सहकारी ठगी प्रकरण : रवि लामिछाने भैरहवा कारागार चलान

काठमाडौं । पूर्व गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही जिल्ला कारागार चलान गरिएको छ । लामिछानेलाई शुक्रबार राति काठमाडौंस्थित आफ्नै निवासबाट पक्राउ गरिएको थियो ।

प्रहरीका अनुसार उनलाई चैत २३ गते यति एयरलाइन्सको विमानमार्फत बिहान ९:१२ बजे गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल झारिएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा राखिएको थियो ।

सरकारी विदाका कारण दुई दिन हिरासतमा राखिएको लामिछानेलाई साेमबार जिल्ला अदालत रुपन्देहीमा उपस्थित गराई थुनुवा पुर्जी दिई कारागार पठाइएको सूचना अधिकारी डीएसपी सुरज कार्कीले जानकारी दिए । अब अदालतको अन्तिम फैसला नभएसम्म उनले कारागारमै समय बिताउने छन् ।

यसअघि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले सहकारीको रकम ठगीको आरोपमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । न्यायाधीशद्वय रमेश ढकाल र स्वीकृति पराजुलीको इजलासले उक्त आदेश दिएको हो ।

रुपन्देही जिल्ला अदालतले लामिछानेलाई १ करोड रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको थियो । तर, सो आदेशविरुद्ध लामिछानेले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए । त्यसपछि उच्च अदालतले जिल्ला अदालतको आदेश बदर गर्दै थुनामा राख्नुपर्ने ठहर गरेको हो ।

उच्च अदालतको आदेशमा भनिएको छ, 'धरौटी वा थुनाको विकल्प आरोपको प्रकृति, घटनाको समय, पीडितको अवस्था लगायतका सान्दर्भिक पक्षको सापेक्षतामा तय गर्नुपर्ने हो । यस सन्दर्भमा जिल्ला अदालतको निर्णय अपूरो र पर्याप्त आधारविहीन देखिएको छ ।'

यसै आधारमा लामिछानेलाई थुनामा पठाउने निर्णय कार्यान्वयनमा आएको हो ।

Share News