काठमाडौं । नेपाल राष्ट्र बैंकले साेमबार १८ औं गभर्नर पाउने सम्भावना बलियो रहेको छ । रिक्त रहेको राष्ट्र बैंकको गभर्नर पदमा आज सरकारले नियुक्त गर्न सक्ने बलियो सम्भावना रहेको अर्थमन्त्रालय स्रोतको दाबी छ ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो ३ बजे सिंहदरबारमा मन्त्रिपरिषद बैठक बस्दैछ । यो नियमित प्रक्रिया भएपनि आजको मन्त्रिपरिषद बैठकले राष्ट्र बैंकमा गभर्नर नियुक्त गर्ने सम्भावना रहेको छ ।
यसअघिका गभर्नर महाप्रसाद अधिकारी ५ वर्षे कार्यकाल पूरा गरेर चैत २४ गतेदेखि बिदा भइसकेका छन् । अधिकारी बाहिरिएपछि राष्ट्र बैंकमा गभर्नर पद रिक्त बनेको हो ।
अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यीय गभर्नर नियुक्ति तथा सिफारिस समिति गठन गरिएको छ । समितिमा पूर्वगभर्नर विजय भट्टराई र अर्थविद् विश्व पौडेल सदस्य छन् ।
समितिले एक जना डेपुटी गभर्नरसहित ३ जनाको नाम मन्त्रिपरिषदमा पठाउनेछ । सिफारिस गरिएका ३ जनामध्ये एक जनालाई मन्त्रिपरिषद्ले गभर्नर नियुक्त गर्नेछ । गभर्नर बन्न राष्ट्र बैंकका दुई जना डेपुटी गभर्नर नीलम ढुङ्गाना र बमबहादुर मिश्र प्रतिस्पर्धामा छन् । मिश्रभन्दा ढुङ्गाना बलियो दावेदारका रूपमा हेरिएका छन् । उनी पहिलो महिला गभर्नर बन्ने सम्भावना प्रबल रहेको स्रोतको दाबी छ ।
यस्तै, गभर्नरको आकांक्षीमा पूर्वअर्थसचिव रामेश्वर खनाल, लालशंकर घिमिरे, राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवराज श्रेष्ठ र चिन्तामणि शिवाकोटी, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष मीनबहादुर श्रेष्ठ, राजनसिंह भण्डारी, उद्योग वाणिज्य महासंघका महानिर्देशक गोकर्ण अवस्थी, राष्ट्र बैंकका सञ्चालक शंकरप्रसाद आचार्य छन् । गभर्नर बन्नका लागि सुरुवातमा शक्तिकेन्द्र धाए पनि पछिल्लो समय भने सम्भावना नदेखेपछि ब्याक भएका छन् ।
यस्तै, गभर्नर बन्नकै लागि नबिल बैंकको सीईओबाट राजीनामा दिएका ज्ञानेन्द्र ढुङ्गाना र राष्ट्र बैंकका कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. प्रकाशकुमार श्रेष्ठ अब्बल उम्मेदवार हुन् । यस्तै, राष्ट्र बैंकका सञ्चालक समेत रहेका रविन्द्र पाण्डे र कार्यकारी निर्देश डा. गुणाकर भट्टको नाम पनि गभर्नर पदका लागि सिफारिस समितिले मन्त्रिपरिषदमा पठाउने सम्भावना रहेको स्रोतले बतायो ।