काठमाडौं । नेपालको शिक्षा क्षेत्र ठप्प हुने भएको छ । नेपाल शिक्षक महासंघको नेतृत्वमा चैत २५ गतेबाट देशव्यापी आम शैक्षिक हड्तालको घोषणा गरिएको छ ।
महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले देशभरका सम्पूर्ण विद्यालय बन्द गरी काठमाडौंको आन्दोलनमा अनिवार्य सहभागिता जनाउन शिक्षक–कर्मचारीलाई आह्वान गरेका छन् ।
महासंघले लामो समयदेखि गुणस्तरीय र शिक्षक–विद्यार्थीमैत्री विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग गर्दै आएको छ । यही मागसहित माघ २० गतेदेखि सुरु भएको आन्दोलन चैत २० गतेदेखि काठमाडौं केन्द्रित प्रदर्शनमा रूपान्तरण भएको थियो । महासंघले यस आन्दोलनलाई ‘अन्तिम र निर्णायक चरण’ को आन्दोलन भनेको छ ।
नेपाल शिक्षक महासंघको राष्ट्रिय समितिबाट जारी विज्ञप्तिमा भनिएको छ, '२०८१ चैत २५ गतेदेखि सम्पूर्ण विद्यालय बन्द गरी काठमाडौंको शैक्षिक आन्दोलनमा अनिवार्य सहभागी हुन हामी शिक्षक–कर्मचारी साथीहरुलाई आह्वान गर्दछौं ।'
महासंघले हड्तालको समयमा कुनै पनि उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम, सेमिनार, शैक्षिक भ्रमण लगायतका गतिविधिमा सहभागी नहुन पनि निर्देशन दिएको छ ।
शिक्षा ऐनको मागलाई लिएर शिक्षक समुदायको यो दबाबमूलक आन्दोलनले देशको शैक्षिक गतिविधिमा ठूलो असर पार्ने देखिएको छ ।