काठमाडौंमा फायर सेफ्टी र इलेक्ट्रोनिक सेक्युरिटी सम्मेलन सुरु

काठमाडौं । फायर सेफ्टी एन्ड इलेक्ट्रोनिक सेक्युरिटी इन्टरनेशनल कन्फरेन्स २०२५’ काठमाडौमा सुरु भएको छ । आइतबारदेखि काठमाडौंको दरबारमार्गमा सुरु भएको सम्मेलनको आगलागी जोखिम न्यूनीकरण तथा विद्युतीय सुरक्षा प्रविधिको प्रवद्र्धन गर्ने उद्देश्यले रहेको छ  । 

सम्मेलनले नेपालमा भइरहेका आगलागीको जोखिम र अन्तर्राष्ट्रिय स्तरमा भइरहेका प्रयासका विषयमा पनि छलफल गर्ने एसिया प्यासिफिक सेक्युरिटी एसोसिएसन (आप्सा) नेपालले जनाएको छ ।

नेपालमा वर्षा र हिउँदयाम दुवै सिजनमा आगलागीका घटना धेरै हुन्छन् । आगलागीको एउटा कारण विद्युतीय सामाग्री भएको पाइएको छ । विद्युतीय सामग्रीको जडान, प्रयोगको अज्ञानताका कारण पनि यस्ता जोखिमहरू बढ्दै गएको पाइएको छ। 

नेपालमा विभिन्न व्यक्ति स्थानीय तहले निर्माण गरेका भौतिक संरचनामा जडित विद्युतीय सामग्रीले पनि आगलागीका घटना हुने र यसले ठूलो जनधनको क्षति हुने गरेको छ । 

दुई दिनसम्म सञ्चालन हुने यो सम्मेलनमा चीन, हङकङ, इन्डोनेसिया, भारत, जापान, मकाउ, मलेसिया, फिलिपिन्स, सिंगापुर, दक्षिण कोरिया, श्रीलङ्का, थाइल्यान्ड र भियतनामसहित १४ राष्ट्रका विज्ञहरूले आ–आफ्ना कार्यपत्रहरू प्रस्तुत गर्नेछन् । 

सम्मेलनमा विभिन्न छलफल सत्र, प्रविधि प्रदर्शनी र अन्तरक्रियात्मक कार्यक्रमहरू समावेश गरिएका छन्, जसले सहभागीहरूलाई अन्तर्राष्ट्रिय प्रविधिगत नवीनता, सफल अभ्यास र समाधानहरूको जानकारी दिनेछ ।

नेपालमा प्रत्येक वर्ष आगलागीका घटनाबाट व्यापक जनधनको क्षति हुने गरेको परिप्रेक्ष्यमा, यस किसिमका अन्तर्राष्ट्रिय सम्मेलनहरू आवश्यक र प्रभावकारी हुने आप्साका कार्यक्रम निर्देशक सुरेश श्रेष्ठले बताए ।

सम्मेलनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना, सबै ७५३ वटै स्थानीय तहका प्रतिनिधिहरू, निजी क्षेत्रका अग्रणी उद्योगी तथा व्यवसायीहरूको सहभागिता रहेको छ ।

Share News