नेपाल मेडिकल कलेजले तोकिएको भत्ता नदिँदा पीजी चिकित्सक फेरि आन्दोलित

फाइल तस्बिर ।

काठमाडौं । नेपाल मेडिकल कलेजका आवासीय चिकित्सक आन्दोलित बनेका छन् । सरकार र चिकित्सा शिक्षा आयोगबीच भएको सम्झौता अनुसार तोकिएको निर्वाहभत्ता नपाएको भन्दै उनीहरू आन्दोलित बनेका हुन् । 

गत माघ २५ गते बसेको चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकले काठमाडौं विश्वविद्यालय र त्रिभुवन विश्वविद्यालय अन्तर्गतका मेडिकल कलेजलाई सरकारी आठौं तहको सरकारी मेडिकल अधिकृत सरह ४८ हजार भत्ता दिन लिखित निर्देशन दिएपनि काठमाडौं मेडिकल कलेजले नदिएपछि आन्दोलनमा उत्रनु परेको चिकित्सकहरूले बताएका छन् । 

उनीहरूले सरकारले तोके बमोजिम निर्वाह भत्ता पाउनुपर्नेमा पुरानै तरिकाले भत्ता दिएको भन्दै आपत्ती जनाएका छन् । आवासीय चिकित्सक विष्णु झाले कलेजले सरकारकै निर्णयलाई वेवास्ता गर्दै तलव नदिएको बताए । कलेजले भने आफूलाई कुनै तलब वृद्धिको पत्र कतैबाट प्राप्त नभएको भन्दै दिन अस्वीकार गरेको छ । 

चिकित्सकहरूले भने यो विषयमा सोमबार भोलि चिकित्सा शिक्षा आयोगको कार्यालय घेराउन गर्ने बताएका छन् । ‘कलेजले कुनैपनि पत्र नपाएको बताएको छ, आयोगले हामीले पत्राचार गरिसकेका छौं भनेको छ,’ उनी भन्छन्, ‘यहाँभित्र चलखेल भएको छ, बाहिर निर्णय एउटा आउँछ भित्र कुरा अर्कै आउँछ, हामीलाई सरकारको यस्तो रवैया स्वीकार छैन ।’

शुल्क फिर्ता माग गर्दै आन्दोलन  

निजी मेडिकल कलेजले विद्यार्थीहरूको शोषण कसरी गरिरहेका छन् भन्ने अर्को उदाहरण पनि नेपाल मेडिकल कलेजभित्रै देखिन्छ । नेपाल मेडिकल कलेजमा इन्टर्न चिकित्सकहरू आन्दोलित बनेका छन् । 

काठमाडौं विश्वविद्यालय अन्तर्गत २०७५,०७६ मा एमबीबीएस तथा बीडीएस अध्ययन गरेका इन्र्टन चिकित्सकहरूबाट कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता नदिएपछि उनीहरू आन्दोलित बनेका हुन् । 

उनीहरूका अनुसार प्रति विद्यार्थीबाट ५ लाख बढी शुल्क कजेजल लिएको छ । लयबाट र्दा कलेजले लिएको शुल्क फिर्ता पाउनुपर्ने भन्दै आन्दोलित बनेका छन् । कलेजले केयु दर्ता शीर्षकमा १५ हजार, काउन्सिल दर्ता ३ हजार, केयु परीक्षा शुल्क ४० हजार, आन्तरिक परीक्षा शुल्क १ लाख ५० हजार ,इन्टर्नसिप शुल्क २ लाख, कम्युनिटी पोस्टिङ तथा  स्किल ल्याब १ लाख ८० हजार तथा सेक्युरिटी डिपोजिट  १  लाख गरी जम्मा ६ लाख ८८ हजार अतिरिक्त शुल्क लिएको  इन्टर्न चिकित्सकको दाबी छ।

Share News