन्त्री थापाले हरेक क्षेत्रमा खुल्ला र पारदर्शी छलफलले मात्रै समस्याको सार्थक समाधान हुन सक्नेमा जोड दिए । सरकारले अर्थतन्त्रको सुधारका लागि महत्त्वपूर्ण काम गर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले शासकीय सुधार र अर्थतन्त्रको सुधारका लागि सरकारको योजनामा निजी क्षेत्र र नागरिकले विश्वास गर्नुपर्ने धारणा राखे । 

नेता थापाले आईटी, सफ्टवेयर, प्रोग्रामिङ सँगै पूर्वाधारका क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए । उनले मुलुकभित्रै केही गर्न खोज्नेलाई सरकारले सहजीकरण गर्नुपर्ने भन्दै त्यसका लागि सरकारको नेतृत्वले योजनाबद्ध पहल गर्नुपर्ने बताए । कर प्रणाली सुधार गर्न नीतिगत रूपमा कसरी सम्बोधन गर्न सकिन्छ सोबारे सरोकार भएका निकायसँग समन्वय र छलफल गर्नुपर्नेमा उनले जोड दिए । 

विदेशमा कमाएको मुद्रा देशभित्र ल्याउने र यहाँ कमाएको बाहिर सहजै तरिकाले लैजान पाउने व्यवस्था गर्न सकिए लगानी भित्रिने सांसद थापाले दाबी गरे । सरकारले पछिल्लो पटक बनाएको कानुन त्यसको सुरुआत हुनसक्ने उनको भनाइ छ ।

नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिमा आमनागरिकको चासो रहेकाले योग्य र सक्षम व्यक्तिको नियुक्ति हुनुपर्ने उनले बताए । 

‘गभर्नर नियुक्तिको चर्चा चलेको छ । राजनीतिक दलका नेताले भन्दा बिचौलियाले प्रभाव पार्लान् कि भन्ने चिन्ता छ,’ उनले भने, ‘पहिले पहिले फलाना पार्टीले राम्रो क्याडेट ल्यायो भन्ने हुन्थ्यो । अहिले निश्चित घराना र प्रभावमा हुने चिन्ता छ । हामी ट्रान्सपरेन्ट नहुनुको नतिजा हो ।'

Share News