काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले सिंगो नेपाललाई खुला संग्रहालय जस्तै विकसित गर्नुपर्ने बताएका छन् । उनले ललितपुरमा रहेको पाटन दरबारस्थित जिर्णोद्वार र पुनर्निर्माण गरिएको देगुतलेजु मन्दिरको समुद्घाटन कार्यक्रममा सम्बोधन गर्दै, नेपालको विविधता, संस्कृति र प्रकृतिको वैश्विक प्रचार तथा ब्रान्डिङमा जोड दिन आवश्यक रहेको बताए ।
उनका अनुसार नेपालमा विभिन्न प्रकारका भौतिक र अभौतिक सम्पदाहरू छन् । भाषाहरु, भेषभूषा, चाडपर्व, खानपान तथा विभिन्न परिकारहरूको संरक्षण र विश्वस्तरमा प्रचार गर्नु अत्यावश्यक छ । 'हाम्रो हिमालदेखि तराई, पहाडदेखि समुन्द्रसम्म, प्रत्येक क्षेत्रका विशेषता र सौन्दर्यलाई खुला संग्रहालयको रुपमा प्रस्तुत गर्नुपर्छ,' मन्त्री पाण्डेले भने ।
उनले नेपाललाई प्राकृतिक दृष्टिकोणले पनि एक प्रमुख पर्यटकीय गन्तव्य बनाउने लक्ष्य राख्नुपर्नेमा जोड दिए । यसरी, विश्वभरका मानिसहरूले नेपालका प्राकृतिक र सांस्कृतिक सम्पदाबाट लाभान्वित हुन सक्नेछन् र यसबाट नेपालले आर्थिक आर्जनमा थप योगदान पुर्याउन सक्नेछ ।
उनले भने, 'हामी केवल भौतिक सम्पदाको कुरा मात्र गर्दैनौंस हाम्रो अभौतिक सम्पदा, अर्थात् भाषा, परम्परा र सांस्कृतिक चाडपर्व पनि अतिनै महत्वपूर्ण छन् । यसलाई समाहित गर्दै नेपाललाई एउटा खुला संग्रहालय जस्तो, जसमा प्रत्येक क्षेत्रका विशेषता झल्किनेछ, विकास गर्नुपर्छ ।'
उनका अनुसार, खुला संग्रहालय बन्नाले न केवल नेपालको सांस्कृतिक र प्राकृतिक धरोहरको संरक्षण हुनेछ, बरु अन्तर्राष्ट्रिय स्तरमा नेपाललाई एक अनौठो गन्तव्यको रूपमा स्थापित गर्न सहयोग पुग्नेछ ।