काठमाडौं । इन्टरनेशनल नेप्लिज कम्युनिटी (आईएनसी) क्यान्सर सचेतना र सम्मान समारोहको आयोजना गर्दै वरिष्ठ गायिका देविका बन्दनालाई सम्मान प्रदान गरेको छ । यो कार्यक्रम अर्याल इन्टरनेशनल होटल, बानेश्वरमा सम्पन्न भएको हो ।
कार्यक्रममा गायिका देविका बन्दनाले क्यान्सरमाथि विजय प्राप्त गरेको अनुभव साझा गर्दै उपस्थितलाई प्रेरणा दिइन् । कार्यक्रममा पाटन अस्पतालका क्यान्सर विशेषज्ञ डा. अरुण शाहीले क्यान्सर रोगसँग सम्बन्धित सचेतनामूलक प्रस्तुति प्रस्तुत गरेका थिए ।
यस समारोहमा गायिका कुन्ती मोक्तान, गायक यश कुमार, नेपाल क्यान्सर अस्पतालका डा। उत्सवमान श्रेष्ठ, र आयुर्वेद चिकित्सक डा. प्रकाश ज्ञवालीले पनि मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संयोजन संगीतकार टिका दाहालले गरेकी थिइन् ।
यस समारोहमा बौद्ध धर्मगुरु टुल्कु कर्मा साङ्गपो रोका (सम्सारा गुरू) पनि सम्मानित भएका थिए । आईएनसीले गायिका बन्दनाको हौसला अभिवृद्धिका लागि उनको पुस्तक 'जित्नेको हाँसो' का ५० प्रति खरिद गरेको जनाएको छ ।
आईएनसी सामाजिक, शैक्षिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा योगदान पुर्याउने उद्देश्यले स्थापना भएको एक संगठन हो । जसले हालसम्म स्वास्थ्य, साहित्य, महिला सशक्तीकरण र क्यान्सर सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ ।
यस कार्यक्रममा संगीतकर्मीहरूको उल्लेखनीय उपस्थिति देखियो र यसले समाजमा सकारात्मक प्रभाव र प्रेरणा पुर्याउने अवसर सिर्जना गरेको छ ।