काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिक दलको नेतृत्वमा मुलुक कमजोर बन्छ भन्ने प्रचार मनोगत रहेको बताएका छन् । एमाले लुम्बिनी प्रदेश सम्पर्क कमिटीले चैते दशैँको शुभकामना तथा पार्टीको जरा अभियान अन्तर्गत ‘सङ्गठन निर्माण तथा विस्तार’ विषयक प्रशिक्षण कार्यक्रममा उनले भ्रम र हल्लाका पछाडि कुद्ने परिस्थितिलाई चिर्न आवश्यक रहेको बताए ।
महासचिव पोखरेलले पछिल्लो समय नागरिकको जीवनस्तर र क्रय क्षमतामा उल्लेख्य सुधार भएको उदाहरण पेस गर्दै भने, ‘पहिले हुने खानेले मात्र राम्रो कपडा लगाउँथे, मिठोमसिनो खान्थे । पछिल्लो समय गरिब भनिएकाले पनि राम्रो कपडा र चामलको भात खाने स्थिति बनेको छ । धनी र गरिब बीच जुन खालको असमानता थियो, त्यो घटेको छ ।’
उनले राजनीतिक चुनौतीलाई सामना गर्न सरकार र दलहरू योजनासहित अगाडि बढेको बताए । महासचिव पोखरेलले पुँजीवादी समाजवादको धार र वैज्ञानिक समाजवाद (जनताको बहुदलीय जनवाद) को धार बीचको प्रतिस्पर्धा नै नेपालको राजनीतिको अबको बाटो बन्नुपर्ने बताए ।
जनमतलाई नीतिका आधारमा धुव्रीकरण गर्न सक्ने हो मात्र मुलुकमा स्थायित्व हुने उनको भनाइ छ ।
‘अमेरिकालगायत देशले वैचारिक धुव्रीकरणबाट नै स्थायित्व प्राप्त गरेको हुन् । नेपालमा पनि वैचारिक धुव्रीकरणबाट नै स्थायित्व खोज्नुपर्ने आवश्यकता छ । लोकतान्त्रिक समाजवाद पक्षधरहरूले जनताको बहुदलीय जनवादको मान्यताका आधारमा नीतिगत नेतृत्वमा धुव्रीकरणको यात्रा आरम्भ गरेमात्र एमाले बलियो राष्ट्रिय शक्ति बन्नेछ,’ महासचिव पोखरेलले भने ।
यसैगरी उनले कहिलेकाहीँ नकारात्मक घटनाले पनि सकारात्मक परिमाण दिने भन्दै यही चैत १५ गतेको तीनकुनेमा भएको घटनाले गणतन्त्रलाई स्थापित गर्न अनुकूल आधार तयार गरेको जिकिर गरे ।
कमिटीका अध्यक्ष श्रीप्रसाद पाण्डेले जरा केन्द्रित अभियानले एमालेलाई मिसन २०८४ मा निर्णायक शक्ति बनाउने बताए ।