सेवा व्यापार र विद्युतीय व्यापार सम्बन्धी राष्ट्रिय कार्यशाला सम्पन्न

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विश्व व्यापार सङ्गठनको सहकार्यमा सेवा व्यापार तथा विद्युतीय व्यापार (इ–कमर्स) सम्बन्धी तीन दिने कार्यशाला सम्पन्न गरेको छ । नेपालको अर्थतन्त्रमा ६० प्रतिशत भन्दा बढी योगदान रहेको सेवा क्षेत्रको विकास, विस्तार र सेवा व्यापारको प्रवर्द्धन समग्र आर्थिक एवम् सामाजिक विकासको लागि महत्त्वपूर्ण रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयद्वारा जारी विज्ञप्ति अनुसार विश्वव्यापी रूपमा सेवा व्यापारको हिस्सा बढिरहेको सन्दर्भमा नेपालको वैदेशिक व्यापारमा समेत सेवा व्यापारको अंश प्रत्येक वर्ष बढ्दै गइरहेको छ । प्रविधिको विकाससँगै विद्युतीय व्यापार (इ-कमर्स) नेपालमा दिनानुदिन लोकप्रिय हुँदै गइरहेको छ । 

विद्युतीय व्यापारलाई नियमन तथा प्रवर्धन गर्न विद्युतीय व्यापार (इ-कमर्स) ऐन, २०८१ जारी भइसकेको छ । नेपाल व्यापार एकीकृत रणनीति, २०८० ले पर्यटन, सूचना प्रविधि र इन्टरनेटमा आधारित सेवा, जलविद्युत, निर्माण सेवा, दक्ष तथा अर्धदक्ष श्रम सेवालाई निर्यात सम्भावना भएका सेवाको रूपमा प्राथमिकता दिएको छ ।

विश्व व्यापार सङ्गठनको सचिवालयबाट आएका स्रोत व्यक्तिले सेवा व्यापार र विद्युतीय व्यापारको सैद्धान्तिक अवधारणा, पछिल्लो विकास क्रम, विश्व व्यापार सङ्गठनमा भइरहेको वार्ता तथा प्रगति समेतका विषय समेटी अभिमुखीकरण प्रदान गरेका छन् । 
 

Share News