नयाँ भर्ना अभियानको योजना बनाउँदै शिक्षा मन्त्रालय, शिक्षकहरू भने सडकमा

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०८२ सालको नयाँ शैक्षिक सत्र वैशाखदेखि सुरु हुने भन्दै नयाँ भर्ना अभियानको तयारी थालेको छ । तर भर्ना अभियानका शिक्षकहरू भने हाल सडक आन्दोलनमा छन् । जसले अभियानमा प्रत्यक्ष प्रभाव पार्ने देखिएको छ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना अभियानका लागि योजना तयार गरी मन्त्रालयमा पठाइसकेको जनाएको छ । केन्द्रका महानिर्देशक कृष्णप्रसाद काप्रीले भने, 'भर्ना अभियानको गृहकार्य भइरहेको छ। योजना बनाइसकेका छौं, मन्त्रालयलाई बुझाएका छौं ।'

केन्द्रले भर्ना अभियानसँगै निःशुल्क पाठ्यपुस्तक वितरण, प्रारम्भिक बालविकास, छात्रवृत्तिजस्ता कार्यक्रम समेत तयार गरेको छ । विद्यार्थीको हातमा शैक्षिक सत्र सुरु हुनुअघि नै पुस्तक पुर्याउने उद्देश्यसहित अहिले नै जिल्लामा पुस्तक ढुवानीको कार्य भइरहेको छ ।

यद्यपि विद्यालयमै रहेका शिक्षकहरू आन्दोलनमा होमिएकाले पुस्तक वितरणदेखि विद्यार्थी भर्नासम्मका गतिविधिमा अवरोध आउने सम्भावना छ । शिक्षक महासंघ नेतृत्वको आन्दोलनले शिक्षाको पूर्वतयारी प्रभावित पार्न थालेको छ ।

महानिर्देशक काप्रीले भने, 'शिक्षकहरूले जिम्मेवारी बुझेका छन्। संसदको समितिमा शिक्षा विधेयक पुगेको छ। उपसमितिमार्फत छलफल भइरहेको छ। प्रधानमन्त्री र मन्त्रीले समेत चासो दिएका छन् । सहमति भई आन्दोलन रोकिएला भन्ने विश्वास छ ।'

सरकारले योजना त बनाएको छ, तर शिक्षक आन्दोलन नरोकेसम्म शैक्षिक सत्र पूर्वतयारी कार्यान्वयनमा चुनौती थपिँदै जाने देखिन्छ ।


 

Share News