ट्रम्पको ट्यारिफले विभिन्न देशका सेयरमा गिरावट

काठमाडौं ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्यारिफ (शुल्क) बढाएपछि र चीनले जवाफी कारबाही गरेपछि वाल स्ट्रीटमा शुक्रबार ठूलो गिरावट देखियो । यसको असर  एसियाली बजारहरूमा पनि देखियो । एसियाली सेयर बजारहरू नराम्रोसँग ओरालो लागे । 

सेन्सेक्समा कारोबारको क्रममा करिब ४ हजार अंकको गिरावट आयो । त्यस्तै, हङकङको सेयर बजारले पनि सन् २००८ पछि एकै दिनमा सबैभन्दा ठूलो गिरावटको सामना ग¥यो । 

टोकियोको निक्की २२५ सूचकांक बजार खुलेपछि तुरुन्तै झण्डै ८ प्रतिशतले घट्यो । दिउँसोसम्म यो ६ प्रतिशतले घटेर ३१ हजार ७५८.२८ मा आयो ।

हङकङको हाङसेङ सूचकांक ९.४ प्रतिशतले घटेर २० हजार ७०३.३० मा झरेको छ । यो सन् २००८ पछि एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट हो । शाङ्घाइ कम्पोजिट सूचकांक ६.२ प्रतिशतले घटेर ३ हजार १३४.९८ मा आइपुगेको छ । दक्षिण कोरियाको कोस्पी ४.१ प्रतिशतले घटेर २ हजार ३६३.८२ मा पुग्यो । 

अष्ट्रेलियाको एसएन्डपी/एएसएक्स २०० सूचकांक ३.८ प्रतिशतले घटेर ७ हजार ३७७.७० मा आएको छ । यद्यपि पहिले यो ६ प्रतिशतभन्दा बढीले घटेको थियो, तर पछि केही सुधार भएको देखियो ।

अमेरिकी बजारहरूमा गिरावट

कच्चा तेलको मूल्यमा पनि गिरावट आएको छ । अमेरिकी बेन्चमार्क कच्चा तेल ४ प्रतिशत अर्थात् २.५० डलर घटेर प्रति ब्यारेल ५९.४९ डलरमा आइपुग्यो । अन्तर्राष्ट्रिय मानक मानिने ब्रेन्ट क्रूड २.२५ डलर घटेर प्रति ब्यारेल ६३.३३ डलरमा आइपुग्यो । 

मुद्राबजारमा अमेरिकी डलर १४६.९४ जापानी येनबाट घटेर १४६.७० जापानी येनमा झ¥यो । संकटको समयमा जापानी येनलाई प्रायः सुरक्षित मुद्राको रूपमा लिइन्छ । युरो पनि १.०९६२ डलरबाट घटेर १.०९२६ डलरमा आइपुग्यो ।

शुक्रबार वाल स्ट्रीटमा कोभिडपछि सबैभन्दा ठूलो गिरावट देखियो । एसएन्डपी ५०० ६ प्रतिशतले घट्यो भने डो ५.५ प्रतिशतले ओरालो लाग्यो । 

नासडक कम्पोजिट ५.८ प्रतिशतले घट्यो । बजार विशेषज्ञहरूका अनुसार आगामी दिनहरूमा लगानीकर्ताले अझ बढी उतारचढावको सामना गर्नुपर्नेछ । 

अमेरिकाको ट्यारिफको जवाफमा अन्य देशहरूले पनि जवाफी शुल्क लगाउन सक्छन् । यसले गर्दा आगामी दिनहरूमा मुद्रास्फीति बढ्ने र विश्व अर्थतन्त्र मन्दीमा फस्ने सम्भावना देखिएको छ ।

Share News