'युवा पलायन रोक्न मुलुकभित्रै दक्ष श्रम शक्तिको विकासमा चासो देखाउनुपर्छ'

काठमाडौं । मुलुकको अर्थतन्त्रको विकास र विस्तारका लागि सरकार र निजी क्षेत्रले सहकार्य र समन्वय गर्दै अर्थतन्त्र विस्तार गर्नुपर्नेमा सरोकार भएका व्यक्ति, संस्थाका प्रतिनिधिले जोड दिएका छन् । 

 ‘एनसेल बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रमका सहभागीले नीतिगत स्थिरता, दक्ष जनशक्तिको विकास, लगानीमैत्री वातावरण, सूचना प्रविधिको प्रयोग गरेर मात्रै आर्थिक विकासको मार्ग प्रशस्त गर्न सकिने धारणा राखे । 

सरकार र निजी क्षेत्रले समान दृष्टिकोण बनाएर कार्यान्वयन गर्दै नीतिगत सुधार गर्न सकेमा मुलुकमा उल्लेख्य मात्रामा आर्थिक वृद्धि हुने धारणा राखे । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकभित्र दक्ष जनशक्ति उत्पादनमा सरकार र निजी क्षेत्रले सहकार्य गरी अगाडि बढ्नुपर्ने बताए । 

आर्थिक विकास र समृद्धिका लागि नीतिगत स्थिरता जरुरी रहेको आवश्यकता औंल्याउँदै उनले युवा पलायन रोक्दै मुलुकभित्रै दक्ष श्रम शक्तिको विकासमा विशेष चासो देखाउनुपर्ने समय आएको उल्लेख गरे ।

नीतिगत रूपमा स्थायित्व भए निजी क्षेत्रले लगानी विस्तार गर्ने वातावरण बन्दै जाने अध्यक्ष ढकालको भनाइ छ । पूर्वाधार क्षेत्र, कृषि, पर्यटन र उत्पादन मूलक क्षेत्रमा लगानी विस्तार गरेर आर्थिक समृद्धिको मार्ग पहिचानमा ढिलाइ गर्न नहुनेमा उनले जोड दिए । 

नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेश कुमार अग्रवालले बैंक तथा वित्तीय संस्थामा पैसा थुप्रिएको भएपनि लगानी विस्तार हुन नसकेको बताए । सरकारले केही सकारात्मक पहल गरिरहेको भन्दै लगानीको उचित वातावरण बन्न नसक्नुका कारण खोजी गर्नुपर्नेमा उनले जोड दिए । 

सरकारको सकारात्मक पहलका कारण अर्थतन्त्रमा केही सुधार आएपनि थप सुधार र विस्तारका लागि परिसङ्घले यसअघि दिएका सुझावको अक्षरश कार्यान्वयन गर्न अध्यक्ष अग्रवालले माग गरे । 

लक्ष्मी हुन्डाई ग्रुपका प्रबन्ध निर्देशक निरञ्जन श्रेष्ठले अर्थतन्त्रको विकास र विस्तारका लागि ‘स्टार्टअप’लाई प्रोत्साहन गर्नु आवश्यक रहेको बताए । 

प्राध्यापक सुरेश मानन्धरले सूचना प्रविधिसम्बन्धी नीतिलाई सहज र सरल बनाउनुपर्नेमा जोड दिए । उनले यस क्षेत्रको समयसापेक्ष विकासका लागि जनशक्ति तथा प्रविधिको क्षमतामा विकास र लगानी आवश्यक रहेकामा जोड दिए ।

Share News