काठमाडौं । सगरमाथा बेसक्याम्पमा बढ्दो विलासी प्रवृत्तिका कारण वातावरणीय जोखिम बढेको भन्दै सरोकारवालाहरूले त्यस्ता सामग्रीको प्रयोगमा तत्काल रोक लगाउन सरकारको ध्यानाकर्षण गराएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा हिमाली पर्यटन व्यवसायी, पथप्रदर्शक (गाइड), जलवायु विज्ञ, नीति निर्माता र सरोकारवालाहरूले सगरमाथालगायत हिमाली क्षेत्रको संरक्षणमा तत्काल ठोस कदम चाल्नुपर्नेमा जोड दिए । उनीहरूले आधारशिविरमा विलासी उपकरण जस्तै कफी मेसिन, आरामदायी सोफा र अन्य उपकरणहरूको प्रयोगले हिउँ पग्लनु, वातावरण प्रदूषण बढ्नु, र हिमालको सहनशक्ति घट्नुजस्ता गम्भीर असर पारेको बताएका छन् ।
हिमाली पर्यटन व्यवसायी दावा टासी शेर्पाले पर्वतारोहणका लागि जाने आरोहीहरूले अत्यधिक विलासी सामग्री बोकेर जाने प्रचलन बढेको र यसले हिमालको स्वरूप र जलवायु सन्तुलनमा गम्भीर असर पारिरहेको दाबी गरे । 'हिउँको पग्लाइ मात्र देखाएर हिमालले थेग्न सकेन भन्ने प्रचार गलत हो,' उनले भने, 'हामी आफैंले लग्जरीपन घटाएर जलवायु संकट विरुद्ध लड्नुपर्छ।'
जलवायु विज्ञ पपुलर जेन्टलले माउण्टेन रिजन विश्वको सेवा गर्ने क्षेत्र भएको भन्दै यसको संरक्षणका लागि राष्ट्रको स्पष्ट रणनीति र अन्तर्राष्ट्रिय समर्थन आवश्यक रहेको बताए । उनले हिमाली मुद्दालाई युएनएफसिसिसिको प्राथमिक एजेण्डा बनाउन जोड दिए ।
इसिमोडका प्रमुख पेमा ग्यामात्सोले हिमाल सांस्कृतिक, धार्मिक र जैविक महत्व बोकेको क्षेत्र भएकाले यसको संरक्षणमा सबैले भूमिका खेल्नुपर्ने बताए । उनले हिउँ पग्लिनुमा जलवायु परिवर्तनसँगै मानवजन्य क्रियाकलापको प्रभावसमेत पुनःमूल्यांकन गर्नुपर्ने धारणा राखे ।
पूर्वसचिव मधुकुमार मरासिनीले जलवायु संकट विरुद्ध सरकार र जनताको साझा प्रयास आवश्यक रहेको उल्लेख गर्दै हिमाली संरक्षणमा निजी क्षेत्रको समेत सहभागिता हुनुपर्ने बताए। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष चण्डिराज ढकालले स्पष्ट कार्ययोजना बिना दीर्घकालीन समाधान सम्भव नभएको उल्लेख गरे ।
कार्यक्रममा सरोकारवालाहरूले वातावरणमैत्री पर्वतारोहणको अवधारणा अघि सार्दै सगरमाथाको वातावरणीय संरक्षणका लागि नीति र व्यवहार दुबैमा परिवर्तन आवश्यक रहेको निष्कर्ष निकाले ।