कर्मचारीको गुनासो : ११ महिनादेखि तलब छैन, आन्दोलनमा जाने

काठमाडौं । वन तथा वातावरण मन्त्रालय अन्तर्गत वन पैदावार विकास समितिका झन्डै १९० कर्मचारीले ११ महिनादेखि तलब नपाएको गुनासो गरेका छन् । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजना, झापाको रतुवामाई वृक्षारोपण आयोजना र काठमाडौंको वन पैदावार केन्द्रीय कार्यालयमा कार्यरत कर्मचारी तलब र चाडपर्व खर्च नपाएर आर्थिक संकटमा परेका छन् ।

विभिन्न कर्मचारी संगठनहरूले एक साताभित्र समस्या समाधान नभए कडा आन्दोलन गर्ने चेतावनी दिएका छन् । वन विकास परियोजना मजदुर युनियन र नेपाल निजामती कर्मचारी संगठनले संयुक्त रूपमा परियोजना प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै समस्या समाधानका लागि अल्टिमेटम दिएका हुन् ।

कर्मचारीहरूको प्रमुख मागहरूमा ११ महिनाको तलबभत्ता र चाडपर्व खर्च उपलब्ध गराउने, प्रस्तावित वार्षिक कार्ययोजना तत्काल स्वीकृत गर्ने, मौज्दात काठ बिक्रीको स्वीकृति दिने लगायत रहेका छन् ।

परियोजनामा हाल ५० हजार क्युफिटभन्दा बढी टिक प्रजातिको काठ मौज्दात रहेको र ५ करोड रुपैयाँभन्दा बढी मूल्य बराबरको वन पैदावार बिक्री अभावले नष्ट हुने स्थितिमा पुगेको छ ।

कार्यालय प्रमुख खेम विश्वकर्माका अनुसार १७ भदौ २०८१ यता कार्यकारी अध्यक्षको पद रिक्त रहेको र त्यसकै कारण नीतिगत निर्णयहरू लिन नसकिएको बताइएको छ । करिब ४० करोड मूल्य बराबरको काठ बिक्रीका लागि तयार भए पनि नेतृत्वविहीनताका कारण योजना स्वीकृत हुन नसकेको हो ।

कर्मचारीहरूले यस अवस्थाले आगामी वर्षको उत्पादन लक्ष्यमा समेत असर गर्ने भन्दै तत्काल समाधानको माग गरेका छन् ।  

Share News