रवि लामिछाने भैरहवा कारागारको ४ नम्बर ब्लकमा एक्लै थुनिए

काठमाडौं । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई सोमबार जिल्ला कारागार, भैरहवा रुपन्देहीको ४ नम्बर ब्लकमा एक्लै राखिएको छ ।

कारागार प्रशासक सुरेश भण्डारीका अनुसार लामिछानेलाई कारागारको ४ नम्बर ब्लकमा राखिएको हो । जहाँ १० जनासम्म थुनुवा बस्न सक्ने क्षमता भए पनि हाल अन्य कोही छैनन् । 'रविले कुनै माग गरेका थिएनन् र आफूलाई एक्लै राख्न पनि भनेका थिएनन् । हामीले स्वविवेकले उहाँलाई एक्लै राखेका हौं,' उनले भने ।

भैरहवा कारागारमा हाल ४ वटा ब्लक रहेका छन् । १ र २ नम्बर ब्लकमा पुरुष कैदी थुनुवा, ३ नम्बरमा महिला कैदीहरू छन् भने ४ नम्बर ब्लक अहिले रविका लागि छुट्याइएको छ ।

लामिछानेलाई गत शुक्रबार काठमाडौंस्थित निवासबाट पक्राउ गरी जिल्ला प्रहरी परिसरको हिरासतमा राखिएको थियो । चैत २३ गते बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै उनलाई रुपन्देही लगिएको थियो ।

सरकारी बिदाका कारण दुई दिन हिरासतमा बिताएका लामिछानेलाई सोमबार जिल्ला अदालत, रुपन्देहीमा उपस्थित गराई थुनुवा पुर्जी दिई कारागार चलान गरिएको हो ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई सुप्रिम सहकारीको रकम ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जिल्ला अदालतले मागेको एक करोड धरौटीको आदेशलाई उच्च अदालतले बदर गर्दै थुनामा पठाउने निर्णय गरेको हो ।

Share News