८ वटा योजना कार्यान्वयन, नदीको कटान रोक्न ग्याबिन पर्खाल निर्माण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमार्फत म्याग्दी जिल्लामा चालु आर्थिक वर्ष २०८१/८२ मा २१ करोड ५४ लाख रुपैयाँको लागतमा ८ वटा योजना कार्यान्वयन भएको छ । मन्त्रालय अन्तर्गतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय कास्कीले म्याग्दी र कालीगण्डकी नदीको कटानको जोखिममा रहेका वस्तीका संरक्षणका लागि आयोजना सञ्चालन गरेको हो । 

आयोजना प्रमुख विदुर श्रेष्ठले तीन सालबसाली योजना निर्माणाधीन र पाँच बहु वर्षीय योजना ठेक्का प्रक्रियामा रहेका जानकारी दिए । बेनी, सिङ्जा, तातोपानी, दरवाङस्थित म्याग्दी, कुश्मा नगरपालिका र जलजला गाउँ पालिकास्थित कालीगण्डकी नदीको कटानको जोखिममा रहेका वस्तीमा बाढी नियन्त्रणका लागि योजना सञ्चालन गरिएको हो ।

बेनी नगरपालिका-४ तातोपानी स्थित सरस्वती मावि पछाडि म्याग्दी नदी किनारमा १ करोड ५५ लाख रुपैयाँको लागतमा ६६ मिटर लामो, ४ मिटर चौडाइ र ३/३ मिटर अग्लो पलम र ग्याबिन पर्खाल निर्माण काम भइरहेको आयोजनाका इञ्जिनीयर नरजङ गुरुङले बताए । 

निर्माण कम्पनीले यो योजना आगामी जेठ महिनाको २० गतेभित्र सम्पन्न गर्ने लक्ष्य छ । उपभोक्ता समितिमार्फत मालिका गाउँपालिका-६ दरवाङको म्याग्दी नदी किनारमा ७० लाख रुपैयाँको लागतमा कम्पोजित पर्खाल निर्माण भइरहेको छ ।

७० लाख रुपैयाँ बजेट विनियोजन भएको बेनी-४ सिङ्गा र सुर्के मेलामा म्याग्दी नदीको कटान रोकथामका लागि ग्याबिन पर्खाल निर्माण गर्ने योजना निर्माणाधीन छ ।

जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत, दरवाङ बसपार्कलगायत भौतिक संरचनालाई म्याग्दी नदीको कटानबाट जोगाउन ६५ मिटर लामो कम्पोजित पर्खाल निर्माणका लागि ८ करोड १८ लाख रुपैयाँ लागत अनुमान गरिएको योजना ठेक्का प्रक्रियामा छ । 

तातोपानी बजार संरक्षणको दोस्रो प्याकेज अन्तर्गत म्याग्दी नदी किनारमा १०२ मिटर कम्पोजिट पर्खाल निर्माणका लागि ३ करोड ८१ लाख रुपैयाँ लागत अनुमान गरिएको ठेक्का मूल्याङ्कनको अन्तिम चरणमा छ ।

कुश्मा नगरपालिका-४ अर्मादी र जलजला गाउँपालिका कार्यालय रहेको लामाखेतस्थित कालीगण्डकी नदी किनारमा ५ करोड रुपैयाँ लागत अनुमान गरिएको नदी संरक्षण योजना सञ्चालन गरेको छ । यो योजना पनि मूल्याङ्कनको अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।

उक्त योजनामार्फत दुवै स्थानमा ४८÷४८ मिटर लम्बाइ भएको कम्पोजिट पर्खाल निर्माण गरिने छ । बेनीको काली पुल पारी जलजला गाउँपालिका–३ स्थित कालीगण्डकी नदी किनारमा ८० मिटर कम्पोजिट पर्खाल निर्माण गर्नका लागि २ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको योजना सञ्चालनको तयारी गरिएको आयोजनाले जनाएको छ ।  आयोजनाले पछिल्लो पाँच वर्षयता बेनी र आसपासको क्षेत्रमा नदी नियन्त्रणको काम गर्दै आएको छ । 

Share News