शिक्षक आन्दोलनले एसईईको नतिजा ढिलो हुने, उत्तरपुस्तिका परीक्षण रोकियो

काठमाडौं । शिक्षकको जारी आन्दोलनले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशनमा ढिलाइ हुने भएको छ । नेपाल शिक्षक महासंघको निर्देशनअनुसार उत्तरपुस्तिका परीक्षणमा शिक्षक सहभागी नहुनाले नतिजा समयमा आउन नसक्ने भएको हो ।

नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ परीक्षार्थी सहभागी भएको एसईईको उत्तरपुस्तिका परीक्षण यही साता शुरू हुने तयारी थियो । तर शिक्षकहरूले माग पुरा नभएसम्म परीक्षण नगर्ने अडान लिएपछि परीक्षा नियन्त्रक कार्यालयले निर्धारित तालिका अनुसार नतिजा प्रकाशन गर्न सक्ने अवस्था नरहेको जनाएको छ ।

निमित्त परीक्षा नियन्त्रक विष्णुप्रसाद ज्ञवालीले भने, 'उत्तरपुस्तिका जिल्लाबाट परीक्षण केन्द्रमा पठाउने काम भइरहेकै हो, तर परीक्षण प्रक्रियामा अवरोध हुँदा असार ७ गते नतिजा प्रकाशित गर्ने योजना प्रभावित हुने देखिन्छ ।'

नेपाल शिक्षक महासंघले चैत २५ गतेबाट आम शैक्षिक हड्तालको घोषणा गर्दै आन्दोलनलाई ‘अन्तिम र निर्णायक चरण’ मा प्रवेश गराएको छ । महासंघले शिक्षकहरूलाई उत्तरपुस्तिका परीक्षण, तालिम, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि कार्यमा संलग्न नहुन निर्देशन दिएको छ ।

'गुणस्तरीय र विद्यार्थी–शिक्षकमैत्री विद्यालय शिक्षा ऐन ल्याउने हाम्रो माग पूरा नभएसम्म आन्दोलन जारी रहनेछ । सम्पूर्ण विद्यालय बन्द गर्दै काठमाडौंको आन्दोलनमा अनिवार्य सहभागी हुन शिक्षक–कर्मचारीलाई आग्रह गरिन्छ, ' महासंघको विज्ञप्तिमा उल्लेख छ ।

चैत ७ गतेदेखि सञ्चालन भएको एसईई परीक्षाको परिणाम ढिलाइ हुनाले शैक्षिक सत्रको सुरूवात, विद्यार्थी भर्ना र अगामी तयारीहरूमा समेत असर पर्ने देखिएको छ । यसैबीच, आन्दोलनका कारण कतिपय विद्यालयमा वार्षिक परीक्षा तथा नतिजा प्रकाशन पनि प्रभावित भएको छ ।

Share News